विद्यालयस्तरमा पनि सौन्दर्यकला पढाइ

Read Time = 2 mins

काठमाडौं । नेपालमै पहिलोपटक विद्यालयस्तरमा सौन्दर्यकलाको पठनपाठन सुरु भएको छ । डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयले कक्षा नौदेखि १२ सम्मको पाठ्यक्रममा सौन्दर्यकला विषयको पठनपाठन सुरु गर्ने भएको हो ।

पाठ्यक्रम विकास केन्द्र, सौन्दर्यकला व्यवसायी संघ र पद्मकन्या विद्यालयद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक रिता तिवारीले विद्यालय शिक्षा समाप्तिपछि छात्राहरू आत्मनिर्भर र स्वावलम्बी बन्न सकून् भन्ने उद्देश्यले सम्बन्धित निकायबाट अनुमति लिई पठनपाठन सुरु गरिएको बताउनुभयो । उहाँले सौन्दर्यकला सुरु गर्ने पहिलो विद्यालयका रूपमा स्थापित हुँदा खुसी लागेको बताउनुभयो ।

सौन्दर्यकला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले आफूले सौन्दर्यकलालाई पाठ्यक्रममा समावेश गराउन निकै संघर्ष गर्नुपरेको बताउनुभयो । विद्यालय तथा विभिन्न निकायसँग पटक-पटकको छलफलपछि सौन्दर्यकला पाठ्यपुस्तकमा समावेश गरिएको उहाँको भनाइ थियो । सौन्दर्यकलाको अध्यापनबाट छात्राहरूले सीप प्रदर्शन गर्ने र आत्मनिर्भरसमेत हुन सक्ने उहाँले बताउनुभयो ।

अनुहारको सजावटमात्रै सौन्दर्य नभएको प्रष्ट पार्दै अध्यक्ष श्रेष्ठले सौन्दर्य अनुहार सजावटदेखि स्वस्थ शरीर र व्यायमसँग समेत जोडिएको क्षेत्र भएको बताउनुभयो । पाठ्यक्रम विकास केन्द्रका शाखा अधिकृत खिलानाथ धमलाले संघ र विद्यालयको प्रयास निकै फलदायी रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?