विद्युतीय सवारीसाधनमा उच्च भन्सारदरको विरोध

Read Time = 3 mins

काठमाडौैं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विद्युतीय सवारीसाधनमा उच्च भन्सारदरको विरोध गरेको छ । नाडाले मंगलबार काठमाडौैंमा पत्रकार सम्मेलन गरी अर्थमन्त्रीबाट प्रस्तुत बजेटले नेपालमा उत्पादित विद्युत्लाई पेट्रोलियम पदार्थको विकल्पका रूपमा प्रयोग गरी छिमेकी मुलुकसँगको व्यापारघाटा कम गर्ने, नेपालको आफ्नै उत्पादन जलविद्युत्लाई विद्युतीय सवारीसाधनलगायतका विभिन्न वस्तुमा प्रयोग गरी विदेशी मुद्रा बचत गर्ने माध्यमका रूपमा लिएको देखिए पनि अर्कोतर्फ सोही बजेटमा सय किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारीसाधनमा भन्सार तथा अन्तःशुल्क महसुलमा अत्यधिक वृद्धि गरिएको भन्दै असन्तुष्टि प्रकट गरेको हो ।

उक्त व्यवस्थाले विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहनको सट्टा दुरुत्साहित हुने पनि नाडाले जनाएको छ । नेपालको भौगोलिक अवस्थाअनुसार सय किलोवाटका विद्युतीय सवारीसाधनसमेत पुरानै व्यवस्थाअनुसार भन्सार तथा अन्तःशुल्क महसुल कायम गर्न नाडाले माग गरेको छ ।

केही समयअघि मात्रै सरकारले देशको वर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन निजी प्रयोजनका सवारीसाधन आयातमा असारसम्मका लागि रोक लगाएको छ । तर, निजी प्रयोजनका सवारीसाधन आयातले विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा खासै असर पार्ने नदेखिएकोे भन्दै आयात खुलाउन पनि उसले माग गरेको छ ।

त्यसैगरी बजेटमा सरकारले दुई सय सिसीसम्मका मोटरसाइकललाई सर्वसाधारण जनताले प्रयोग गर्ने सवारीसाधनका रूपमा लिएको देखिए पनि दुई सय सिसीभन्दा माथिका मोटरसाइकलमा भने अन्तःशुल्क तथा भन्सार महसुलमा अत्यधिक वृद्धि गरेबाट त्यस्ता मोटरसाइकलको बिक्री गर्दैै आएका अटोमोबाइल व्यवसायीले अब व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था उत्पन्न भएको भन्दै पुनर्विचारका लागि नाडाले सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?