कहिले आउला मेयर बालेनको माला लाउने दिन ?

Read Time = 13 mins

✍️ जीवन शर्मा
स्थानीय तह निर्वाचन २०७९ मा केही स्वतन्त्र व्यक्तिहरू चर्चाको चुलीमा पुगे । चुनावको केही महिनाअघि मात्रै काठमाडौं महानगरपालिकाको मेयर बन्ने घोषणा गरेका बालेन्द्र साह (बालेन) चुनावपछि महानगर प्रमुखको कुर्सीमा छन् । त्यस्तै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पनि स्वतन्त्रबाटै जितेका हुन् भने धनगढीका गोपाल हमाल पनि स्वतन्त्र उम्मेदवार उठेर मेयर बनेका हुन् । हमाल विवेकशील साझा पार्टीमा आबद्ध भए पनि स्वतन्त्र उम्मेदवारी दिएर मेयर बनेका हुन् तर बालेन र हर्क भने कुनै दलमा आबद्ध थिएनन् ।

हर्क सुशासन अभियान्ता हुन् भने बालेन इन्जिनियर हुन् । यी दुवैले जनतामाझ लोकप्रिय एजेण्डाहरू लिएर पुगेका थिए । बालेनले काठमाडौंको फोहोर व्यवस्थापन, सुशासन र सहज सेवा प्रवाहको एजेण्डा बोकेर मतदाताका माझ जाँदै गर्दा धनकुटाका हर्क राईले पनि सुशासन र खानेपानीको समस्या समाधान गर्ने योजनालाई प्राथमिकता दिएका थिए ।

गोपालका एजेण्डा भने खासै चर्चामा आएनन् । स्वतन्त्रबाटै जिते पनि उनलाई दलका नेताहरूले स्वतन्त्र व्यक्तिको रूपमा हेर्ने गरेका छैनन् । दलहरूले नै सहयोग गरेर चुनाव जिताएकोे सिनियर नेताहरूले चर्चा गर्दै आएका छन् । नितान्त स्वतन्त्र उम्मेदवार बनेर देशका ठूला शहरमा ठूला दलहरूलाई हराउँदै मेयर बनेका काठमाडौं महानगरका मेयर बालेनलाई देशका ठूला साना सबै मिडियाले निरन्तर सहयोग गरिरहे, उनका एजेण्डा जनतामाझ पु¥याइदिइरहे भने हर्क मिडियाको नजरमा खासै पर्न सकेनन् । उनका एजेण्डा मिडियाको नजरमा छायाँमा परेपनि जनतालाई एक्लै सुनाइरहे । फलस्वरूप देशभरको ध्यान तानिएको काठमाडौं र धरानमा यिनै स्वतन्त्रको जित भयो ।

देशका ठूला शक्ति भनिएका कांग्रेस-एमालेका नेताहरूले नै हार व्यहोर्नु पर्‍यो । दलहरूका लागि यो सिकाइको विषय बनेको नेताहरूले स्वीकार गरेका छन् । नवनिर्वाचित जनप्रतिनिधिले काम सुरु गरिसकेका छन् । यो निर्वाचनमा पाँच वर्षमा राम्रो काम गर्नेहरू दोहोरिए भने जनताको नजरमा काम नगरेकाले पुनः निर्वाचित हुन सकेनन् । पुनः दोहोरिन चाहने धेरैका लागि यो निर्वाचन अभिसाप बन्यो । उनीहरूको पाँच वर्षे कार्यकालको मूल्यांकन जनताले मतबाट गरे । नवनिर्वाचित जनप्रतिनिधिले आगामी दिनमा यसलाई सिकाइको विषय बनाउनुपर्छ ।

अहिलेका अधिकांश जनप्रतिनिधिले निर्वाचनमा धेरैले लोकप्रिय तर कार्यान्वयन नहुने विषयलाई प्रतिबद्धतापत्र मार्फत उठाएका छन् । जसको कार्यान्वयन हुन सकेन भने पाँच वर्षपछि जनअदालतमा हाजिर हुँदा गर्ने जनताको फैसलाले फेरि जनसेवामा नफर्क भन्ने निर्णय गर्नसक्ने कुरालाई पनि हेक्का राख्नुपर्ने हुन्छ । फोहोर व्यवस्थापन, यातायात व्यवस्थापन, सार्वजनिक शौचालय र सुन्दर नगरको परिकल्पना जनतामाझ लगेर काठमाडौं महानगरपालिकाको मेयर जितेका बालेन साहले सिसडोल, बञ्चरेडाँडालगायत फोहोर व्यवस्थापन र डम्पिङ साइटको अवलोकण भ्रमण गरिसकेका छन् । अनुगमनका क्रममा मेयर साहलाई स्थानीयले केही आक्रोश पनि पोखे ।

काठमाडौंको फोहोर व्यवस्थापनको मुख्य समस्या ल्याडफिल्ड साइड अभाव नै हो । सिसडोल र बञ्चरेडाँडामा फोहोर लैजान नदिने भन्दै वर्षैदेखि स्थानीयहरू आन्दोलनरत छन् । यस पटक पनि मेयरलाई स्थानीयले अवरोध गर्न खोजे तर त्यसको विकल्पसहित प्रस्तुत भएको भन्ने मेयर बालेनको अभिव्यक्तिप्रति नागरिक केही हदसम्म साम्य भए । तत्काल वैकल्पिक व्यवस्था के हो त भन्न सक्ने अवस्था छैन । राजधानीमा फोहोरको डंगुरले बसिनसक्नु भइसकेको छ ।

फोहोर नउठाएको हप्तौं भइसकेको छ । गत जेठ १३ गते महानगरमा निर्वाचित मेयर र उपमेयरले पहिलो साताभित्र काठमाडौंको फोहोर व्यवस्थापन गरिसक्ने घोषण गरेका थिए । फोहोर व्यवस्थापन नगरी मेयरमा विजयी भएको माला नलाउने प्रतिज्ञा गरेका मेयर साहले दशतिर भौंतारिँदासमेत फोहोर व्यवस्थापनको गतिलो उपाए अझै भेटेका छैनन् ।

मेयरले माला लगाउने दिन कहिले आउँछ ? भनेर काठमाडौंवासीले प्रश्न गर्न थालेका छन् । फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज भएकाले शहरमा दैनिक फोहोरको डंगुर बढिहरेको छ । सडकपेटीहरू दुर्गन्धित भएका छन् । फोहोरकै कारण रोगको संक्रमण फैलन सक्ने त्रास शहरबासीमा बढेको छ । मेयरमा विजेता घोषित भएपछि काठमाडौं महानगरलाई विश्वमै सुन्दर, सभ्य र विकसित बनाउने आफ्नो लक्ष्यमा पुग्न काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका साहलाई फोहोर व्यवस्थापनमै कठिन हुने देखिएको छ । ठूला होटल र रेस्टुरेन्टहरूका शौचालयलाई सार्वजनिक शौचालयका रूपमा विकास गराउने उनको योजना कार्यन्वायनको चरणमा छन् ।

राज्य पुनर्संरचनापछि ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २ सय ७६ नगरपालिका गरी २ सय ९३ शहर घोषणा भएका र करिब ६५ प्रतिशत जनता शहरमा बसोबास गर्न थालेका छन् । देशमा आठवटा राजधानी बनेका छन तर मापदण्ड र आवश्यक पूर्वाधार शून्य छ । यी शहरहरूको समस्या पनि उस्तै रहेका छन्, तर सबैभन्दा बढी जनघनत्व भएको शहर कामाडौंमा पहिलो चुनौतीको रूपमा देखापरेको फोहोर व्यवस्थापनको विषयले नवनिर्वाचित मेयर बालेन साहमाथि ठूलो संकट आइलागेको छ । बाहिर हुँदा जसरी जनताको अवस्था र आवश्यकताको पहिचान गरी जिम्मेवारीमा रहेकालाई गाली गर्न र जनताको आवाज उठाइदिन सजिलो हुन्छ जिम्मेवारी पूरा गर्ने तहमा पुगेपछि व्यवस्थापन र कार्यान्वायन त्यत्तिकै चुनौतीपूर्ण खेप्नुपर्ने बालेनले अहिले महसुस गर्नथालेका होलान् ।

चुनावी मैदानमा जाँदै गर्दा नेताहरूले अरूले गर्न नसकेका कुरालाई खोट्याउने र आफूले सबै समस्या हल गर्छु भन्ने हुंकारका साथ लागेका हुन्छन् । मेयर साहको योजना, प्रतिबद्धता र कामको सुरुवाती चरणमै टिप्पणी गरिहाल्दा अलि हतारो होला तर बालेनलाई पनि यही समस्याले ग्रस्त बनाएको हुन सक्छ । उनको दृष्टिकोण र योजना काठमाडौं महानगरपालिकाका लागि आफैंमा उत्कृष्ट छन् । तर यसको कार्यन्वायनका चुनौतीको सामना गर्नसक्ने सामथ्र्य उनीसँग छ कि छैन समयले बताउँला । खैर उनको सुरुकै प्रस्तुति र कार्यशैली त्यति पाको थिएन भन्न सकिन्छ ।

दलीय व्यवस्थामा स्वतन्त्र उम्मेदवार भएर मेयर जितेका साहले कुन दलका को-कोसँग कसरी समन्वय गर्ने र दलीय आधारमा आएका कार्यपालिका सदस्य (वडा अध्यक्ष) हरूलाई कसरी मिलाएर आफ्ना एजेण्डाहरू कार्यपालिकाबाट पास गराउने भन्ने चुनौती पनि उनीमाथि छँदैछ । सुरुमै उनले फोहोर प्रशोधन मेसिन ल्याउने प्रस्ताव गरे पनि तत्काल सडकमा थुपारिएको फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने उपाए निकाल्न सकेका छैनन् । गर्मी तथा वर्षायाममा फोहोरको डंगुरबाट झिंगा, लामखुट्टे, मुसा, चरा तथा गाडीका पांग्रा, जुत्ता चप्पलबाट वरिपरि तथा घरभित्र संक्रमण पुग्छ । रसाएको फोहोर पानी तथा अन्य जीवजन्तुबाट पानीका स्रोतहरू पनि संक्रमित हुन्छन् । जसबाट कीटजन्य, पानीजन्यलगायत संक्रमणहरूले महामारीको रूप लिन सक्छन् ।

यसका कारण काठमाडौंवासी जण्डिस, हैजा, झाडापखाला, आऊँ, हेपाटाइटिस, टायफाइड, छालाजन्य तथा एलर्जिक समस्या, मौसमी रोगहरू जस्तै शीतलहर र विभिन्न फ्लुलगायत प्रकोपको शिकार बन्न पुग्ने खतरा बढेको छ । सडक, चोक र गल्लीको फोहोर सभ्य समाजका लागि लाज हो । प्रत्येक घर, अस्पताल, कारखाना, संघसंस्थाहरूले आफ्नो फोहोर आफैं जम्मा गरेर व्यवस्थापन गर्ने जिम्मेवारी लिनुपर्छ । फोहोर व्यवस्थापन प्रत्येक नागरिकको कर्तव्य हो । शहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौंको गोर्कणेश्वर नगरपालिकाले घरघरबाट निस्कने फोहोरलाई धुवाँरहित रूपमा जलाउने जापानी प्रविधिको इन्सिनरेटर जडान गरी आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरु गरेको जनाएको छ ।

धुवाँलाई मेसिनभित्रै फिल्टर गरेर शुद्धीकरण गरी मानिसले प्रयोग गर्न सक्ने बाफको रूपमा बाहिर फाल्छ । कुहिने र नकुहिने दुवै फोहोर सुकाएर जलाएर खरानी बनाउन सक्छ । फोहोरलाई पुनः प्रयोग, पुनर्निर्माण र कम गर्नेगरी तीन भागमा विभाजन गर्दै शून्य फोहोर र थ्रिआर-रिडक्सन, रियुज र रिप्रोडक्ट सिद्धान्तमा आधारित भएर प्लान्ट बनाइनु जरुरी छ । यसका लागि काठमाडौं महानगरपालिकाले पनि बेलैमा उपायहरू खोज्नु जरुरी छ । महानगरले सिसडोल र बञ्चरेडाँडा पर्खेर समस्याको समाधान नहुँने हुँदा गोर्कणेश्वर नगरपालिकाले जस्तै वैकल्पिक उपयहरू अवलम्बन गर्नु आवश्यक छ ।

यसरी काठमाडौंलाई फोहोरमुक्त शहरका रूपमा हेर्न लायक बनाउने र मेयर बालेनले विजयउत्सवमा नलगाएको माला चाँडै लगाउने वातावरण बनाउनुपर्छ भन्ने हाम्रो मत हो । तर, काठमाडौंको फोहोर व्यवस्थापन गरेर मेयरले माला लगाउन कति समय लाग्ला ? त्यो भने मेयर साहकै हातमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
डोलेश्वर महादेवमा साउन १ देखि ३८ दिने श्रावणी मेला, सम्पूर्ण तयारी पूरा ड्युटीमा फर्किए महानगर प्रहरी, जथाभावी पार्किङविरुद्ध कारबाही सुरु राष्ट्र बैंकद्वारा एक खर्ब रुपैयाँ निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान एलपी ग्यास वितरणलाई प्रविधिमैत्री बनाउन सभापति अन्सारीको माग, ‘एकीकृत प्रणाली तत्काल लागू… उचित मूल्यको माग गर्दै किसानले माइतीघरमा टमाटर फाले, सरकारविरुद्ध प्रदर्शन रौतहटका २८ वर्षीय युवाद्वारा आत्म*दाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष… आउटसोर्सिङको विरोधमा १८ मन्त्रालयका करार कर्मचारी सिंहदरबार अगाडि धर्नामा ‘प्रि-आईपीओ’का नाममा हुने अवैध कारोबारमाथि कारबाही हुन्छ : सेबोन अध्यक्ष डा. भट्ट एआईदेखि साइबर सुरक्षासम्म: टेकपाइलाको लाइभ डेमोले विद्यार्थीमा बढायो आकर्षण