खानेपानीको हाहाकार मेटाउन कांग्रेस नेता लुइटेलको सहयोग

हिमालय टाइम्स
Read Time = 4 mins

-जीवन शर्मा

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ बलखुस्थित भिरगाउँमा पिउने पानीको चरम अभाव थियो । नजिकै पानीको मुहान नहुँदा पानीको चरम अभाव खेप्नु परेका करिव ५० घर परिवारलाई पिउने पानीको व्यवस्था मिलाउन नेपाली कांग्रेसका नेता कुमार लुइटेलले सहयोग गर्नुभयो ।

लुइटेलको विशेष सहयोगमा करिव १० किलोमिटर टाढा ढाँडखोलाबाट पाइपबाट पानी ल्याएर पिउने पानीको समस्या टारेको स्थानीय उभोक्ताहरूले बताएका छन् । ‘सुनकोशी गाउँपालिकाको सहयोगमा पाइप व्यवस्थापन र कुमार लुइटेलको सहयोगमा ट्याङकी निर्माण गरियो’, भिरगाउँका खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर मगरले भन्नुभयो, ‘अहिले खानेपानीको समस्या टरेको छ, पुरै गाउँका उपभोक्तालाई नपुगेपनि ५० घर परिवारले पिउने पानी टाढाबाट बोक्नु नपर्ने भएको छ ।’

उक्त योजनाका लागि तीन लाख रकम सहयोग गरेको लुइटेलले बताउनुभयो । रुपनगर सप्तरी स्थायी घर भइ हाल क्यानडामा व्यवसाय गर्दै आउनुभएका फडिन्द्र श्रेष्ठ समेतको आर्थिक सहयोगमा गाउँमा खानेपानीको समस्या समाधान गरिएको उहाँको भनाइ छ । समाजसेवामा विशेष रुची हुनुभएका श्रेष्ठले लुइटेलको अनुरोधलाई स्वीकार गरी दुर्गम गाउँमा खानेपानीको अभाव पूर्ति गर्न आर्थिक सहयोग गर्नुभएको हो । अहिले पाँच मिटर तलबाट पानी बोक्ने बाध्यता टरेको भन्दै स्थानीयमा खुसी छाएको छ ।

५० घरधुरी मगर समुदाय रहेको भिरगाउँमा अहिले १९ हजार लिटरको ट्याङकी बनाएर स्थानीयलाई पिउने पानी वितरण गरिएको उपभोक्ता समितिका सचिव नैनबहादुर लुंगेली मगरले जानकारी दिनुभयो । यो योजना नहुँदा स्थानीयले पाँच सय मिटर भन्दा तल रहेको (पधेरो) मुहानबाट पानी बोकेर पिउन बाध्य थिए । गाइबस्तुलाई पानी खुवाउनसमेत निकै समस्या भएको मगरको भनाइ छ ।

विगतमा पनि लुइटेलका पहलमा माननीय स्व. बलबहादुर राईको संसदीय क्षेत्र विकास कोष, जिल्ला भूसंरक्षण कार्यालय समेतबाट मुहान संरक्षणका लागि बजेट व्यवस्था गरिएको थियो । त्यस पश्चात बैकल्पीक उर्जा कार्यालय ओखलढुंगाको सहयोगमा लिफ्टीङ गरेर करिव दुई सय माथि पु¥याइएको थियो । उक्त पानीको श्रोत विश्व जलवायु परिवर्तनको असरका कारण विस्तारै सुक्दै गएपछि स्थानीयले खानेपानीको चरम अभाव खेपिरहेका थिए ।

ओखलढुंगाको विकास निर्माण र मानविय सहयोगमा निरन्तर लागिरहनुभएका लुइटेलले दुर्गमका नागरिकको खानेपानी समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्थानीयले बताएका छन् । यो योजनाका लागि पटक पटक विभिन्न निकायसँग समन्वय गरेर सहयोग जुटाएको र भिरगाउँबासीको पिउने पानीको दुख मेटाउन सम्भव भएको नेपाली कांग्रेस प्रदेश १ कार्यसम्पादन समिति सदस्यसमेत रहनुभएका लुइटेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?