प्रकाश दूतराजको नयाँ गीत ‘मन भुल्छ’ सार्वजनिक

Read Time = 4 mins

काठमाडौं । नेपाली मौलिक लोक गीतको क्षेत्रमा आफ्नो छुट्दै पहिचान बनाउनुभएका गायक प्रकाश दूतराजको नयाँ गीत ‘मन भुल्छ’ सार्वजनिक गरिएको छ । मंगलबार राति सार्वजनिक ‘मन भुल्छ’ गीतमा उहाँको ‘जाम भो माइली’पछिको अफिसियल गीत हो ।

जुन गीत उहाँले सात महिनाको अन्तरालमा श्रोता/दर्शकमाझ ल्याउनुभएको हो । गीतमा प्रकाशकै शब्द र संगीत छ । कृष्ण विकले गीतको एरेञ्ज गर्नुभएको हो । गीतमा प्रकाशसँगै गायिका शान्तिश्री परियारले स्वर दिनुभएको छ । यसअघि प्रकाश र शान्तिश्रीले स्वर दिनुभएको ‘घर कता हो बैनीको’ र ‘जाम भो माइली’ गीतले भिडियो शेयरिङ साइट युट्युबमा करोडमाथिको भ्युज पाइसकेका छन् ।

‘मन भुल्छ’को भिडियोमा भने प्रकाशले नयाँ र रचनात्मक प्रयोग गरेको देखिन्छ । यसअघि श्रोता दर्शकले रुचाएका सिर्जनाभित्रका पात्रहरूलाई एउटै भिडियोभित्र प्रस्तुत गर्नुभएको छ । प्रकाशको ‘बैनी झ्यालैमा’ गीतलाई श्रोता दर्शकले अत्यधिक रुचाउनु भएको छ ।

त्यसपछि सार्वजनिक गीत ‘चोली मैलै भो’ले विस्तारै चर्चा पाउँदै गएर करोड क्लबको नजिक पुगेको छ । ‘घर कता हो बैनीको’ निकै लोकप्रिय भयो । अनि ‘जाम भो माइली’ले प्रकाशलाई करोड क्लबमा ‘हृयाट्रिक’ गराइदियो । हो, यिनै चारवटा ‘हिट’ सिर्जनाभित्रका पात्रहरूलाई ‘मन भुल्छ’मा एउटै भिडियोभित्र हेर्न सकिन्छ । भिडियोमा प्रकाश दूतराजसँगै सुजल बम, भूमिका गिरी, जुना सुन्दास, आयुष्मा कार्की, विजय पुन, रोशनी कार्कीलाई प्रस्तुत गरिएको छ ।

भिडियोमा उहाँले यसअघिका पात्रको पहिरन शैली, अभिनयलाई पनि उही रूपमा प्रस्तुत गर्ने प्रयास गर्नु भएको छ । भिडियोमा उहाँ ‘क्रियटर’को भूमिकामा प्रस्तुत हुनुहुन्छ भने अघिल्ला सिर्जनाका पात्रलाई कल्पना गरिएको छ ।

यस्तै, यसअघिका चार गीतमा नरहनु भएकी मोडल गीता ढुंगाना पनि भिडियोमा प्रस्तुत हुनुहुन्छ छ । ‘क्रियशनमा एक खालको पागलपन हुन्छ नि, भिडियोमा देखाइएका कुराहरू अलिक पागलपन पनि छ’ प्रकाशले भन्नुभयो, ‘हिजोका दिनदेखि श्रोता दर्शकहरूले दिनुभएको माया, उहाँहरूले रुचाइदिनुभएको गीतका पात्रहरूलाई एकै ठाँउमा राखेर भिडियो बनाएको छु ।’ प्रकाशले गीतभन्दा पहिले भिडियोको कन्सेप्ट तयार पार्दै आउनुभएको छ । ‘मन भुल्छ’ मा पनि उहाँले पहिले भिडियाको कन्सेन्ट सोंचेपछि गीत तयार पार्नु भएको हो ।

मौलिक मिठासले भरिपूर्ण सिर्जनाहरू ल्याउँदै आउनुभएका प्रकाशका सिर्जनालाई श्रोता दर्शकले रुचाउँदै आउनुभएको छ । मौसम हिमालीको निर्देशन रहेको ‘मन भुल्छ’को भिडियोलाई अनिल के.मानन्धनले छायांकन गर्नु भएको हो । नवीन घर्ती मगरको सम्पादन तथा कलरपछि भिडियो सार्वजनिक गरिएको हो । अघिल्ला सिर्जनाहरूलाई जस्तै यसलाई पनि श्रोता दर्शकले रुचाउने विश्वास प्रकाशले लिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?