लुम्बिनी सेवा समाज अमेरिकाद्वारा विद्यालयमा अक्षयकोष स्थापना

हिमालय टाइम्स
Read Time = 3 mins

-चन्द्रकान्त खनाल

बुटवल । लुम्बिनी सेवा समाज अमेरिकाले रुपन्देहीको देवदह नगरपालिका चरङ्गेस्थित सीता माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

समाजका संस्थापक स्वर्गीय कमल शर्माको स्मृतीमा समाजले विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । शर्माको परिवारसँगको सहकार्यमा समाजले हरेक वर्ष गरिब तथा अतिविपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न स्व. कमल शर्मा स्मृती अक्षयकोष स्थापना गरेको हो ।

समाजका सम्पूर्ण सदस्यले संकलन गरेको रकम र शर्माको परिवारले उपलव्ध गराएको रकमबाट अक्षयकोष स्थापना गरिएको हो । बिहीबार विद्यालयमा आयोजित एक समारोहका बीच समाजकी उपाध्यक्ष लता प्रधान र स्वर्गीय कमल शर्माकी धर्मपत्नी सरिता शर्माले विद्यालयका प्रधानाध्यापक महेशकुमार थैवलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा बोल्दै देवदह नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एकबहादुर सुनारले अक्षयकोषका लागि आएको रकमको सही सदुपयोग गर्न सुझाव दिनुभयो । भौतिक पूर्वाधारले मात्र शैक्षिक विकास नहुने भन्दै उहाँले गुणस्तरीय शिक्षाका लागि लगानी बढाउनुपर्ने बताउनुभयो ।

समाजकी उपाध्यक्ष लता प्रधानले विद्यालयमा अक्षयकोष स्थापना गर्न पाउँदा खुशी लागेको भन्दै समाजले मानवीय कामका साथै शिक्षा क्षेत्रमा पनि सहयोग गर्दै आएको बताउनुभयो । स्वर्गीय कमल शर्माकी धर्मपत्नी सरिता शर्माले यो अक्षयकोषले केही हदसम्म राहत दिने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कार्य र सहयोगमा निरन्तर लागिरहने बताउनुभयो ।

कार्यक्रममा समाजका सल्लाहकार दिपक प्रधानले समाजका अध्यक्ष जगदिशप्रसाद न्यौपानेले पठाएको सन्देश पढेर सुनाउनुभएको थियो ।

कार्यक्रममा रुपन्देहीका पूर्व सहायक जिल्ला शिक्षा अधिकारी मोतीराज पौडेल, विद्यालयका प्रधानाध्यापक महेशकुमार थैव, शिक्षक शिवलाल क्षेत्री लगायतले विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालय छनौट गरी अक्षयकोष स्थापना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक थैवले यो कार्यले अति विपन्न विद्यार्थीलाई विद्यालयसम्म ल्याउन उत्साह दिने बताउँदै रकमको सही सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?