‘खलंगामा हमला’ पुस्तक माथि फिल्म बन्ने

Read Time = 4 mins

काठमाडौं । झण्डै दुई दशकअघि जुम्लाको खलंगामा घटेको घटनामाथि लिखित मदन पुरस्कारबाट पुरस्कृत पुस्तक ‘खलंगामा हमला’ माथि चलचित्र (फिल्म) बन्ने भएको छ । राधा पौडेलद्वारा लिखित पुस्तक ‘खलंगामा हमला’लाई विनोद विष्टले निर्देशन गर्नुहुनेछ ।

मंगलबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै चलचित्र निर्माणको औपचारिक घोषणा गरियो । कार्यक्रममा लेखिका पौडेलले निर्देशक विष्टलाई विश्वास गरेर चलचित्र निर्माणका लागि अनुमति दिएको जानकारी गराउनुभयो । निर्देशक विष्टले यसअघि झमक घिमिरेको पुस्तक ‘जीवन काँडाकी फूल’ माथि चलचित्र निर्माण गर्नुभएको थियो ।

‘मलाई यसअघि धेरैबाट तपाईंको पुस्तकमाथि हामीले चलचित्र बनाउँछौं भन्ने अफर आएको थियो तर विनोद दाइले यसअघि बनाएको जीवन काँडा कि फूल हेरेपछि मेरो दिमागमा विनोद दाइ बस्नुभएको थियो ।’ लेखिका पौडेलले भन्नुभयो, ‘विनोद दाइले नै चलचित्र बनाउछु भन्ने अफर ल्याउनुभयो । म खुशी भएँ ।’

निर्देशक विष्टले जीवन काँडा कि फूल बनाइसकेपछि धेरै पुस्तक पढेको र ‘खलंगामा हमला’ पुस्तकले आफ्नो मन छोएको बताउनुभयो । उहाँले लेखिका पौडेललाई सम्पर्क गर्नकै लागि दुई वर्ष लागेको सुनाउनुभयो । ‘मैले पुस्तक पढिसकेपछि राधा जीलाई सम्पर्क गर्ने धेरै कोसिस गरेँ । कसैले उहाँ अमेरिका हुनुहुन्छ भनिदिए तर पनि मैले गुगल गरेरै भए पनि उहाँसँग सम्पर्क गरेँ’, निर्देशक विष्टले भन्नुभयो, ‘सम्पर्क नम्बर पत्ता लाग्ने बित्तिकै पुस्तकमाथि चलचित्र निर्माण गर्छु भन्ने कुरा गरेँ । तर अन्यले जस्तो सिधैं अनुमति दिनुस् चलचित्र बनाउँछु भन्ने तरिकाले अफर गरिन । तपाइँको पुस्तकमा यी कुराहरू मैले विशेष पाएँ भनेर उहाँलाई प्रस्ताव राखेँ ।’

निर्देशक विष्टले खलंगामा खासमा के भएको थियो भन्ने विषयमा आममानिसमा जिज्ञासा रहेको र त्यो कुरालाई आफूले चलचित्रमा विशेष तरिकाले देखाउने प्रष्ट पार्नुभयो । यस्तै लेखिका पौडेलले आफूलाई चलचित्रको प्राविधिक विषयमा खासै ज्ञान नभएकाले सबै जिम्मा निर्देशक विष्टलाई नै दिएको तर चलचित्र छायांकनको क्रममा आफू पनि सँगै रहने जानकारी दिनुभयो । लेखिका पौडेलले कतै तपाइँको पुस्तक अनुसार चलचित्रका दृश्यले न्याय दिँदैन कि भन्ने प्रश्नमा भन्नुहुन्छ, ‘विनोद दाइप्रति विश्वास छ तर म पनि छायांकनको क्रममा सँगसँगै हुन्छु ।’

निर्देशक विष्टले चलचित्रमा अभिनय गर्ने कलाकार तय हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यो चलचित्र निर्माणका लागि तीन करोड बजेट छुट्याइएको छ । उहाँले चलचित्रले मुनाफा कमाउनेभन्दा पनि आमदर्शक तथा श्रोतामाझ चलचित्र पुगोस् भन्ने मात्र सोचेको बताउनुहुन्छ । पौडेलले सन् २०१३ मा पुस्तक सार्वजनिक गर्नुभएको थियो । चलचित्र जुम्ला र चितवनमा छायांकन गरिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?