मन्त्रीहरुले सकेसम्म राम्रो काम गरेका छन्, दोष लगाउनु हुँदैन : माधव नेपाल

Read Time = 3 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुले सकेसम्म राम्रो काम गरेकाले उनीहरुलाई दोष लगाउन राम्रो नहुने बताउनु भएको छ ।

पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालले सरकारमा रहेर राम्रो काम गरेका मन्त्रीहरुलाई आगामी दिनमा सम्मान गर्ने पनि बताउनु भयो ।

नेपालले भन्नुभयो, ‘अव दोषजति हाम्रो मन्त्रीलाई दिने काम नगरौं । मन्त्रीहरुले पनि सकेसम्म राम्रै काम गर्नु भएको छ । यथोचित मूल्यांकन हामी गरौंला । राम्रो कामको निम्ति धन्यवाद दिनेछौं । कमजोरीलाई ध्यानमा राखेर अव जाने टिमले राम्रो काम गरोस् भनेर आशा, अपेक्षा गर्दै उहाँहरुलाई पनि बधाई छ ।’

अध्यक्ष नेपालले वडा तहसम्म पुगेर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

अध्यक्ष नेपालले आगामी मंसीरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढन आफ्नो पार्टीले चाहेको बताउनु भयो ।

उहाँले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भईरहे पनि त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नुभयो । गठबन्धनभित्र कमजोरी भए आलोचना गर्ने तर गठबन्धनलाई भने निरन्तरता दिएरै जाने अध्यक्ष नेपालको दृढता थियो ।

उहाँले भन्नुभयो, ‘अव यो गठबन्धनको भविष्य छैन भन्ने अनेकौं कुप्रचारहरु त्यस्ता कुप्रचारको पछाडि हामी लाग्नु हुँदैन । हामी यो गठबन्धनलाई आउने चुनावसम्म चुनाव पश्चातको अवस्थासम्म लिएर जान चाहन्छौं । यो गठबन्धन कसरी भत्कियोस् । आपसी अविश्वास कसरी बढोस भनेर अनेकखालका प्रयत्नहरु पनि भएका होलान् । तर त्यसको पछाडि हामी लाग्नु हुँदैन । हामी इमान्दारिताका साथ चल्छौं । तर कमजारी भएका छन भने त्यसको आलोचना पनि गर्छौं ।’

अध्यक्ष नेपालले गठबन्धन गरेर स्थानीय तह निर्वाचनमा जाँदा आफूहरुले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको मेयरमा सान्दार ढंगले सफलता हासिल गरेको बताउनु भयो । उहाँले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि पार्टी पंक्तिलाई सचेत गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *