कहिले आउला मेयर बालेनको माला लाउने दिन ?

हिमालय टाइम्स
Read Time = 13 mins
A A- A+

✍️ जीवन शर्मा
स्थानीय तह निर्वाचन २०७९ मा केही स्वतन्त्र व्यक्तिहरू चर्चाको चुलीमा पुगे । चुनावको केही महिनाअघि मात्रै काठमाडौं महानगरपालिकाको मेयर बन्ने घोषणा गरेका बालेन्द्र साह (बालेन) चुनावपछि महानगर प्रमुखको कुर्सीमा छन् । त्यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पनि स्वतन्त्रबाटै जितेका हुन् भने धनगढीका गोपाल हमाल पनि स्वतन्त्र उम्मेदवार उठेर मेयर बनेका हुन् । हमाल विवेकशील साझा पार्टीमा आबद्ध भए पनि स्वतन्त्र उम्मेदवारी दिएर मेयर बनेका हुन् तर बालेन र हर्क भने कुनै दलमा आबद्ध थिएनन् ।

हर्क सुशासन अभियान्ता हुन् भने बालेन इन्जिनियर हुन् । यी दुवैले जनतामाझ लोकप्रिय एजेण्डाहरू लिएर पुगेका थिए । बालेनले काठमाडौंको फोहोर व्यवस्थापन, सुशासन र सहज सेवा प्रवाहको एजेण्डा बोकेर मतदाताका माझ जाँदै गर्दा धनकुटाका हर्क राईले पनि सुशासन र खानेपानीको समस्या समाधान गर्ने योजनालाई प्राथमिकता दिएका थिए ।

गोपालका एजेण्डा भने खासै चर्चामा आएनन् । स्वतन्त्रबाटै जिते पनि उनलाई दलका नेताहरूले स्वतन्त्र व्यक्तिको रूपमा हेर्ने गरेका छैनन् । दलहरूले नै सहयोग गरेर चुनाव जिताएकोे सिनियर नेताहरूले चर्चा गर्दै आएका छन् । नितान्त स्वतन्त्र उम्मेदवार बनेर देशका ठूला शहरमा ठूला दलहरूलाई हराउँदै मेयर बनेका काठमाडौं महानगरका मेयर बालेनलाई देशका ठूला साना सबै मिडियाले निरन्तर सहयोग गरिरहे, उनका एजेण्डा जनतामाझ पु¥याइदिइरहे भने हर्क मिडियाको नजरमा खासै पर्न सकेनन् । उनका एजेण्डा मिडियाको नजरमा छायाँमा परेपनि जनतालाई एक्लै सुनाइरहे । फलस्वरूप देशभरको ध्यान तानिएको काठमाडौं र धरानमा यिनै स्वतन्त्रको जित भयो ।

देशका ठूला शक्ति भनिएका कांग्रेस-एमालेका नेताहरूले नै हार व्यहोर्नु पर्‍यो । दलहरूका लागि यो सिकाइको विषय बनेको नेताहरूले स्वीकार गरेका छन् । नवनिर्वाचित जनप्रतिनिधिले काम सुरु गरिसकेका छन् । यो निर्वाचनमा पाँच वर्षमा राम्रो काम गर्नेहरू दोहोरिए भने जनताको नजरमा काम नगरेकाले पुनः निर्वाचित हुन सकेनन् । पुनः दोहोरिन चाहने धेरैका लागि यो निर्वाचन अभिसाप बन्यो । उनीहरूको पाँच वर्षे कार्यकालको मूल्यांकन जनताले मतबाट गरे । नवनिर्वाचित जनप्रतिनिधिले आगामी दिनमा यसलाई सिकाइको विषय बनाउनुपर्छ ।

अहिलेका अधिकांश जनप्रतिनिधिले निर्वाचनमा धेरैले लोकप्रिय तर कार्यान्वयन नहुने विषयलाई प्रतिबद्धतापत्र मार्फत उठाएका छन् । जसको कार्यान्वयन हुन सकेन भने पाँच वर्षपछि जनअदालतमा हाजिर हुँदा गर्ने जनताको फैसलाले फेरि जनसेवामा नफर्क भन्ने निर्णय गर्नसक्ने कुरालाई पनि हेक्का राख्नुपर्ने हुन्छ । फोहोर व्यवस्थापन, यातायात व्यवस्थापन, सार्वजनिक शौचालय र सुन्दर नगरको परिकल्पना जनतामाझ लगेर काठमाडौं महानगरपालिकाको मेयर जितेका बालेन साहले सिसडोल, बञ्चरेडाँडालगायत फोहोर व्यवस्थापन र डम्पिङ साइटको अवलोकण भ्रमण गरिसकेका छन् । अनुगमनका क्रममा मेयर साहलाई स्थानीयले केही आक्रोश पनि पोखे ।

काठमाडौंको फोहोर व्यवस्थापनको मुख्य समस्या ल्याडफिल्ड साइड अभाव नै हो । सिसडोल र बञ्चरेडाँडामा फोहोर लैजान नदिने भन्दै वर्षैदेखि स्थानीयहरू आन्दोलनरत छन् । यस पटक पनि मेयरलाई स्थानीयले अवरोध गर्न खोजे तर त्यसको विकल्पसहित प्रस्तुत भएको भन्ने मेयर बालेनको अभिव्यक्तिप्रति नागरिक केही हदसम्म साम्य भए । तत्काल वैकल्पिक व्यवस्था के हो त भन्न सक्ने अवस्था छैन । राजधानीमा फोहोरको डंगुरले बसिनसक्नु भइसकेको छ ।

फोहोर नउठाएको हप्तौं भइसकेको छ । गत जेठ १३ गते महानगरमा निर्वाचित मेयर र उपमेयरले पहिलो साताभित्र काठमाडौंको फोहोर व्यवस्थापन गरिसक्ने घोषण गरेका थिए । फोहोर व्यवस्थापन नगरी मेयरमा विजयी भएको माला नलाउने प्रतिज्ञा गरेका मेयर साहले दशतिर भौंतारिँदासमेत फोहोर व्यवस्थापनको गतिलो उपाए अझै भेटेका छैनन् ।

मेयरले माला लगाउने दिन कहिले आउँछ ? भनेर काठमाडौंवासीले प्रश्न गर्न थालेका छन् । फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज भएकाले शहरमा दैनिक फोहोरको डंगुर बढिहरेको छ । सडकपेटीहरू दुर्गन्धित भएका छन् । फोहोरकै कारण रोगको संक्रमण फैलन सक्ने त्रास शहरबासीमा बढेको छ । मेयरमा विजेता घोषित भएपछि काठमाडौं महानगरलाई विश्वमै सुन्दर, सभ्य र विकसित बनाउने आफ्नो लक्ष्यमा पुग्न काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका साहलाई फोहोर व्यवस्थापनमै कठिन हुने देखिएको छ । ठूला होटल र रेस्टुरेन्टहरूका शौचालयलाई सार्वजनिक शौचालयका रूपमा विकास गराउने उनको योजना कार्यन्वायनको चरणमा छन् ।

राज्य पुनर्संरचनापछि ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिका गरी २ सय ९३ शहर घोषणा भएका र करिब ६५ प्रतिशत जनता शहरमा बसोबास गर्न थालेका छन् । देशमा आठवटा राजधानी बनेका छन तर मापदण्ड र आवश्यक पूर्वाधार शून्य छ । यी शहरहरूको समस्या पनि उस्तै रहेका छन्, तर सबैभन्दा बढी जनघनत्व भएको शहर कामाडौंमा पहिलो चुनौतीको रूपमा देखापरेको फोहोर व्यवस्थापनको विषयले नवनिर्वाचित मेयर बालेन साहमाथि ठूलो संकट आइलागेको छ । बाहिर हुँदा जसरी जनताको अवस्था र आवश्यकताको पहिचान गरी जिम्मेवारीमा रहेकालाई गाली गर्न र जनताको आवाज उठाइदिन सजिलो हुन्छ जिम्मेवारी पूरा गर्ने तहमा पुगेपछि व्यवस्थापन र कार्यान्वायन त्यत्तिकै चुनौतीपूर्ण खेप्नुपर्ने बालेनले अहिले महसुस गर्नथालेका होलान् ।

चुनावी मैदानमा जाँदै गर्दा नेताहरूले अरूले गर्न नसकेका कुरालाई खोट्याउने र आफूले सबै समस्या हल गर्छु भन्ने हुंकारका साथ लागेका हुन्छन् । मेयर साहको योजना, प्रतिबद्धता र कामको सुरुवाती चरणमै टिप्पणी गरिहाल्दा अलि हतारो होला तर बालेनलाई पनि यही समस्याले ग्रस्त बनाएको हुन सक्छ । उनको दृष्टिकोण र योजना काठमाडौं महानगरपालिकाका लागि आफैंमा उत्कृष्ट छन् । तर यसको कार्यन्वायनका चुनौतीको सामना गर्नसक्ने सामथ्र्य उनीसँग छ कि छैन समयले बताउँला । खैर उनको सुरुकै प्रस्तुति र कार्यशैली त्यति पाको थिएन भन्न सकिन्छ ।

दलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवार भएर मेयर जितेका साहले कुन दलका को-कोसँग कसरी समन्वय गर्ने र दलीय आधारमा आएका कार्यपालिका सदस्य (वडा अध्यक्ष) हरूलाई कसरी मिलाएर आफ्ना एजेण्डाहरू कार्यपालिकाबाट पास गराउने भन्ने चुनौती पनि उनीमाथि छँदैछ । सुरुमै उनले फोहोर प्रशोधन मेसिन ल्याउने प्रस्ताव गरे पनि तत्काल सडकमा थुपारिएको फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने उपाए निकाल्न सकेका छैनन् । गर्मी तथा वर्षायाममा फोहोरको डंगुरबाट झिंगा, लामखुट्टे, मुसा, चरा तथा गाडीका पांग्रा, जुत्ता चप्पलबाट वरिपरि तथा घरभित्र संक्रमण पुग्छ । रसाएको फोहोर पानी तथा अन्य जीवजन्तुबाट पानीका स्रोतहरू पनि संक्रमित हुन्छन् । जसबाट कीटजन्य, पानीजन्यलगायत संक्रमणहरूले महामारीको रूप लिन सक्छन् ।

यसका कारण काठमाडौंवासी जण्डिस, हैजा, झाडापखाला, आऊँ, हेपाटाइटिस, टायफाइड, छालाजन्य तथा एलर्जिक समस्या, मौसमी रोगहरू जस्तै शीतलहर र विभिन्न फ्लुलगायत प्रकोपको शिकार बन्न पुग्ने खतरा बढेको छ । सडक, चोक र गल्लीको फोहोर सभ्य समाजका लागि लाज हो । प्रत्येक घर, अस्पताल, कारखाना, संघसंस्थाहरूले आफ्नो फोहोर आफैं जम्मा गरेर व्यवस्थापन गर्ने जिम्मेवारी लिनुपर्छ । फोहोर व्यवस्थापन प्रत्येक नागरिकको कर्तव्य हो । शहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौंको गोर्कणेश्वर नगरपालिकाले घरघरबाट निस्कने फोहोरलाई धुवाँरहित रूपमा जलाउने जापानी प्रविधिको इन्सिनरेटर जडान गरी आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरु गरेको जनाएको छ ।

धुवाँलाई मेसिनभित्रै फिल्टर गरेर शुद्धीकरण गरी मानिसले प्रयोग गर्न सक्ने बाफको रूपमा बाहिर फाल्छ । कुहिने र नकुहिने दुवै फोहोर सुकाएर जलाएर खरानी बनाउन सक्छ । फोहोरलाई पुनः प्रयोग, पुनर्निर्माण र कम गर्नेगरी तीन भागमा विभाजन गर्दै शून्य फोहोर र थ्रिआर-रिडक्सन, रियुज र रिप्रोडक्ट सिद्धान्तमा आधारित भएर प्लान्ट बनाइनु जरुरी छ । यसका लागि काठमाडौं महानगरपालिकाले पनि बेलैमा उपायहरू खोज्नु जरुरी छ । महानगरले सिसडोल र बञ्चरेडाँडा पर्खेर समस्याको समाधान नहुँने हुँदा गोर्कणेश्वर नगरपालिकाले जस्तै वैकल्पिक उपयहरू अवलम्बन गर्नु आवश्यक छ ।

यसरी काठमाडौंलाई फोहोरमुक्त शहरका रूपमा हेर्न लायक बनाउने र मेयर बालेनले विजयउत्सवमा नलगाएको माला चाँडै लगाउने वातावरण बनाउनुपर्छ भन्ने हाम्रो मत हो । तर, काठमाडौंको फोहोर व्यवस्थापन गरेर मेयरले माला लगाउन कति समय लाग्ला ? त्यो भने मेयर साहकै हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?