गर्मी बढेपछि कैलालीमा विद्यालय बन्द

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

-गोविन्द बीसी

टीकापुर । अत्याधिक गर्मीले पठनपाठनमा समस्या भएपछि कैलालीका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको छ । गर्मीले विद्यार्थीलाई विद्यालय जान, आउन र पठनपाठनमा समस्या हुने भएपछि विद्यालय बन्द गरिएको हो ।

कैलालीको लम्कीचुहा, टीकापुर नगरपालिका र बर्दगोरिया गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गर्दै गर्मी बिदा दिइएको जनाएका छन् । गर्मीका कारण स–साना बालबालिकालाई प्रभाव परेकाले यही जेठ २५-२९ गतेसम्म विद्यालय बन्द गरिएको लम्कीचुहा नगरपालिकाका शिक्षा शाखा प्रमुख (शाखा अधिकृत) गौरीकान्त न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै, टीकापुर नगरपालिकामा जेठ २९ देखि असार ३ गतेसम्म बर्षे बिदाबाट कट्टा हुने गरि पठनपाठन बन्द गरिएको शिक्षा शाखा प्रमुख (उपसचिव) दमनसिंह चौधरीले जानकारी दिनुभयो ।

बर्दगोरिया गाउँपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बर्दगोरियाका सामुदायिक तथा संस्थागत विद्यालय आउँदो जेठ २९-३१ गतेसम्म तीन दिन बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी, घोडाघोडी नगरपालिकाले पनि गर्मी अत्यधिक बढेको भन्दै जेठ २६ र २७ गते दुई दिनका लागि विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मीले पठनपाठनमा समस्या आएपछि विद्यालयमा गर्मी बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत दिपककुमार आचार्यले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?