अमेरिकी सेनाका वरिष्ठ जर्नेल नेपालमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अमेरिकी सेनाका वरिष्ठ जर्नेल चाल्र्स एफ्लीन नेपाल आइपुग्नु भएको छ । अमेरिकी सेनाका एसिया-प्रशान्त क्षेत्र प्रमुख एफ्लीन चारदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नु भएको हो । बिहीबार दिउँसो इन्डियो एयरलाइन्स नयाँदिल्लीबाट प्रमुख एफ्लीन काठमाडौं आइपुग्नु भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीले स्वागत गर्नुभएको थियो ।

त्यस्तै, शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी जनरलबीच भेटवार्ता हुँदै छ । प्रधान सेनापतिले सैनिक जनरलको सम्मानमा शुक्रबार रात्रिभोजको आयोजना पनि गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र प्रधानसेनापति शर्मा शान्ति सैनिकहरू तैनाथ रहेका मुलुक हुँदै अमेरिका भ्रमण जानुपूर्व फ्लीनको भ्रमण भएको छ ।

उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रूपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

एफ्लीनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । नेपालमा पछिल्लो समय अमेरिकी उच्च पदस्थ व्यक्तिहरूको आगमन बाक्लिएको छ । अमेरिकी उपमन्त्री उज्रा जियाको पछिल्लो भ्रमणपछि अमेरिकी सेनाका वरिष्ठ जर्नेलको नेपाल भ्रमण भएको हो । यसअघि यही महिनाको ९ देखि ११ सम्म सेनेटर क्रिष्टन जिलिब्राण्डको नेतृत्वमा पाँच सदस्यीय सांसदहरूको टोलीले नेपालको भ्रमण गरेको थियो ।

वैशाख ६ देखि ८ सम्म दक्षिण तथा मध्यएसिया मामिला हेर्ने उपसहायक विदेशमन्त्री केली केइडरलिङले नेपालको भ्रमण गर्नुभएको थियो । त्यसअघि नेपालले फागुन १५ मा एमसिसी अनुमोदन गर्नुअघि दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालको भ्रमण गर्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला प्रमुख एफ्लीन नेपाल भ्रमणमा आउनुले यसलाई महत्वपूर्ण रूपमा हेरिएको छ । नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठको अवसरमा उच्च तहमा विभिन्न उच्चपदस्थ पदाधिकारीहरूको भ्रमण हुनेकुरा दुवै देशले दाबी गर्दै आइरहेका छन् । दुवै देशका कूटनीतिक अधिकारीहरूले यो बीचमा दुवै देशका उच्च पदस्थ पदाधिकारीहरूको भ्रमणलाई विशेष चासोका साथ लिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?