सुगम बन्यो ‘मौरिस हर्जोग ट्रेल’, बढे पर्यटक

हिमालय टाइम्स
Read Time = 7 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । प्रशस्तै पर्यटकीय सम्भावनाहरू रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्जोग टे«ल’ मा पूर्वाधार निर्माण भएपछि सो पदमार्ग अब सुगम बनेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग ट्रेल’मा धमाधम पूर्वाधार निर्माण हुन थालेपछि पर्यटकहरूलाई सुविधा पुग्नुको साथै यात्रा पनि सहज भएको हो ।

अन्नपूर्ण गाउँपालिका-४ नारच्याङबाट दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्ग, आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायतका पूर्वाधार निर्माण गरिएको हो । पर्यटन मन्त्रालयबाट विनियोजन भएको करिब दुई करोड ८० लाख बजेटबाट गत वर्षदेखि निर्माण सुरु भएको पूर्वाधार निर्माण योजना अन्तिम चरणमा पुगेको छ ।

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा अन्नपूर्ण गाउँपालिकाले पदमार्ग सञ्चालन गरेको थियोे । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका मौरिस हर्जोगका नाममा तयार भएको यो पदमार्ग आधार शिविर पुग्ने छोटो र सुरक्षित पदमार्ग भएकाले यसको व्यापक प्रचारप्रसार र पूर्वाधार निर्माणमा पहल गरिएको अन्नपूर्ण गाउँपालिकाका निर्वतमान अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताउनुभयो ।

अन्नपूर्ण आधार शिविर म्याग्दीमा पर्ने सन्देश प्रवाह गराउन पदमार्गको प्रवेशविन्दु नारच्याङमा दुई वर्षअघि प्रथम अन्नपूर्ण पर्यटन महोत्सवसमेत गरिएको बताउँदै निवर्तमान अध्यक्ष पुनले यो पदमार्गलाई गाउँपालिकाको पर्यटन विकासको नयाँ आयामको रूपमा विकास गर्न लागिपरेको जानकारी दिनुभयो ।

हर्जोगले १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै आठ हजारभन्दा अग्ला हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ रेकर्ड बनाउनुभएको थियो । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ । आधार शिविरको भ्रमण, हिमाल आरोहणसंगै झरना, ताल, वन्यजन्तु, वनस्पतिको सौन्दर्यमा रमाउन पाउनु यस पदमार्गका आकर्षण हुन् । अघिल्लो वर्ष यसै पदमार्ग हुँदै आधार शिविर पुगेर ७० जनाले हिमालको आरोहण गरेका थिए । अहिले गत असारयता मात्रै करिब सात सय बढी आन्तरिक पर्यटकहरू आधार शिविर पुगेको अनुमान गरिएको छ ।

नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सडक सञ्जाल पुगेपछि हुमखोलादेखि आधार शिविरसम्म पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएको छ । हालसम्म ढुंगा चिनेर ६ हजार पाँच सय वटा सिँढी बनाइएको छ भने करिब १४ किलोमिटर पदमार्ग निर्माण भएको पाइएको पदमार्ग निर्माण समितिका स्थानीय संयोजक तेज गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्षसमेत रहनुभएका गुरुङका अनुसार, २०६८ सालमा पहिचान भएको पदमार्गमा आधारभूत पूर्वाधार निर्माण कार्यले पूर्णता पाउन लागेको छ ।

त्यसैगरी, नीलगिरिखोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको ३८ मेगावाट क्षमताको निलगिरिखोला जलविद्युत् आयोजनाले अक्करे पहाडमा विस्फोटक पदार्थको प्रयोग गरेर बनाएको दोभानबाट हुमखोला जोड्ने १३ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । यो सडकले दुई दिनको यात्रा दुई घण्टामा छोटिएपछि आधार शिविर पुग्न लाग्ने अवधि छोटिएको गुरुङले जानकारी दिनुभयो ।

पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ ठाउँका खोलामा झोलुंगे पुल निर्माण गरिएको छ भने ६ स्थानमा आश्रयस्थल निर्माण भइरहेको छ । नीलगिरि हिमालको फेदी हुमखोलाबाट करिब १४ किलोमिटर लामो पदमार्गमा ढुंगाको सिँढी चिनिएको छ भने अक्करे पहाड र भिरमा रेलिङसमेत राखिएको छ ।

पर्यटन विभागबाट खानी एण्ड एनवी जेभि निर्माण कम्पनीले ठेक्कामार्फत पदमार्गमा पूर्वाधार बनाउने जिम्मा लिएको थियो । अहिलेसम्म करिब ७० प्रतिशत पूर्वाधार निर्माणको काम सकिएको र दुई महिनाभित्र सबै काम सम्पन्न गर्ने योजना रहेको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर होमराज गौतमले बताउनुभयो ।

उहाँका अनुसार पदमार्गअन्तर्गत पाँच ठाउँमा काठको साँघु, १० ठाउँमा चौतारा लगायतका पूर्वाधारसमेत निर्माण भइरहेको छ । यस पदमार्गमा यसअघि पर्यटन विभागसँगै प्रदेश सरकार, गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का समेत लगानीमा पदमार्ग, झोलुंगे पुल, फड्के पुल, सिँढी लगायतका पूर्वाधार निर्माण गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?