नेपाल जोर्डनसँग पराजित

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपाल जोर्डनसँग २–० गोलअन्तरले पराजित भएको छ । कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जोर्डनलाई पहिलो हाफमा नेपालले बराबरीमा रोके पनि दोस्रो हाफमा दुवै गोल बेहोर्‍यो ।

पहिलो हाफमा गोलरक्षक दीप कार्कीले पेनाल्टी जोगाउँदै नेपाललाई उत्साह जगाउनुभएको थियो । तर, दोस्रो हाफमा नेपालले दबाब थाम्न सकेन । पहिलो हाफको अन्त्यतिर गौतम श्रेष्ठले जोर्डनका मोहमद फैसललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । मुसा मोहमद सुलेमानले प्रहार गरेको पेनाल्टी डेब्यु खेल खेलिरहनुभएका दीपले जोगाउनुभयो ।

खेलको अन्तिम २० मिनेटमा भने नेपालले दुई गोल बेहोर्‍यो । ६९औँ मिनेटमा जोर्डनले सुरुवाती अग्रता लियो । अलि ओल्वानको गोलमा नेपाल पछि प¥यो । उहाँले पेनाल्टी एरियाबाट गोल गर्नुभएको थियो । ८२औँ मिनेटमा जोर्डनले खेलको दोस्रो पेनाल्टी पायो । सुमन अर्यालले पेनाल्टी क्षेत्रभित्र फउल गरेपछि जोर्डनले पाएको पेनाल्टीमा हम्जा अल दार्दरले गोल गर्दै जोर्डनको अग्रता दोब्बर पार्नुभयो ।

यसअघि समूह ‘ए’ को पहिलो खेलमा इन्डोनेसियाले कुवेतलाई २–१ ले स्तब्ध पारेको थियो । यस नतिजासँगै नेपाल अंक तालिकाको पुछारमा रहेको छ । तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट पाँचभित्र दोस्रो हुने टोलीले पनि सन् २०२३ मा चीनमा हुने एसियन कपमा सहभागिता जनाउन पाउनेछ ।

दोस्रो खेलमा नेपालले अब जुन ११ मा कुवेतको सामना गर्नेछ भने जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको मनमुटावपछि नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङसहित सिनियर ११ खेलाडीहरू नेपाली टोलीमा छैनन् ।

युवा खेलाडीहरूको बाहुल्यता रहेको टोलीको कप्तानी नवयुग श्रेष्ठले गर्दै हुनुहुन्छ । नेपाली टोलीको गोलरक्षकमा दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा, डिफेन्डरमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल, मिडफिल्डरमा आकाश बुढा मगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल र सुरज ज्यू ठकुरी र फरवार्ड आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ हुनुहुन्छ ।

मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छोडेका थिए । उक्त विरोध गर्ने रोहित चन्दसँगै बन्द प्रशिक्षणमा अनुपस्थित सिनियर खेलाडीहरू सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुमन लामालाई टोलीबाट हटाइएको थियो । तत्कालीन कप्तान किरण चेम्जोङले पनि असन्तुष्टि जनाएपछि उहाँलाई पनि टोलीबाट बाहिर राखिएको छ ।

भारतको जित
यस्तै भारतले छनोटअन्तर्गत समूह ‘डी’ मा विजयी सुरुवात गरेको छ । पश्चिम बंगालमा बुधबार राती भएको खेलमा कप्तान सुनिल क्षेत्रीले पहिलो र दोस्रो हाफमा गोल गरेपछि भारतले कम्बोडियालाई २-० ले पराजित गरेको हो ।

भारतले खेलको १४औँ मिनेटमा सुनिलको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । त्यसपछि ६०औँ मिनेटमा सुनिलले दोस्रो गोल गर्नुभयो । योसँगै भारतका लागि १२७ खेल खेल्नुभएका सुनिलले भारतका लागि ८२ अन्तर्राष्ट्रिय गोल गरिसक्नुभएको छ । उहाँ विश्वको सर्वाधिक गोलकर्ताको सूचीमा छैटौँ स्थानमा हुनुहुन्छ । उहाँभन्दा अघि क्रिस्टियानो रोनाल्डो (११७), अली दाइ (१०९), मोख्तर दाहरी (८९), लियोनल मेस्सी (८६) र फेरेन्क पुस्कास (८४) गोलसहित अघि हुनुहुन्छ ।

यही समूहको अर्काे खेलमा हङकङले अफगानिस्तानलाई २–१ गोलअन्तरले पराजित ग¥यो । हङकङको जितमा वाइ ओङ र म्याथ्यिउ एलिओटले गोल गर्दा अफगानिस्तानका फर्साद नुरले एक गोल फर्काउनुभयो । यो नतिजापछि समूह ‘डी’ मा भारत र हङकङको समान तीन अंक भए पनि भारत शीर्ष तथा हङकङ दोस्रो स्थानमा रहेका छन् । अंकविहीन अफगानिस्तान र कम्बोडिया तेस्रो र चौथो स्थानमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?