बाघको आक्रमणबाट एक व्यक्ति घाइते, भैंसी र बंगुर मरे

हिमालय टाइम्स
Read Time = 3 mins

चितवन । चितवनमा पछिल्लो समय बाघले मान्छेलाई आक्रमण गरेका घटना बढेका छन् । बाघको आक्रमणका घटना बढेपछि चितवनमा निकुञ्ज आसपास बसोबास गर्ने मानिसमा त्रास बढेको छ ।

खेतमा तरकारी टिप्न गएकादेखि जंगलमा घाँस दाउरा खोज्न गएका व्यक्तिलाई बाघले आक्रमण गरिरहेको छ । बाघको आक्रमणको घटना बढ्दै गए पनि यसको न्यूनीकरणमा स्थानीय सरकार वा केन्द्र सरकारले चासो दिएको छैन ।

आज बिहान खेतमा तरकारी टिप्न गएका पूर्वी चितवनको राप्ती नगरपालिका–१ डिपार्टका ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाईबा)लाई बाघले आक्रमण गरेको छ । बाघको आक्रमणबाट घाइते भएका थिङको उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेको अनुहार र घाँटीमा चोट लागेको छ । घाइतेको अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले उद्धार गरेको हो ।

उक्त बाघले स्थानीय सुकबहादुर थिङको एउटा भैंसी र सुकराम तामाङको दुईवटा वटा बंगुर मारेको पाइएको उहाँले बताउनुभयो । त्यस्तै, बाघले जितबहादुर थिङको एउटा गाईलाई आक्रमण गरि घाइते बनाएको छ ।

यसअघि २४ जेठमा भरतपुर महानगरपालिका-२३ की मंगली बोटेको बाघको आक्रमणबाट मृत्यु भएको थियो । स्थानीय घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका बेला बोटेलाई बाघले आक्रमण गरेको थियो ।

जेठ महिनमा मात्रै बाघले आक्रमण गरेको यो पाँचौ घटना हो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनहरू पाटे बाघको मुख्य बासस्थान भएका क्षेत्र हुन् ।

पाँच वर्षअघिको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा पाटेबाघ छन् । गत वर्ष बाघको गणना गरिए पनि बाघको तथ्यांक सार्वजनिक गरिएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?