ओमानसँग नेपाल पराजित

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) सिरिजमा ओमानसँग १३ रनको हार व्यहोरेको छ । अमेरिकाको हृयुष्टनमा बिहीबार राति भएको खेलमा जितका लागि २१२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाएर १९८ रनमा समेटिएको थियो ।

अन्तिम ओभरमा जितका लागि नेपाललाई १४ रन आवश्यक परेका बेला ओमानका बिलाल खानले उत्कृष्ट बलिङ गरेपछि नेपालको जित असम्भव भएको थियो । बिलालले पहिलो, दोस्रो र तेस्रो बललगातार डट फालेपछि नेपाल जितबाट टाढिएको थियो । नेपालका लागि मध्यक्रममा आरिफ शेखले ७९ बलमा ६ चौका ६६ को अर्धशतकीय पारी खेल्नुभयो । जुन आरिफको ओडिआई करिअरको दोस्रो अर्धशतकसमेत हो ।

नेपाली दुवै ओपनर चल्न सकेनन् । बिलाल खानले नै तेस्रो ओभरको दोस्रो बलमा ओपनर सुवास खकुरेललाई ३ रनमा बोल्ड गर्नुभयो । यस्तै अर्का ओपनर सुनिल धमला ३८ बलमा १२ रन बनाउँदै आउट हुनुभयो । उपकप्तान रोहित पौडेल जिशान मकसुदबाट २० रनमा आउट हुनुभयो । रोहितले १७ बलमा ३ चौका प्रहार गर्नुभयो ।

राम्रो सुरुवात गरेपछि देव खनाललाई स्कोरलाई अघि बढाउन सक्नुभएन । ५३ बलमा ५ चौकासहित उहाँले ३४ रन जोड्नुभयो । यस्ता अर्का भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी पनि धेरैबेर क्रिजमा बस्न सक्नुभएन । अयान खानको बलमा उहाँ जिशानबाट १६ रनमा आउट हुनुभयो । ३० बल खेल्नुभएका उहाँले एक चौका प्रहार गर्नुभयो ।

छैटौं विकेटका लागि विनोद र आरिफले ३७ रनको साझेदारी गर्नुभएको थियो । विनोद भण्डारी ४६ बल खेल्दै १४ रनमा आउट हुनुभएपछि यो साझेदारी टुट्यो । अलराउण्डर करण केसी ८ र सोमपाल कामी १३ रनमा आउट हुनुभयो ।

ओमानका कप्तान जिशान मकसुदले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिनुभयो । यस्तै खावर अलीले ८ ओभरमा ४१ रन खर्चेर २, अयान खानले ९ ओभरमा २६ रन खर्चेर २ र बिलाल खानले ८.४ ओभरमा एक मेडनसहित ३४ रन खर्चेर २ विकेट लिनुभयो ।

त्यसअघि हृयुष्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला व्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुद १२६ बलमा १२ चौकासहित १०४ रनको शतकीय इनिङ खेल्नुभएपछि ओमानले उक्त विजयी लक्ष्य बनाएको हो । ओडिआई करिअरको यो उहाँको दोस्रो शतक हो ।

बलिङमा भने नेपालले राम्रो सुरुवात गरेको थियो । करण केसीले ओपनर कश्याप प्रजापतिलाई इनिङको पहिलो बलमै एलबीडब्लु आउट गर्नुभयो । करणले नै ओमानका प्रमुख ब्याटर जतिन्दर सिंहलाई सातौं ओभरको दोस्रो बलमा ११ रनमा एलबीडब्लु कै सिकार बनाउनुभयो ।

त्यसपछि कप्तान तथा स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिनुभयो । उहाँले सन्दीपले शोएब खानलाई विनोद भण्डारीबाट २७ रनमा क्याच गराउनुभयो भने मोहम्मद नदीमलाई रन रनमा बोल्ड पार्नुभयो । खानले ४९ बलमा ४ चौका प्रहार गर्नुभएको थियो ।

करणले २५ औं ओभरको दोस्रो बलमा अयान खानलाई ८ रनमा आउट खेल्दै ओमानलाई दबाबमा ल्याउनुभयो । तर छैटौं विकेटका लागि जिशान मकसुद र खवर अलीले ६० रनको साझेदारी गर्दै ओमानको पारी अघि बढाउनुभयो । अलीले ६२ बलमा ३ चौकासहित ३० रन जोड्नुभएका थियो । यस्तै ओमानका कप्तान सुरज कुमारले १४ बलमा १२ रन रन जोड्नुभयो ।

नेपालका करण केसीले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिनुभयो । उहाँ ओडिआईमा पाँच विकेट लिने सोमपाल कामी र सन्दीप लामिछानेपछि तेस्रोसमेत बन्नुभयो । त्यसबाहेक सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ४४ रन खर्चेर २ विकेट तथा सोमपाल कामीले १ विकेट लिनुभयो । नेपालले अब सिरिजको दोस्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ ।

नेपाली कप्तान सन्दीप लामिछानेले खेलपछि खराब व्याटिङका कारण खेल हार्नुपरेको प्रतिक्रिया दिनुभएको छ । ‘लक्ष्य पूरा गर्न नसक्नु ब्याटिङमा असफलता हो । हामीले अन्तिम तीन पटक युएईसँग दुई र ओमान खेल अंक तालिकामा धेरै फेरबदल हुनसक्छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय अवस्थाअनुसार हामी घुलमिल भइसकेका थियौं । हामीले साझेदारी गरे पनि विकेट गुमाइरहृयो । नयाँ ब्याटरले समय लिनु र साझेदारी गर्दा रनरेट पनि बढ्यो ।’

नेपालले चोटका कारण ओपनर कुशल भुर्तेल र आसिफ शेख दुवैलाई टोली बाहिर राखेको थियो । सोहीकारण टोलीमा अन्तिम समयमा सुवास खकुरेललाई बोलाइएको थियो । नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहनुभएको छ ।

यस सिरिजपछि ओमानको आइसिसी विश्वकप लिग-२ मा ३६ खेल पूरा हुनेछ । नेपालले हाल १२ खेल खेलेको छ । ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ शीर्षस्थानमा छ । नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो । सात टोली सहभागी विश्वकप लिग-२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने छन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

विश्व लिग-२ को पूरा खेल नसकिने सम्भावना उच्च हुँदा विजयी प्रतिशतको आधारमा शीर्ष तीन टोली निर्धारण हुनेछ । नेपालको यो विश्वकप लिग २ मा चौथो त्रिकोणात्मक सिरिज हो । सात टोली सहभागी विश्वकप लिग-२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न पाउने छन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?