कांग्रेसको चुनावी मूल्यांकन प्रतिवेदन सार्वजनिक, स्थानीय निर्वाचनमा हरेक कोणबाट कांग्रेस पहिलो दल

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा पहिलो पार्टी बनेको दाबी गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाली कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तर्गतको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिले वडाध्यक्षको मतका आधारमा कांग्रेस नेपालको पहिलो पार्टी रहेको निष्कर्षसहितको प्रतिवेदन बिहीबार सार्वजनिक गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य एवं उपसमितिका संयोजक प्रदीप पौडेलले उक्त प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । उहाँले पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई छुट्टाछुट्टै रूपमा प्रतिवेदन बुझाउनुभएको हो ।
नेता पौडेलले प्रतिवेदनमा गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा कांग्रेसको मुख्य प्राप्ति र निष्कर्ष समेट्नुभएको छ । जसमा वडागत रूपमा मत विश्लेषण गर्दा मत र पद दुवैमा कांग्रेस पहिलो भएको छ । कांग्रेसले ७५२ मध्ये ३२९ पालिका (१८८ अध्यक्ष र १४१ प्रमुख)को नेतृत्व हात पारेको छ । तीन सय पालिकामा (१९० उपाध्यक्ष र ११० उपप्रमुख) कांग्रेसको प्रतिवेदनमा उल्लेख छ । कांग्रेसले अहिलेसम्म १६६५ वडाध्यक्ष जितेको छ ।

कांग्रेसका वडा अध्यक्षका उम्मेदवारले पाएको मत ३८ लाख ८३ हजार १३८ रहेको छ । प्रदेशगत रूपमा पनि कांग्रेस पहिलो दल बनेको छ । सातै प्रदेशमा पहिलो भएको कांग्रेस बागमती र कर्णालीमा एमालेभन्दा दोब्बर बढी पालिका प्रमुख जित्न सफल भएको छ । ०७४ मा भएको स्थानीय निर्वाचनभन्दा यसपटक मत र पद दुवैमा कांग्रेसले प्रगति गरेको निष्कर्ष निकालिएको छ । ७४ मा जितेको २६६ पालिकामध्ये यसपटक १४० मा कांग्रेसको नेतृत्व दोहोरिएको छ ।

कांग्रेस बलियो भएका स्थानमा पनि आन्तरिक कमजोरी देखिएकाले कांग्रेसले केही स्थानमा हार्नुपरेको प्रतिवेदनमा उल्लेख छ । आन्तरिक कमजोरी व्यवस्थापन चुस्त भएको अवस्थामा र गठबन्धनलाई थप कसिलो बनाएको भए ४५० तह जित्न सकिने दाबी प्रतिवेदनमा छ । ‘महानगर र उपमहानगरको नतिजा सन्तोषजनक भएन । हाम्रो समितिले पार्टीले दिएको जिम्मेवारीअनुसार काम गरे । यो प्रतिवेदन तथ्यमा आधारित छ । त्यसकारण पार्टीले यसलाई कार्यान्वयन गर्छ, केन्द्रीय समितिमा यसबारेमा छलफल हुन्छ,’ प्रतिवेदन सार्वजनिक गर्दै पौडेलले भन्नुभयो ।

विगतमा जितेको १२५ पालिकाको नेतृत्व भने कांग्रेसले गुमाएको छ । यस्तै, उसले ०७४ मा नजितेको १८९ पालिका जित दर्ता गराएको छ । २०७४ र २०७९ मा दुवैमा पराजित वा उम्मेदवारी नदिएको स्थानीय तहको संख्या २९८ रहेको पौडेलको प्रतिवेदनमा उल्लेख छ ।

पार्टी भित्रको फरक धारणाले निर्वाचनमा गठबन्धन प्रभावकारी भएन : पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र देखिएको फरक धारणाका कारण स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी नभएको टिप्पणी गर्नुभएको छ । बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पौडेलले पार्टीभित्रै फरक-फरक धारणा रहेकाले गठबन्धन प्रभावकारी हुन नसकेको बताउनुभएको हो । उहाँले पार्टी भित्रकै सम्पूर्ण शक्ति पार्टीलाई जिताउनका लागि नलागेको पनि बताउनुभयो । उहाँले गठबन्धनको कारणले कांग्रेसको परिणामलाई घटाएको र घाटा भएको निष्कर्ष पार्टीको नरहेको स्पष्ट पार्नुभयो ।

केन्द्रीय सदस्य पौडेलले महानगरपालिका र उपमहानगरपालिकाको हकमा केन्द्रीय तहबाटै गठबन्धन गर्ने निर्णय गर्नुले परिणाम दिन नसकेको बताउनुभयो । उहाँले स्थानीय परिस्थितिजन्य गठबन्धन नभएका कारण महानगर र उपमहानगरपालिकामा अपेक्षाकृत नतिजा आउन नसकेको उल्लेख गर्नुभयो । आगामी दिनमा गठबन्धन गर्दा साझा एजेण्डा र स्थानीय परिस्थितिलाई आधारित बनाएर गरिनुपर्ने उहाँको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?