कामनाको टोली उपविजेता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टको टोली पुलिस क्लब माल्दिभ्समा सम्पन्न माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा उपविजेता बनेको छ । माल्दिभ्सको मालेस्थित सोसल सेन्टर इन्डोर हलमा भएको फाइनलमा क्लब वाम्कोसँग ३-० को सोझो सेटमा पराजित हुँदै पुलिस उपविजेता बनेको हो ।

पुलिस यही क्लब वाम्कोसँग नै पहिलो सेमिफाइनलमा ३-२ को सेटमा पराजित भएको थियो । फाइनलमा पुलिसले वाम्कोविरुद्ध सोचेअनुरूपको प्रदर्शन गर्न नसक्दा नजिता सोझो सेटमा सुम्पिन पुग्यो । पहिलो सेटमा ८-९ को अवस्थाबाट क्लब वाम्कोले अग्रता बढाउँदै २५-२० को सेटमा जित निकाल्न सफल भयो ।

दोस्रो सेटमा पनि पुलिसले वाम्कोलाई बलियो चुनौती पेश गरेपनि थाई खेलाडी सम्मिलित वाम्कोले ११-११ को बराबरीबाट लगातार आठ अंक जोडेर जितलाई सहज बनाउँदा २५-१७ को जित निकाल्न सफल भयो ।

तेस्रो सेटमा पनि वाम्कोले सुरुवातमै १२-४ को फराकिलो अग्रता कायम गर्‍यो। त्यसपछि पुलिसले थप आठ अंक जोड्दा वाम्कोले २५-१२ को सहज जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । क्लब वाम्को यसअघि २०१९ को पनि च्याम्पियन टोली हो ।

पुलिसले क्लब इगललाई ३-१ को सेटमा पराजित गर्दै फाइनलमा क्लब वाम्कोसँगको भेट पक्का गरेको थियो । वाम्कोले भने पुलिसलाई हराएर नै फाइनलमा स्थान पक्का गरेको थियो । माल्दिभ्स भलिबल एसोसिएसन कपमा कामनासहित नेपाली राष्ट्रिय टोलीकी अर्की सदस्य उषा भण्डारीले पनि खेल्नुभएको थियो । उहाँको टोली दिबेही सिफान्जी क्लबले भने समूह चरण पार गर्न सकेन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?