रेसुंगाकोे पहिलो निर्णय : गुल्मी अस्पतालबाटै मृगौलाको डायलसिस सेवा

Read Time = 6 mins

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाले जिल्लामै पहिलो पटक डायलसिस मेसिन खरिद गरी गुल्मी अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख खिलध्वज पन्थीले पछिल्लो समय मृगौलाका बिरामीहरु बढ्दै गईरहेको भन्दै बिरामीहरुको सहजताका लागिे यस्तो निर्णय गरिएको बताउनुभयो ।

कोभिड महामारीमा जिल्लामा डायलसिसको सुविधा नहुँदा धेरै बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई आफुले नजिकबाट नियालेको बताउँदै आफू निर्वाचित भएपछि डायलसिसका लागि पाल्पा, वुटवल, काठमाडौं जान नपरोस् भनेर नै डायलसिस सेवा उपलब्ध गराउने उद्देश्यले मेसिन खरिद गरी हस्तान्तरण गर्ने महत्वपूर्ण निर्णय गरेको बताउनुभयो ।

त्यो समयको सम्झना गर्दै नगरप्रमुख पन्थीले भन्नुभयो, ‘कोरोना महामारीका बेला बिरामीहरुको लागि सवारी पास उपलब्ध गराउन आफै सक्रिय भएर लागें । ती अधिकांश बिरामी मृगौलाका पनि थिए ।’

पन्थीले यो निणर्य बताइरहँदा सहभागी पत्रकारहरुले जिल्लामै पहिलो पटक उदाहरणीय निर्णय गरेको भन्दै खुलेरै धन्यवाद दिएका थिए ।
पन्थीले जनताका साना-साना समस्याहरु बुझेर आएको उल्लेख गर्दै अब बनाउने बजेट, नीति तथा कार्यक्रममा यसलाई समावेश गरी छिट्टै कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभयो । सेवा प्रवाहका लागि गुल्मी अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.उत्तम पच्यासँग समन्वय समेत गरेको उहाँले जानकारी दिनुभयो । यसका लागि जनशक्ति अस्पतालले तयार गर्ने र डायलासिस मेसिन नगरपालिकाले उपलब्ध गराउने पन्थीले बताउनुभयो ।

आफुहरुले स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले नगरपालिका भित्रका नागरिकको मोतिया विन्दुको निःशुल्क शल्यक्रियाका लागि व्यवस्था मिलाउने बताउनुभयो । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घाससँगको समन्वयमा नगरपालिकाले मोतिय विन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीको निःशुल्क शल्यक्रियाका लागि आर्थिक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

यस्तै कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अगाडी बढाउनका लागि पशुहरुमा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँका अनुसार पञ्जीकरणका सेवा समेत घरघरमा उपलब्ध गराइने भएको छ । कुनै पनि नगरबासीको घरमा जन्म, मृत्यु लगायतका घटनामा घरमै पुगेर प्रमाणपत्र उपलब्ध गराइने निर्णय गरेको उहाँको भनाइ थियो ।

नगरकार्यपालिकाको पहिलो बैठकले विभिन्न विषयगत समितिमा संयोजक तथा सदस्यहरु पनि चयन गरेको छ । श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति संयोजकमा नगरप्रमुख खिलध्वज पन्थी रहनुभएको छ । नीति बजेट तथा कार्यक्रम तर्जुमा समिति, राजश्व परामर्श समिति, अनुगमन तथा मूल्याङ्कन समिति संयोजकमा उपप्रमुख अमृतादेवी कुँवर रहनुभएको छ ।

यस्तै आर्थिक विकास समितिमा रामबहादुर बस्नेत, सामाजिक विकास समिति संयोजकमा लिलाधर आचार्य, पूर्वाधार विकास समिति संयोजकमा रामप्रसाद पन्थी, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजकमा गनबहादुर गुरुङ्ग र मानव संशाधन तथा सुशासन समिति संयोजकमा हुमबहादुर बस्नेत रहनुभएको छ । बैठकले नगरपालिकाको प्रवक्तामा वडा नम्बर ७ का वडाअध्यक्ष रामप्रसाद पन्थी (राम्जी) लाई जिम्मेवारी प्रदान गरेको छ ।

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले रेसुंगा नगरपालिकाका १४ वटै वडालाई रेसुंगा सर्किट निर्माण गरि जोड्ने बताउँदै पर्यटन पूर्वाधारमा लगानी बढाउने उल्लेख गर्नुभयो । उहाँले ग्रीनसिटी तथा स्माट सिटिको अवधारणालाई मूर्त रुप दिनका लागि शहरलाई स्वच्छ र हराभरा बनाउन फोहोरमैला व्यवस्थपन केन्द्र निर्माण गर्ने पहिलो निर्णय भएको जानकारी दिनुभयो । निर्माणाधीन भौतिक पूर्वाधारका योजना सम्पन्न गर्दै वडा कार्यालय जोड्ने सडक क्रमशः कालोपत्रे गर्ने बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?