फोहोर विसर्जनमा फेरि स्थानीयको अवरोध

हिमालय टाइम्स
Read Time = 7 mins
A A- A+

डिबी शर्मा/हिटा
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा सिसडोलवासीले फेरि अवरोध गरेका छन् । मंगलबार बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई स्थानीयले बाटोमै रोकेका हुन् । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका हुन् । स्थानीयले सोमबार भएको सहमति मान्य नहुने भन्दै यसअगाडि भएका सहमति कार्यान्वयन नभएसम्म फोहोर फाल्न नदिने अडान लिएका हुन् । सोमबार बेलुका भएको सहमति नमान्ने भन्दै मंगलबार बिहानैबाट सिसडोल क्षेत्रका केही स्थानीय विरोध प्रदर्शनमा उत्रिएका थिए ।

शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरूबीच मंगलबारबाट काठमाडौंको फोहोर विसर्जन गर्ने सहमति भएको थियो । जेठ १४ गतेदेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर मंगलबारदेखि उठाउन थालिएको थियो ।

फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा केहीबेर तनाव उत्पन्न भएको थियो । फोहोर बोकेर गएका ट्रकलाई अवरोध पु¥याउने स्थानीयलाई बल प्रयोग गरेर फोहोर बञ्चरेडाँडामा लिने प्रयास भएको थियो । सिसडोल क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र परिचालन गरिएको थियो । प्रहरीको सुरक्षा घेराबीच फोहोर व्यवस्थापन गरिएको छ । दिउँसो पुगेको प्रहरी टोलीले स्थानीयको घरमै पसेर लाठी प्रहार गरेको थियो । लाठी प्रहारबाट केही स्थानीय घाइते भएका छन् । स्थानीयको ढुंगा प्रहारबाट एकजना प्रहरी पनि घाइते भएका छन् । यस्तै, फोहोर विसर्जन गरिएको क्षेत्रमा गन्ध नियन्त्रण गर्न केमिकल पनि छर्किएको छ ।

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरूको फोहोर नियमित उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्धित भएको छ ।

कुहिने र नकुहिने फोहोर छुट्याउनू, नछुट्याए महानगरले संकलन गर्ने छैन : मेयर साह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले घरमै कुहिने र नकुहिने फोहोर छुट्याइदिन आग्रह गर्नुभएको छ । कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोरहरू छुट्याएर निकालीदिन उहाँले आग्रह गर्नुभएको हो । ‘अब तपाईंको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोरहरू छुट्टिएर निस्किउन् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ,’ उहाँले भन्नुभएको छ, ‘जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाडौंमा बाँच्न पाउँछौँ । तपाईंहरूले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तीमा दुई अलग अलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पूरा गरिदिनु हुनेछ ।’

अब नछुट्याएको फोहोर महानगरले नउठाउने उहाँको भनाइ छ । पुरानो गल्ती महानगरले नदोहो¥याउने भन्दै उहाँले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्याई ल्याएको फोहोर कसैले मिसाउन नपाउने बताउनुभएको छ । ‘महानगरले फोहोरलाई स्रोतबाटै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोसिस गर्नेछ । हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ती गर्ने छैन,’ उहाँले भन्नुभएको छ, ‘तपाईंले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफूले नछुट्याई ल्याएको फोहोर कसैले मिसाउन पाउने छैन । यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ ।’

काठमाडौंमा ‘फ्लाई ओभर र अण्डरपास’को योजना रोकेर फोहोरको समस्या समाधान गरौँ : सांसद थापा
नेपाली कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले काठमाडौंमा ‘फ्लाई ओभर र अण्डरपास’ बनाउन छुट्याइएको बजेट रोकेर फोहोरको समस्या समाधान गर्न लगाउनुपर्ने बताउनुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले अहिले फोहोर व्यवस्थापन गर्नुपर्ने पहिलो प्राथमिकता भएको बताउनुभयो । ‘भौतिक पूर्वाधार मन्त्रालयको यस पटकको बजेटमा काठमाडौंमा फ्लाई ओभर र अण्डरपास बनाउने भनिएको छ । फोहोरको समस्या हल गर्न शहरी विकास मन्त्रालयको पैसाले पुग्दैन,’ उहाँले भन्नुभयो, ‘बञ्चरेडाँडा र सिसडोलमा हामीले गरेका वाचा र प्रतिज्ञा पूरा गर्न अर्बौं रुपैयाँ चाहिन्छ । योपटक काठमाडौंमा फ्लाई ओभर नबनाए पनि हुन्छ । अण्डरपास नबनाए पनि हुन्छ । फोहोर व्यवस्थापनको समस्या समाधान गरौँ ।’ सांसद थापाले यो समस्या सम्बोधन गर्ने सबैको जिम्मेवारीसमेत भएको बताउनुभयो । उहाँले सबै सांसद काठमाडौंमै बस्ने भएकाले बाहिरका योजना काटेर भए पनि फोहोरको समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?