भारतीय एसएसबीद्वारा नेपाली युवक कुटिए

हिमालय टाइम्स
Read Time = 2 mins

-संजीवकुमार मिश्रा

बारा । भारतको आदापुरमा जुत्ता खरीद गर्न गएका एक नेपाली युवकलाई भारतीय एसएसबीले नियन्त्रणमा लिएर मंगलवार निर्घात कुटपिट गरेका छन ।

भाईको बिहेमा सरिक हुन जुत्ता खरीद गर्न जानुभएका कलैया उपमहानगरपालिका– १० मटिअर्वाका १६ वर्षीय सजिल मियाँलाई नियन्त्रणमा लिएर भारतीय एसएसवीले निर्घात कुटपिट गरेका हुन ।

एसएसबीको कुटाईबाट घाईते हुनुभएका मियाँको कलैया अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

भारतीय सिमा क्षेत्रमा तस्करसँग एसएसबीको विवाद भएको मटिअर्वाका स्थानीयहरूले बताएका छन् । तस्करीको मालसामान बरामद गर्ने क्रममा तस्करहरूले अवरोध पुर्याएपछि एसएसबीले लाठी चार्ज गरेका थिए ।

एसएसबीले लाठी चार्ज गरिरहेको बेला घटनास्थलमा पुग्नुभएका मियाले आफ्नो मोबाईल खल्ती बाहिर निकाल्नु भएको थियो । लाठी चार्जको भिडियो मोबाईलबाट खिचेको आशंकामा एसएसबीले मियाँलाई नियन्त्रणमा लिएर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनापछि आक्रोशित मटिअर्वावासीले मटिअर्वा भन्सार नजिकैबाट भारतीय एसएसबी तथा बिहार पुलिसमाथि केहीबेर ढुंगामुढा गरेका थिए । सोही क्रममा बाराको महागढीमाई मन्दिरमा दर्शन गरेर फर्किदै गरेका एक भारतिीय सुरक्षाअधिकारीको सरकारी गाडीमा आक्रोशित मटिअर्वावासीले तोडफोड गर्ने प्रयास गरेका थिए ।

घटनास्थलमा तत्कालै पुगेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले भारतिय प्रहरीको गाडी तथा त्यसमा सवार भारतीय सुरक्षाअधिकारीको परिवारलाई जोगाएका थिए ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?