गंगा-दशहरा र निर्जला एकादशीको महत्व

Read Time = 15 mins

✍️ तोयराज नेपाल
ज्येष्ठशुक्ल प्रतिपदादेखि ज्येष्ठशुक्ल दशमीसम्मका दिनहरूलाई गंगा–दशहरा भनिन्छ । त्यसमा मुख्य दशमीका दिन गंगाजीको पृथिवीमा अवतरण भएको दिन भएकाले मुख्य गंगा-दशहरा पर्व भनेर ज्येष्ठशुक्ल दशमीलाई मानिन्छ ।

ज्येष्ठशुक्ल दशम्यां गंगावतारः इयं दशहरासंज्ञिका ।
अत्र योगा उक्ताः ज्येष्ठमासि सिते पक्षे दशम्यां बुधहस्तयोः।
व्यतीपाते गरानन्दे कन्याचन्द्रे वृषे रवौ ।।
दशयोगे नरः स्नात्वा सर्वपापैः प्रमुच्यते ।।
ज्येष्ठस्य शुक्ला दशमी संवत्सरसुखं स्मृतम् ।
तस्यां स्नानं प्रकर्तव्यं दानं चैव विशेषतः ।।
यां काञ्चत्सरितं प्राप्य दद्याद्दर्भैस्तिलोदकम् ।
मुच्यते दशभिः पापैः स महापातकोपमैः ।।
गराख्यं करणम् ।

बुधबार हस्तयोगे आनन्दाख्यो योगः । अत्र दशमी व्यतीपातयोर्मुख्यत्वम् । तेन यस्मिन् दिने कतिपययोगवती दशमी पूर्वाहृणे लभ्यते तत्र दशहराव्रतं कार्यम् । धर्मसिन्धु, हेमराज पृष्ठ–१०७ । ध.सि.सुधा० पृ-९६ । ज्येष्ठशुक्ल दशमीका दिन गंगाजीको अवतार भएको मानिन्छ । अर्थात् त्यसदिन कपिल मुनिका कोपाग्निबाट भष्म भएका सगरराजाका ६०००० छोराहरूको उद्धारका लागि सगरका नाति अंशुमान्, अंशुमान्का छोरा दिलीप र दिलीपका छोरा भगीरथले समेत तीन जन्म लगाएर स्वर्गमा रहेकी गंगाजीको तपस्या गरेर ज्येष्ठशुक्ल दशमीका दिनमा गंगाजीलई स्वर्गबाट पृथिवीतलमा अवतरण गराएको अर्थात् अंशुमान्, दिलीप र भगीरथले समेत तपस्या गर्दा प्रसन्न भएर यसै दिन गंगाजी पृथिवीमा झरेको दिन हो । त्यसै कारणले यस दिनलाई गंगादशहरा भनिएको हो । गंगाको अवतार भएका वेला दशवटा कुराको योग परेको थियो भन्ने कथन छ ।

ती योगहरू हुन् १-जेष्ठमहिना, २-शुक्लपक्ष, ३-दशमी तिथि ४- बुधबार ५-हस्ता नक्षत्र ६-व्यतीपात योग, ७-गर नामक करण ८-आनन्दादि योगमध्ये आनन्द योग ९- कन्याराशिका चन्द्रमा र १०- वृषराशिका सूर्यसमेत दश योग परेका थिए । तर यी दशैवटा योगको संयोग भने सधैं पर्दैन ।

यस दिन गंगाजीका नजिकमा हुनेले गंगाजीमा गएर र अरूले पनि आफ्ना स्थानीय नदी जलाशयादिमा गएर तलको मन्त्र पढी गंगाजीको स्मरण गर्दै नमस्कार गरेर स्नान गर्नुपर्छ र पूजा गर्नुपर्दछ । मन्त्र यस प्रकार छ-ॐ नमो भगवत्यै दशपापहरायै गंगायै नारायण्यै रेवत्यै शिवायै दक्षायै अमृतायै विश्वरूपिण्यै नन्दिन्यै ते नमो नमः ।। नमः शिवायै गंगायै शिवदायै नमो नमः । नमस्ते रुद्ररूपिण्यै शांकर्यै ते नमो नमः ।। नमस्ते विश्वरूपिण्यै ब्रहृममूत्र्यै नमो नमः । सर्वदेवस्वरूपिण्यै नमो भेषजमूर्तये । गंगा गंगेति यो रूयाद्योजनानां शतैरपि । मुच्यते सर्वपापेभ्यो विष्णुलोकं स गच्छति ।। अदत्तानामुपादानं हिंसा चैवाविधानतः । परदारोपसेवा च कायिकं त्रिवधंस्मृतम् । पारुष्यमनृतंचैव पैशुन्यं चापि सर्वशः । असम्बध्दप्रलापश्च वाङ्मयं स्याच्चतुर्विधम् । परद्रव्येष्वभिध्यानं मनसानिष्टचिन्तनम् । वितथाभिनिवेशश्च मानसं त्रिविधं स्मृतम् ।। एतानि दश पापानि हर त्वं मम जाहृनवि । दशपापहरा यस्मात् तस्माद् दशहरा स्मृता ।। त्रयस्त्र्शिच्छतं पूर्वान् पितृनथ पितामहान् । उद्धरत्येव संसारान्मन्त्रेणानेन पूजिता ।।

सयौं योजन टाढा भएर पनि जसले गंगा गंगा जय गंगे जय गंगे आदि भनेर गंगाजीको नाम समरण गर्दछ , जप गर्दछ र पाठ गर्दछ भने त्यो व्यक्ति सम्पूर्ण पापबाट मुक्त भएर विष्णुलोक वैकुण्ठमा जान पाउँछ ।

जुन मानिसले यो स्तेत्र भक्तिपूर्वक पाठ गर्दछ, त्यो मानिस कायिक, वाचिक र मानसिक दशप्रकारका पापबाट मुक्त हुन्छ । दश किसिमका पापहरू यसप्रकार हन्छन् । १-अर्काले नदिएका कुरा आफूखुशी लिनु, २-अवैधानिक हिंसा हत्या गर्नु, ३-अर्काकी स्त्रीसँग सहवास गर्नु, यी तीन किससमका कायिक पाप अर्थात् शरीरद्वारा हुने पाप हुन्, ४- रूखो, टर्राे र अर्कालाई बिझ्ने किसिमको गाली गरेर कडा बोली बोल्नु, ५- झूटो बोल्नु, ६- छुल्याइँ गर्नु (अर्काका नभएका कुरा वा भएकै कुरा पनि यताका कुरा उता र उताका कुरा यता लगाउनु), ७- असम्बन्धित ठाउँमा नचाँहिदो हल्ला गरिहिँड्नु, यी चार किसिमका वाचिक वा बोलीद्वारा गरिने पाप हुन् । ८- अरूको चिजमा वा सम्पत्तिमा आँखा लगाउनु अर्थात् अर्काको सम्पत्ति हडप्न पाए हुन्थ्यो भन्ने सोच्नु, ९- मनले अर्काको अनिष्ट हवोस् भन्ने चिताउनु, १०- असत्य वा नभएको कुरालाई सत्य सिद्ध गर्न खोज्नु, यी तीन थरि मानसिक पाप मनद्वारा गरिने पाप हुन् ।

शारीरिक पाप तीन किसिमका वाचिक पाप चार किसिमका र मानसिक पाप तीन किसिमका गरी जम्मा दश प्रकारका पापलाई नष्ट गर्ने सामथ्र्य भएकी हे भगवती गंगा माता मेरा यी दशै थरिका पाप नष्ट गरिदिनुहोस्, भनेर प्रार्थना गर्ने । यी दश थरि पापलाई नष्ट गर्ने भएकी हुँदा यस विशेष दिनलाई ‘गंगा-दशहरा’ भनिएको हो । उपर्युक्त ॐ नमो भगवत्यै दशपापहराययै गंगायै....आदि यो मन्त्रद्वारा विधिपूर्वक गंगाजीको पूजा आराधना गर्दा गंगाजीले पूजा गर्ने व्यक्तिका दशै किसिमाका पाप नाश गरी पिता पितामह र प्रपितामह आदि ३३०० तेत्तीस सय पितृहरूलाई संसारसागरबाट उद्धार गर्नुहुन्छ । त्यसकारण हामी पनि यसदिन यथाशक्ति स्नान दान, पूजा तर्पण आदि गरी गंगाजीको आराधना गरौं, हाम्रो कल्याण हुन्छ । ॐ गंगायै नमः ।

ज्येष्ठशुक्लएकादशी निर्जला एकादशी
निर्जला एकादशीको संक्षिप्त माहात्म्य प्रस्तुत छ- ज्येष्ठशुक्ल एकादशीलाई निर्जला एकादशी भनिन्छ । यस एकादशीमा जलसमेत नखाई व्रत बसेर भगवान् नारायणको आराधना गर्नुपर्दछ । यसदिन तुलसीको बीज छरेर आषाढशुक्ल एकादशी हरिशयनी एकादशीका दिन तुलसीका बिरुवा रोप्नुपर्दछ भन्ने शास्त्रको विधान छ ।

कुनै समयमा भीमसेनले वेदव्यास सँग सोधेर वेदव्यासले बताउनुभएको महाभारत र पद्मपुराणमा वर्णित निर्जला एकादशीको माहात्म्य यसप्रकार छ-भीमसेनले वेदव्यासलाई सोधे-हे पितामह मेरा दाजु युधष्ठिर, माता कुन्ती, अर्जुनादि सबै भाइहरू र द्रौपदी समेत सबैजना एकादशीका दिन उपवास बस्तछन् र एकादशीको व्रत गर्दछन् । मलाई पनि उपवास बस्न भन्दछन्, तर मेरा पेटमा वृक नामक अग्नि बस्तछ, निकै खाएपछि मात्र त्यो अग्नि शान्त हुन्छ । त्यसकारण म एकभक्त व्रत गर्न पनि सक्तिन, भने उपवास बसेर व्रत लिन ता झन् कसरी सकौँला र ? भनेर भीमसेनले भनेपछि व्यासजी भन्नुहुन्छ-कलौ युगे न शक्यन्ते ते वै कर्तुं नराधिप ! सुखोपायं चाल्पधनमल्पक्लेशं महाफलम् ।। पुराणानां च सर्वेषां सारभूतं वदामि ते । एकादश्यां न भुञ्जीत पक्षयोरुभयोरपि ।। एकादश्यां न भुंकते यो न याति नरकं तु यः ।।

हे भीमसेन सही हो । वेद, स्मृति पुराणआदिमा विभिन्न धर्महरू बताइएका छन् । कलियुगमा ती सबै धर्म कर्महरू पालन गर्न गाह्रो हुन्छ । सजिलैसँग थोरै खर्च गरेर, थोरै परिश्रम गरेर पनि धेरै ठूलो पुण्यफल पाइने र आनन्द पाइने धर्म-कर्म कुन हो ? भनेर अनुसन्धान गर्दा सम्पूर्ण वेद, स्मृति र पुराको सार के निस्कियो भने दुवै पक्षका एकादशीका दिन उपवास बसेर एकादशीको व्रत गर्नु जति ठूलो धर्म अरू केही छैन, भन्ने सार निस्कियो । त्यस कारण तिमी पनि एकादशीको व्रत गर, यसबाट ठूलो पुण्य मिल्दछ । जसले एकादशीको व्रत गर्दछ, त्यसले नरकमा जानुपर्दैन, भनेपछि भीमसेनले भने–हे प्रभु सबै एकादशीमा उपवास बस्न त म सक्तिन । त्यसकारण यौटा एकादशीमा भने म पनि उपवास बसेर व्रत गर्दछु । बरु कुन एकादशीमा उपवास बसेर व्रत गरौं ? हजुरबाट आज्ञा हवोस्, भनेपछि व्यासले भने-वृषस्थे मिथुनस्थेक्र्के शुक्ला यैकादशी भवेत् । ज्येष्ठमासे प्रयत्नेन सोपोष्या जलवर्जिता ।। स्नाने चाचमने चैव वर्जयित्वोदकं बुधः । उपयुञ्जीत नैवान्यद् व्रतभंगो यथा भवेत् ।। उदयादुदयं यावद् वर्जयित्वा जलं बुधः । अप्रयत्नादवाप्नोति द्वादशद्वादशीफलम् ।। ततः प्रभाते विमले द्वादश्यां स्नानमाचरेत् ।। जलं सुवर्णं दत्वा च द्विजातिभ्यो यथाविधि । भुञ्जीत कृतकृत्यस्तु ब्राहृमणैः सहितो वशी ।। सर्वतीर्थेषु यत्पुण्यं सर्वदानेषु यत्फलम् । तत्फलं समवाप्नोति इमां कृत्वा वृकोदर ।। संवत्सरस्य यावन्त्यः शुक्ला कृष्णा वृकोदर ! उपोषितास्ताः सर्वाः स्युरेकादश्यो न संशयः ।

वृषराशिमा वा मिथुन राशिमा सूर्य गएका वेला अर्थात् जेष्ठमा वा असारमा जुन महिनामा ज्येष्ठशुक्ल एकादशी पर्दछ, त्यसमा सूर्याेदयदेखि भोलिपल्ट द्वादशीको सूर्याेदय नहउन्जेलसम्म जलसमेत नखाइकन उपवास बसेर एकादशीको व्रत गर्दा वर्षभरिका शुक्ल एकादशी र कृष्ण एकादशी सबै एकादशीको व्रत गरेको सम्पूर्ण फल एकमात्र ज्येष्ठशुक्ल निर्जला एकादशीको व्रत गर्नाले प्राप्त हुन्छ ।

एकादशीका दिन नदीमा वा जलाशयमा स्नन गरी पूजास् थान आएर कलशस्थापना गरी भगवानको प्रतिमामा विधिवत् पूजाआराधना भजन, कीर्तन, कथाश्रवण, नामसंकीर्तन आदि गर्दै रात्रिमा जाग्राम बसी भगवान्को उपासना गरेर भोलिपल्ट द्वादशीका दिनमा स्नान गरेर जलदान, सुवर्णदान र अन्नादि दान र दक्षिणादान गरी ब्राहृमणभोजन गराएरमात्र त्यसपछि आफूले भोजन गर्दछ भने त्यसका सम्पूर्ण पाप नाश भई सम्पूर्ण तीर्थयात्रा गर्दा र सम्पूर्ण दानपुण्यादि गर्दा जुन पुण्यफल मिल्दछ, त्यो फल यो एकादशीको व्रत गर्दामात्र प्राप्त हुन्छ । भनेर व्यासजीले भनेपछि भीमले पनि व्यासजीले भनेअनुसार विधिपूर्वक यस ज्येष्ठशुक्ल एकादशीको जल समेत नखाइकन व्रत लिएर वर्षदिनका सबै एकादशीहरूको व्रत बस्ता जुन फल प्राप्त हुन्छ, त्यो सम्पूर्ण फल प्राप्त गरेका थिए ।

जल पनि नखाइकन व्रत लिइने एकादशी भएको हुँदा यस एकादशीलाई निर्जला एकादशी भनिएको हो। त्यसकारण हामी पनि एकादशीको यथाशक्ति व्रत बसी भगवान्को पूजा आराधना गरी प्रतिमा अगाडि कथाश्रवण, कीर्तन र रात्रिमा जाग्राम बसी भगवान्को उपासना गरेर सके सबै एकादशीको व्रत गरौं, नसके निर्जला एकादशीको व्रत गरी सबै एकादशीको व्रत गरेको फल प्रप्त गरौं । हाम्रो पनि कल्याण हुन्छ । ॐ हरये नमः।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?