निमा र दीपक वल्र्ड गेम्समा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली उसु खेलाडी निमा घर्तीमगर र दीपक हमालले वल्र्ड गेम्स २०२२ मा प्रतिस्पर्धा गर्ने हुनुभएको छ । जुलाई ७ देखि १७ तारिखसम्म अमेरिकाको ब्रमिङ्घमको अलाबामामा हुने प्रतियोगितामा नेपालबाट निमा र दीपकले प्रतिस्पर्धा गर्न लाग्नुभएको हो ।

नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता निमा र दीपक आयोजकबाटै छनोट भएको नेपाल उसु महासंघले जनाएको छ । उहाँहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र विश्व वरीयताका आधारमा विश्व उसु महासंघ र वल्र्ड गेम्स फेडेरेसनले छनोट गरेको नेपाल उसु महासंघका महासचिव लाक्पाछिरिङ लामाले जानकारी दिनुभयो । ‘वल्र्ड गेम्समा दक्षिण एसियाका नेपाल र भारतमात्रै छनोट भएका छन् । उसुमा भारतले एउटा कोटा पाउँदा नेपालले भने दुईवटा कोटा पाएको छ,’ महासचिव लामाले भन्नुभयो, ‘यो हाम्रा लागि गौरवको विषय हो ।’

भारतमा भएको १२औँ सागमा स्वर्ण जित्नुभएकी निमाले १४औँ तथा १५औँ उसु वल्र्ड च्याम्पियनसिपमा पनि सहभागिता जनाउनुभएको थियो । यसैगरी एसियन ट्रेडिसनल उसु च्याम्पियनसिप २०२१ मा कास्य र आइडब्लुयुएफ थाउलो भर्चुअल च्याम्पियनसिप २०२१ मा रजत पदक जित्नुभएको थियो ।

दीपकले १४औँ तथा १५औँ उसु वल्र्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नुभएको थियो । प्रतियोगितामा सहभागी ५६ देशका खेलाडीमध्ये उहाँ उत्कृष्ट नौमा पर्नुभएको थियो । यसैगरी एसियन ट्रेडिसनल उसु च्याम्पियनसिप २०२१ मा दीपकले पनि कास्य पदक जित्नुभएको थियो । यही नतिजाका आधारमा निमा र दीपक वल्र्ड गेम्सका लागि छनोट हुनुभएको महासचिव लामाले बताउनुभयो ।

निमा र दीपक दुवै थाउलोका खेलाडी हुनुहुन्छ । वल्र्ड गेम्समा निमाले नानकुन नानदाउ अलराउन्ड र दीपकले नानकुन नानगुन अलराउन्डमा प्रतिस्पर्धा गर्नुहुनेछ । निमाको समूहमा पाँच र दीपकको समूहमा सातजना खेलाडी पर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?