नसुध्रिएको नेपालको सरकारी सेवाप्रवाह

Read Time = 17 mins

✍️  शम्भु कोइराला
नमागिएको सल्लाह
घटना -१
देश बनोस् भन्ने भावना भएका एकजना छिमेकी दाइ :
सवारीसाधनको लाइसेन्समा जारी मिति कार्यालयकै गल्तीको कारण गलत भएकाले यातायात कार्यालय एकान्तकुना जानुभएछ । सुरुमा निवेदन माग गरिएछ, निवेदन लिएर गएपछि हाकिमले तोक पनि गरेछन् । तल्लो निकायको सहयोगीको परामर्शपछि उहाँलाई भोलि आउन भनिएछ । तर भोलि जाँदा सकारात्मक देखिएका हाकिम सहायक कर्मचारीसँगको परामर्शपछि नकारात्मक देखिएछन् । उनले अनुनय विनय गरेछन् तर तल्ला तहका कर्मचारीले द्रव्य सम्मोहित गराएका हाकिमसाब टसकामस् भएनन् । छिमेकी दाइले कारणसम्म बताइदिनुस् भनेपछि अनुसन्धान गर्नुपर्छ पछि आउनुस् भनेर पठाइदिएछन् । त्यो पछि कहिले आउने हो थाहा छैन ।

छिमेकी दाइ दिक्दार भएर भन्दै थिए, आफ्नै देशमा बस्न मन लाग्छ, देशको माया लाग्छ, यहाँका ठूलाबडा भनाउँदाले बस्ने वातावरण नै दिएनन् । यी ज्येष्ठ नागरिकको अश्रुधाराले द्रवित बनायो ।

घटना -२
काठमाडौं जिल्लाको उत्तरपूर्वी भागमा रहेको कर कार्यालयमा एकजना पढेलेखेका सेवाग्राही कर तिर्न गए । पहिलो दिन उनलाई करदाताको फोटो प्रमाणित गर्न भनियो । भोलिपल्ट आवश्यक कागजातसहित फोटो प्रमाणित गर्न गए । सम्बन्धित फाँटवालाले भनिन्-विधानमा लेखेर ल्याउँनुस् । उनको कुरा सुनेर आक्रोशित भलाद्मीले भने–संस्थाको विधान भनेको संविधानसरह हो । एकजनाको फोटो प्रमाणित गर्न विधानमा संशोधन गर्ने कुरा कसरी आयो ? भन्दै जंगिएपछि आत्तिएकी फाँटवालाले हाकिमसावकोमा जानुस् भनेर भनिछन् । ती सावले विवाद साम्य बनाउन खोज्दै संस्थाको पत्र लिएर आउन भने । ती साब पनि ‘दूधका साक्षी बिराला’ न हुन्, त्यो विषयले उनीहरूको अहंकारमा चोट लागेकाले पछिका दिनमा सेवाग्राहीलाई नानाथरि दुःख दिने गरी प्रस्तुत भएछन् ।

घटना-३
काठमाडौं महानगरपालिकाको मध्यभागमा अवस्थित एक वडा कार्यालयमा घर बहाल कर तिर्न एकजना बहालमा बसेको कम्पनीका कामदार जान्छन् । उनलाई निवेदन पेश गर्न भनिन्छ । निवेदन लिएर जाँदा तोकआदेश गर्ने कर्मचारी छैन भनिन्छ । जब ती कर्मचारीले वडातिर चिनजान भएको मानिसलाई काम ढिलो हुने भयो भनेर फोन गर्छन्, फोनपश्चात् तुरुन्त आदेश गर्ने कर्मचारी प्रकट हुन्छन् । यसरी बुझौं–जानताको काममा असहजता होस् र अनौपचारिक लेनदेन होस् भन्ने मनशायले नै ती कर्मचारी दायाँबायाँ भएका छन् । चिनेको मानिसको फोन आएको कारणमात्र प्रकट भएका छन् ।

घटना-४
छुल्याहा छिमेकीले आफूले सार्वजनिक बाटो मिचेर बनाएको घरको केही भाग भत्किने भएपछि सँगैको छिमेकीले मिचेको भनेर अदालतमा मुद्दा दिन्छन् । असी पुगेर बसी खाने बेला भएका प्रतिवादी बुढाबाजेलाई बुढेसकालमा तनाव आइपर्छ । तारेख खेपेको त कति पटक भयो, कति ¤ हरेक पटक ठीक १० बजे उपस्थित हुन भनिन्छ तर कार्यालय समयको अन्त्यतिर खस्याकखुसुक गरेपछि मात्र अर्को तारेख पाउँछन् । छुल्याहा छिमेकीको प्रलोभनमा ती फाँटवाला परिचालित हुन्छन् । फाँटवालाका हाकिम पनि कुन ड्याङका मूला भए र ? उनलाई गुनासो गर्नु पनि भालुलाई पुराण सुनाए जस्तै त हो नि !

माथि उल्लेख गरिएका प्रतिनिधि घटनामात्र हुन् । जनतालाई सेवाप्रवाह गर्ने हरेक निकायमा जनता गए भने आजित भएर अर्को पटक जानुनपरोस् भन्दै हायलकायल भएर आउँने अवस्था छ । किन यस्तो हुन्छ, अब यसका बारेमा चर्चा गरौं ।

१) अपर्याप्त भौतिक संरचना र कर्मचारीको कारण कार्यालयको वातावरण नै अस्तव्यस्त बन्दछ । पारदर्शी, प्रणाली पद्धति समाप्त हुन्छ । अहिले बढी सेवाग्राही जाने कार्यालयमा देखिएको समस्यामध्ये यो मुख्य समस्या हो । कार्यालय भवन निर्माण गर्दा वा भाडामा लिँदाको अवस्थामा सेवाग्राहीको अनुमानित संख्या आकलन गर्न नसक्नु र तदनुरूपको व्यवस्थापन गर्न नसक्नु ठूलो कमजोरी हो । जब कार्यालय अस्तव्यस्त हुन्छ, प्रणाली असफल हुन्छ अनि विसंगति र विकृतिले राज गर्दछ । यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय, भूमिसुधार कार्यालय लगायतका बढी भीडभाड हुने कार्यालयमा देखिने अस्तव्यस्तता र अनुशासनहीनताको कारण यही नै हो ।

२) बिंगा लाउने र बहाना खोज्ने कर्मचारीको मनोवृत्ति अर्को समस्या हो । जनसम्पर्क हुने सरकारी कार्यालयमा कामका लागि सेवाग्राही पुगेपछि अधिकांश कर्मचारीको सोच सेवाग्राहीको काम टुंग्याएर सन्तुष्ट बनाई परिस्थितिलाई सहज बनाउनेभन्दा काम पन्छाउन बहाना खोज्ने संस्कृति जस्तै बनिसकेको छ । यो कागज पुगेन, यस्तो प्रक्रिया पुगेन, हाकिमसाब आउनुभएको छैन, तोक लाउने मानिस छैन आदि, इत्यादि । यसको कारण नियामक निकाय कमजोर बन्नु वा यिनीहरू पनि सेटिङमा चल्नु हो । सेटिङमा काम भएपछि गुनासो गर्ने ठाउँ नै रहँदैन । गलत गतिविधिले फल्ने, फुल्ने मौका मात्र पाउने हो ।

३) राजनीति-प्रशासन साँठगाँठले त विसंगतिको मैदान बनाउन निर्माण उपकरणकै काम गरेको छ । राजनीतिक अस्थिरताको कारण अस्थिर अवस्थामा आएका अधिकांश मन्त्रीले सार्वजनिक खपतका लागि जे कुरा बताए पनि भित्री मनमा पार्टीका लागि, आगामी चुनावका लागि वा आफूलाई पद सिफारिश गरिदिनेका लागि वा यस्तै कुनै पनि बहानामा रकम कलमको जोहो गर्ने विषयलाई मानसपटलमा राखेका हुन्छन् । अपवादलाई छोडेर जिन्दगीको र राजनीतिक कर्मको उत्तरार्धतिर आइलागेको पदबाट उनले इहत्र र परत्र सबै सुधार्नुपर्ने अवस्था रहेको हुन्छ ।

४) न्यून तलब र महत्वाकांक्षी कर्मचारी अर्को ठूलो समस्या हो । जगजाहेर छ नेपालका सरकारी कर्मचारीको तलब अरू देशको तुलनामा निकै नै कम छ । शिक्षा र स्वास्थ्य क्षेत्र धेरै खर्चिलो भएको, सरकारी विद्यालयको स्तर अत्यन्त कमजोर भएको र स्वास्थ्य बिमाको भरपर्दो व्यवस्था नभएका कारण न्यूनतम आवश्यकता परिपूर्ति गर्न कठिन छ । सरकारले सामुदायिक विद्यालय सुधार गर्ने ठोस कार्यक्रम न ल्याएको र यस्ता विद्यालयका अधिकांश शिक्षक राजनीतिक दलका कार्यकर्ता भएको कारण कुनै सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ला भन्ने आशासम्म गर्न कठिन छ ।

निजी स्वास्थ्य क्षेत्रमा राजनीतिक दलको लगानी भएको कारण सरकारी अस्पतालको सेवा प्रवाह र सुविधा बढोत्तरी गर्ने काममा नेताहरूको खासै जाँगर देखिँदैन । फलस्वरूप शिक्षा र स्वास्थ्य क्षेत्रमा भरपर्दो सुधार होला र राहत पाइएला भन्ने आशा गर्ने ठाउँ पनि कमजोर छ ।
यस्तो अवस्थामा सरकारी कर्मचारीको अहिलेको तलबमान निर्वाह गर्नसक्ने अवस्थाको छैन । अर्कोतर्फ लोकसेवा उत्तीर्ण गरेर आएका कर्मचारीको आकांक्षा जीविका निर्वाहभन्दा छोटो समयमै राजधानी काठमाडौंमा घरघडेरी जोड्ने महत्वाकांक्षा प्रेरित भनेर आलोचना भइरहेको छ । सरकारी सेवामा प्रवेश गर्दा नै महत्वाकांक्षी भएर आएको कारण उनीहरूको व्यवहार सेवाग्रहीमैत्री हुन सकेको छैन । पछिल्लो पुस्तामा पनि सुधारका लक्षण नदेखिएको भनेर आलोचना भएको सन्दर्भमा भविष्य पनि सुखद् हुने लक्षण देखिँदैन ।

५) प्रेरणादायी र अनुकरणीय हुनुपर्ने नेतृत्व स्वार्थी र अहंकारी भएको कारण नैतिकता र आदर्शको कुरा ‘आकाशको फल आँखा तरी मर’ जस्तो भएको छ । राजनीतिक नेतृत्व बेइमान भएको कारण कर्मचारीतन्त्रले इमानको सन्देश पाएन । कार्यकर्ता पंक्तिले नेताको अहंकार र बेइमानी सिक्यो । प्रशिक्षण र सिद्धान्तका कुरा टाढाको अनिच्छुक पाहुना जस्तो भयो । नेताको परिक्रमा गर्ने र नेताका जस्तोसुकै कामको अन्धभक्तिमा लागेका कार्यकर्ता पुरस्कृत हुने परिपाटी नै बन्यो ।

सामूहिक भावनाको सट्टा व्यक्तिकेन्द्रित सोचले जरा गाड्यो । अवसरमा भाग नपाउँने डरले नेताको गलत कदमको विरोध गर्ने पंक्ति सानो र सीमित बन्न पुग्यो । राजनीतिमा त्यागी कार्यकर्ताभन्दा नवधनाड्यको हालिमुहाली हुन थालेपछि राजनीतिमा असल मानिसको भर्ती नै हुन छोड्यो । विश्वविद्यालयमा तालाबन्द गर्न खप्पिस पुस्ता राजनीतिमा हावी भएका कारण जताततै निराशाको सञ्चार भइरहेको अवस्था विद्यमान छ ।

यो सबै परिवेशमा भर्ती भएको निजामती कर्मचारी कसरी आदर्श र नैतिक बन्न सक्छ र ? उसले चिनेका र बुझेका राज्यका सबैजसो निकाय निकम्मा सावित भइरहेको अवस्थामा नवप्रवेशी सरकारी कर्मचारीबाट के नै सकारात्मक अपेक्षा गर्न सकिन्छ र ?
६) विदेश मोह र खस्कदो देशभक्तिको भावना अर्को समस्या हो ।

मुलुकभित्र अवसर र रोजगारी अभाव भएको कारण र नागरिकले पाउने पानी, बत्ती, फोहोर व्यवस्थापन, सार्वजनिक यातायात, मनोरञ्जनस्थ जस्ता न्यूनतम आवश्यकताको पनि अभाव भएकाले युवापुस्ताको एकमात्र विकल्प विदेशिनु रहेको छ ।
हुनेखाने वर्गका सन्तान अमेरिका, अष्ट्रेलिया जस्ता देश भासिने र कमजोर आर्थिक अवस्था भएकाहरू खाडीका मुलुकमा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्था छ । खाडी मुलुक जानेहरूले विप्रेषण पठाएर मुलुकको अर्थतन्त्रलाई धानिरहेका छन् भने विकसित देश जानेहरूले पैतृक सम्पत्ति पनि उतै तानिरहेका छन् । यो वर्गको कारण देश नै रित्तिने गरी अवैध बाटोबाट पुँजी पलायन भइरहेको छ ।

विकसित देशमा जाने युवाका बाबुआमा दुई डुंगामा खुट्टा राखेर यात्रा गरिरहेको अवस्था छ । सन्तान मोह र विदेशको बसोबासको लोभमा विदेश प्यारो छ भने धन सम्पत्ति, राज्यले दिने पेन्सनलगायत सुविधाका कारण नेपाल आउनुपर्ने बाध्यात्मक अवस्था छ । यस वर्गलाई नेपालभन्दा आफ्नो सन्तानले नागरिकता पाएको देश प्यारो हुने अवस्था बनिरहेको छ । अहिले निजामती सेवामा रहेका अधिकांश कर्मचारीको लगाव पनि सन्तान विदेश पठाउने र आफू पनि बुढेसकालमा नाति पुस्ता हुर्काउन विदेशिने रहनु अस्वाभाविक भएन ।

यस मनोवृत्तिको कारण देशभक्ति कमजोर भइरहेको छ भन्दा कसैप्रति आरोप लगाएको नठानियोस् । यो यथार्थ परिस्थिति हो, जसले आफ्नो देश, आफ्ना नागरिकप्रतिको दायित्वबोधलाई कमजोर बनाइरहेको छ । सारांशमा, भनाइ छ- सरकारबाट नागरिक प्रशासन हटायो भने मुलुक समाप्त हुन्छ जबकि सरकारबाट राजनीति हटाइदियो भने मुलुक उन्नतितर्फ अग्रसर हुन्छ । यस्तो महत्वपूर्ण निजामती प्रशासनले जनताको सेवक बन्न चुक्नु हुँदैन ।

तर, यथार्थ फरक छ- नेपालमा जनताले जुन् बेला जे पाउनुपर्ने हो त्यो पाउँदैनन् । किसानले खेतीको बेला मल र बिउ पाउँदैनन् । विदेश जाने बेला राहदानी पाउँदैनन् । योग्य भएर पनि वर्षौंसम्म सवारीसाधनको लाइसेन्स पाउँदैनन् । झण्झटविना कर तिर्न पाउँदैनन् । बिरामी भएको बेला उपचार पाउँदैनन् । यस्तो लाग्दछ–ती निकायहरू जनतालाई चाहिएको समयमा सेवा सुविधा अवरोध गर्न बसेका हुन् । वर्षभरि तिनीहरूको चिन्तन सेवाप्रवाह कसरी सहज गर्नेभन्दा कसरी जनतालाई सास्ती दिने भन्नेमा दत्तचित्त छ ।

केही सरकारी जागिरेहरू न त सेवक हुन् न त निजामती नै हुन् भनेर विन्स्टन चर्चिलले भनेका छन् । नेपालको सन्दर्भमा त्यो केही नभएर अधिकांश भन्ने अवस्था छ, सुधार अपेक्षित छ । सुधारका लागि माथिबाटै अभियान चलाउनुपर्दछ । त्यसका लागि जति ढिला भयो उति नागरिकले सास्ती पाउने हो । नागरिकबाट, निजामती सेवाको सेवा प्रवाहको विषयमा यति धेरै आलोचना हुँदा पनि नसुध्रिए कहिले सुध्रिने ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?