काठमाडौं । यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्टीकरण दिएको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै २२ कात्तिक २०७८ को राजपत्रमा प्रकाशित सूचनामा तोकिएका सवारी साधनमा मात्रै इम्बोस्ड प्लेट अनिवार्य गर्न लागिएको उल्लेख गरेको छ ।
शुक्रबार सूचना प्रकाशित गर्दै विभागले असार मसान्तभित्र इम्बोस्ड प्लेट जडान गरिसक्नुपर्ने नभए कारबाही गर्ने चेतावनी दिएपछि चौतर्फी आलोचना भएको थियो । मंगलबार अर्को विज्ञप्ति जारी गर्दै विभागले भनेको छ, ‘साउन १ गते बिहान देशभर गुड्ने सबै सवारीमा इम्बोस्ड प्लेट जडान भएको हुनुपर्नेछ भन्ने मनशाय अलिकति पनि होइन ।’
२२ कात्तिकमा प्रकाशित राजपत्रमा १ मंसिर २०७८ देखि नयाँ दर्ता हुने सवारीसाधन, १ फागुनदेखि नामसारी हुने सवारीसाधन र १ जेठ २०७९ देखि सवारीधनी प्रमाणपत्र नवीकरण हुने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने उल्लेख थियो । विभागले राजपत्रको सूचनामा तोकिएको सवारी साधनमा मात्र अनिवार्य गरेको र अन्य सवारी साधनमा सम्बन्धित सवारी कार्यालयहरूले लट नम्बरअनुसार तोकेर सूचना निकालेर इम्बोस्ड प्लेट जोड्दै जाने बताएको छ ।
विभागले अहिलेकै गतिमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा ४० दिनमा २५ लाख सवारी साधनमा जडान गर्न नसकिने स्वीकारेको छ । तर, विभागले राजपत्रको सूचनाअनुसार अनिवार्य गरेका सवारी साधनमा जोडिएको वा नजोडिएको भन्नेबारेमा भने अनुगमन गर्ने बताएको छ । ‘राज्यको दायित्व थपिँदै जाने, तर त्यसले लक्षित उद्देश्य प्राप्त नहुने अवस्थामा जिम्मेवार निकाय र पदाधिकारी गम्भीर रहुनपर्छ भन्नेमा विभाग सचेत छ,’ सूचनामा भनिएको छ ।
विभागले अहिले करिब दुई लाख ५० हजार इम्बोस्ड नम्बर प्लेट छापिएर भण्डारमा रहेको जानकारी दिएको छ । यस्तो अवस्थामा सवारी धनीले इम्बोस्ड प्लेट स्वेच्छिक मात्रै ठानेको र सवारी कार्यालयहरूले पनि उदासीन भएर सेवा दिइरहेको विभागको भनाइ छ । यसले गर्दा ठेकेदार कम्पनीलाई गर्नुपर्ने भुक्तानीको दायित्व सिर्जना हुने अवस्था आएको विभागले स्पष्ट गरेको छ । विभागले इम्बोस्ड प्लेट जडानका लागि आवश्यक सबै पूर्वाधार तयार रहेको दाबी पनि गरेको छ । विभागले आवेदन प्रणाली, पर्सानलाइजेसन प्रणाली, फिटिङ गर्ने जनशक्ति, प्लेट ढुवानी व्यवस्था पनि तयार रहेको बताएको छ ।
विभागले इम्बोस्ड प्लेट रिड गर्ने आरएफआइडी गेट इम्बोस्ड प्लेटका लागि अनिवार्य नरहेको र उपयोगिता वृद्धि गर्ने संरचना मात्रै भएको बताएको छ । विभागमा परीक्षणका रूपमा गेट राखिएको भन्दै उसले १० वटा गेट जडानका लागि उपकरण आयात भइसकेको जानकारी दिएको छ । प्लेटको गुणस्तरबारे उठेका प्रश्नमा भने विभाग मौन बसेको छ ।
मंगलबार विभागले गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक नमराज घिमिरेले विभागले आफ्नो नियमित कार्यतालिकाअनुसार सूचना प्रकाशित गरेको बताउनुभयो । उहाँले २०७८ मंसिर १ गतेबाट नयाँ दर्ता हुने, फागुन १ गतेबाट नामसारी भएर आउने नयाँ र २०७९ जेठ १ गतेबाट नवीकरण गर्न जाँदा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएअनुसार जडान भए नभएको अनुगमन गर्ने सूचना आएको दाबी गर्नुभयो । महानिर्देशक घिमिरेले बाहिर हल्ला भएजस्तो विभागले किटान गरेर साउन १ गतेभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न नभनेको उल्लेख गर्नुभयो ।
महानिर्देशक घिमिरेले गण्डकी प्रदेश र बागमती प्रदेशमा इम्बोस्ड नम्बर प्लेट जडानको तयारी पूरा भइसकेकाले पछिल्लो सूचनामा गण्डकी र बागमती प्रदेशलाई मुख्य फोकस गरिएको बताउनुभयो । उहाँले गण्डकी र बागमती प्रदेशमा चार पांग्रे वा सोभन्दा ठूला सवारीसाधन र गुर्जुधारामा दुई पांग्रे सवारी साधनको लागि जडान तयारी पूरा भएको बताउनुभयो । गण्डकी प्रदेशको पोखरामा पूर्वाधार तयार भएको घिमिरेको भनाइ छ । उहाँका अनुसार अब निकट भविष्यमा लुम्बिनी प्रदेशमा बुटवलमा, बागमती प्रदेशको थप हेटौँडामा अन्य प्रदेशमा पनि इम्बोस्ड नम्बर प्लेट जडानको लागि आवश्यकअनुसार विभागले पूर्वाधार तयार गरिरहेको बताउनुभयो । गण्डकी र बागमती प्रदेशका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भन्ने सूचना गलत रहेको उहाँको दाबी छ ।
इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघको प्रदर्शन, प्रहरीद्वारा बल प्रयोग
सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको भन्दै विरोधमा उत्रिएका युवा संघका नेता तथा कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको छ । मंगलबार अपरान्ह नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका युवा संघमाथि प्रहरीले लाठीचार्ज गरेको हो । प्रदर्शनका क्रममा रहेका युवा संघका कार्यकर्ताले सरकारी नम्बर प्लेटको सवारीसाधन रोकेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
इम्बोस्ड नम्बर प्लेट जडानमा अस्वाभाविक शुल्क लिन खोजिएको र नागरिकलाई सास्ती दिन खोजिएको भन्दै युवा संघले विरोध गरेको छ । यसैबीच यातायात व्यवस्था कार्यालय काठमाडौं र पोखराले तत्काल सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न नसकिने बताएका छन् । नयाँ सवारी र नामसारी भएर आएका सवारी साधनमा अहिले इम्बोस्ड नम्बर प्लेट जडान गरिने उनीहरूको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच