बाँध पुनर्निर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा

हिमालय टाइम्स
Read Time = 6 mins

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–११ बरुवा नदीस्थित ढिम्कीको तटबन्धन समयमा पुनर्निर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा परेको छ । मर्मतसमेत नहुँदा वर्षायाम सुरु भएसँगै दैनिक वर्षाका कारण नदीको बहाव बढ्दै जान थालेपछि जिल्लाको सदरमुकाम गाईघाट बजारसहित आसपासका क्षेत्र उच्च जोखिममा परेका हुन् ।

त्रियुगा-११ नम्बर वडास्थित शिवालय टोल, साकेला टोल, ढिम्कीसहित आसपासका बस्ती क्षेत्रमा निर्माण गरिएको पुराना र कच्ची तटबन्धन तथा बाँध वर्षाका कारण भत्कन थालेका छन् । अहिलेसम्म पनि यिनको मर्मत तथा पुनर्निर्माणमा कसैले चासो देखाएको पाइँदैन ।

वर्षायाम सुरु भएसँगै दैनिक वर्षाका कारण बरुवा नदीको बहाव निरन्तर बढ्न थालेपछि पुराना कच्ची बाँध तथा तटबन्धन भत्कने खतरा बढ्दै गएका कारण यस क्षेत्र आसपासका स्थानीय चिन्तित भएको ढिम्कीका जगत् कार्की बताउनुहुन्छ । ‘तटबन्धन पुनर्निर्माण नै गर्नुपर्ने हो तर मर्मतमात्रै गरिदिए पनि ढुक्क हुनुहुन्थ्यो,’ उहाँले भन्नुभयो ।

बरुवा नदी नियन्त्रणका लागि निर्माण गरिएका पुराना बाँधको ढुंगा निस्कँदै बाँध खुल्न थालेको र बाँधको केही भागसमेत भत्कन थालेपछि शिवालय टोल, साकेला टोल र गाईघाट बजार क्षेत्र नै जोखिममा परेको साकेलाका राजकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तत्कालै यो समस्याप्रति सरोकारवालाको ध्यान जान जरुरी छ ।’

अहिले वर्षायाम सुरु हुनै लाग्दा बरुवा नदीमा पानीको बहाव दिनानुदिन बढ्दै जान थालेपछि बाढीले बाँधको पुरानो संरचना खोल्ने र भत्काउने खतरा बढ्दै जान थालेको र केही ढुंगा बगाउन थालेपछि बाँध फुट्न सक्ने अवस्थामा पुगेको हो । ‘बाँध फुट्यो भने त बस्ती निकै खतरामा पर्नेछ,’ शिवालय टोलका दीपिका कार्कीले बताउनुभयो । उहाँका अनुसार यसअघि पटक-पटक बाँध भत्किँदा स्थानीय विस्थापित हुनुपरेको थियो ।

स्थायीरूपमा बरुवा नदीमा बाँध निर्माण नहुनु र पुराना संरचनामा निर्माण गरिएको बाँध यसभन्दा अघि पनि विसं २०३१, २०३९ र २०५७ सालमा भत्किएको त्रियुगा-११ का युवराज बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार विगतमा तीनपटक बाँध भत्कँदा गाईघाटका धेरै घर डुबानमा पर्दा अधिकांश स्थानीय विस्थापित भएका थिए ।

स्थानीयले स्थायीरूपमा पक्की बाँध निर्माण नगर्दा बर्सेनि बरुवा नदीको बाँध भत्कँदै गएको र नदीले कटान गर्दै लगेको बताएका छन् । यस वर्ष पनि समयमा बाँध पुनः मर्मत नहुँदा अहिले गाईघाट बजारसहित आसपासका करिब दुई हजार बढी घर उच्च जोखिममा परेको संगमटोलका कर्णबहादुर बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले स्थायी प्रकृतिको बाँध निर्माणप्रति विशेष ध्यान दिनु जरुरी छ ।’

दुई वर्षअघि पनि वर्षा लागेसँगै आएको बाढीले बरुवाको बाँध भत्काउन थालेपछि स्थानीय प्रशासन, नगर कार्यालय, नेपाली सेना, प्रहरीको टोलीले बोरामा बालुवा भरेर भत्किएका बाँध पुनः मर्मत गरेर गाईघाट क्षेत्र सुरक्षित गरिएको थियो । बरुवा नदीमा निर्माण गरिएको पुरानो बाँधको तारजाली नै नष्ट भइसकेको, बाँध क्षेत्रका ढुंगासमेत हिउँदमा ट्र्याक्टर व्यवसायीले उत्खनन् गरेपछि बर्सेनि बरुवा नदीले बाँध भत्काउँदै आएको हो ।

स्थानीयवासीले बाँस तथा बालुवामा बोरा राखेर बनाएको अस्थायी तटबन्धन दुई वर्षभन्दा बढी नटिक्ने गरेको गाईघाटका वृद्ध रत्नकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब वर्षा लागिसक्यो, बाँध मर्मत गर्न पनि समस्या होला, यसप्रति कसले ध्यान दिने खै ।’ उहाँले हालै नविनिर्वाचित जनप्रतिनिधिले तत्कालै चासो दिनुपर्ने बताउनुभयो ।

यसअघि पनि दुईपटक बरुवा नदीको बाँध फुटेर गाईघाट क्षेत्रमा नदी प्रवेश गर्दा करिब पाँच सय बासिन्दा विस्थापित भइसकेका छन् । यसपटक पनि वर्षा सुरु भइसक्दा तटबन्धन मर्मत एवं पुनर्निर्माणको कामले प्राथमिकता नपाउँदा गाईघाटका स्थानीय निकै त्रासमा बसेका छन् । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?