यात्रुबाट तेब्बर भाडा असुल्दै यातायात व्यवसायी

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेका यातायात व्यवसायीले आफूखुसी मनपरी भाडा असुल्दा यात्रु मारमा परेका छन् ।

इन्धनको मूल्यवृद्धि भएको भन्दै दक्षिण हुम्लाका तीन गाउँपालिकामा सञ्चालन हुने सवारीसाधनले मनपरी भाडा असुलिरहेका हुन् । घर पुग्नुपर्ने बाध्यताका कारण आफूहरू उक्त भाडा बुझाउन बाध्य भएको गुनासो यात्रुहरूले गरेका छन् ।

कर्णाली करिडोरको हुम्लाखण्डको सलीसल्लादेखि कवाडी र बाजुराको कोल्टीसम्म यातायात व्यवसायीले निर्धारित भाडादरभन्दा तेब्बर असुल्ने गरेको खुलासा भएको छ । दक्षिण भेकका ताँजकोट, अदनुचुली, सर्केगाड र चंखेली गाउँपालिकाका खडकखण्डमा तेब्बर भाडा असुली गरिरहेको यात्रुहरूको गुनासो छ । आवश्यक कामको लागि सहज आवतजावत हुने वातावरण बनाइनुपर्ने भएपनि यात्रुले सडक र सवारीमा अत्यन्तै धेरै सास्ती व्यहोर्न बाध्य भएको ताँजकोट स्थानीय राजेन्द्र परियारले गुनासो गर्नुभयो ।

सर्केगार्ड र चंगेली गाउँपालिकाको सीमाना सलीसल्लादेखि बाजुराको कोल्टीसम्म गाडी भाडा दुई हजार दुई सय तिर्नुपरेको यात्रु जानकी ऐडीले बताउनुभयो । उक्त खण्डको लम्बाइ ६८ किलोमिटर रहेको छ । उहाँले प्रतिकिलो मिटर ३२ रुपैयाँभन्दा बढी भाडा तिर्नु परेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सीता परियारको संयोजकत्वमा बसेको बैठकले अस्थायी रुट परमिट कायम र त्यसको भाडादर यातायात व्यवस्था कार्यालय सुुर्खेतलाई प्रतिकिलोमिटर १० रुपैयाँ दर कायम गर्ने निर्णय थियो । सरकारी नियम अनुसार प्रतिकिलोमिटर भाडादर कायम गर्दा उक्त खण्डको ६८० रुपैयाँ हुन आउँछ । सरकारी दररेट भएता पनि निजी यातायात व्यावसायहरूले मनपरी रूपमा तेब्बरभन्दा बढी असुली रहेको ऐडीले बताउनुभयो ।

यसअघि उक्त खण्डमा यातायातका साधनहरूले प्रतियात्रु एक हजार ६ सय रुपैयाँ लिने गरेको थिए । संयुक्त बुकिङ काउण्टर सलीसल्लाले एक सूचना प्रकाशित गरी सलीसल्लाबाट बाजुराको कोल्टी लगायतका ११ स्थानको नयाँ भाडा कायम गरेको छ । सार्वजनिक गरेको सूचना अनुसार सलीसल्लाबाट बाख्रेसम्म एक सय, खच्चा दुई सय, बालुकुना चार सय, मकै पाँच सय, दोमुख एक हजार, पैमा एक हजार एक सय, कवाडी एक हजार दुई सय भाडा निर्धारण गरिएको छ । त्यसैगरि सलीसल्लाबाट बाजुराको धुलाचौर एक हजार सात सय, पिलु दुई हजार र कोल्टी दुई हजार दुई सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

यातायात व्यवसायीले पटक–पटक इन्धनको मूल्यवृद्धि हुनु र कच्ची सडकमा गाडी गुड्ने भएको कारण भाडादर वृद्धि गर्नु परेको बताउँदै आएको छ । स्थानीय प्रहरी प्रशासन र सडक कार्यालयको चरम लापरवाहीका कारण गरीब जनताले गाडी चढ्न नपाएको स्थानीयको गुनासो छ । ग्रामीण क्षेत्रमा चल्ने साना जिप र बोलेरोलगायत सवारीले निर्धारितभन्दा तेब्बर बढीसम्म भाडा लिइरहेका हुन् । अहिले दुर्गम गाउँसम्म कच्ची सडक भने पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?