वर्षैपिच्छेको पहिरोले चार सय घरपरिवार विस्थापित, बास बस्ने ठाउँ नभएपछि गाउँ छोड्दै स्थानीय

हिमालय टाइम्स
Read Time = 4 mins

गोकर्णप्रसाद भण्डारी/हिटा
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका-५ का विभिन्न टोलका चार सय घरपरिवार वर्षैपिच्छे खसिरहेको पहिरोका कारण विस्थापित बनेका छन् । कात्तिके टोल, लकाईगाउँ, खोलापारि, मैदाने, मिजारटोल, भीमसेनस्थान, काँडाघारी, सिलाफारे, बन्देथलीलगायत घट्टेखोलाको पहिरोले भेटेका अधिकांश स्थानीयहरू पहिरोको उच्च जोखिमका कारण गाउँघरबाट विस्थापित भएका हुन् ।

यहाँका केही नागरिकहरू विपन्नता कारण गाउँकै छिमेकीको घरमा शरण लिएर बसे पनि धेरैजसो गाउँ नै छाडेर काठमाडौं, भारतको दार्जलिङलगायत स्थानहरूमा गएका छन् । गएको तीन वर्षदेखि लगातार गाउँमाथिको रानीवनको भिर र गाउँमुनिको खेतबाट झरिरहेको पहिरोका कारण यहाँका नागरिकहरू विस्थापित बन्न बाध्य बनेका हुन् । राज्य तहबाट पहिरो नियन्त्रणमा खासै भरपर्दाे पहलकदमी नहुँदा यहाँका नागरिकहरूले वर्षैपच्छिे पहिरोको सास्ती व्यहोर्दै आएका नवनिर्वाचित वडा अध्यक्ष सहदेव खड्काले हिमालय टाइम्सलाई बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘हिजो राज्य तहले खासै पहल कदमी गरेन, अब पहिरो बढ्दै गयो गाउँबाट मानिसहरू विस्थापित हुने क्रम बढिरहेको छ, गाउँका नागरिकलाई बचाउन र बास बस्ने प्रबन्ध मिलाउन राज्यका माथिल्ला निकायले सुनिदिनुपर्‍यो ।’

खड्काकै अनुरोधमा शुक्रबार पहिरोको निरीक्षण गरिएको छ । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी गंगाप्रसाद पौडेल, कालिञ्चोक गाउँपालिका प्रमुख अर्जुनप्रसाद शिवाकोटी, उपप्रमुख कुलबहादुर बुढाथोकी, पत्रकार लगायतले पहिरो र जोखिम बस्तीबारे स्थलगत निरीक्षण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी सहितको नेतृत्वमा पुगेको निरिक्षण टोलीलाई अध्यक्ष खड्काले जनता बचाउने र जनताको बासस्थान प्रबन्ध मिलाउन अनुरोध गर्नुभएको थियो । गाउँपालिका प्रमुख अर्जुन शिवाकोटीले नागरिकहरूको जिउधनको सुरक्षा जुनसुकै अवस्थामा पनि पालिकाले गर्ने र अस्थायी बासस्थानका लागि तत्काल पहल गरिने आश्वासन दिनुभयो । उहाँले पहिरो नियन्त्रणभन्दा पनि नागरिकहरूलाई उपयुक्त बसोबासका लागि बस्ती सार्न पहल गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी हाम्रो नागरिकहरू प्रति चिन्तित छौँ । पहिरोले गाउँ बगाउने अवस्थाबारे सूचना प्रणालीको प्रबन्ध मिलाउने र सुरक्षा निकायको टिमलाई नै जिम्मेवारी दिएर नागरिकहरूको जिउधनको सुरक्षा गर्ने प्रतिबद्धता जनाउँछौँ ।’ नागरिकहरूलाई अफ्ठ्यारो अवस्था आए आफूलाई तत्काल खबर गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

यहाँको लापिलाङ माध्यमिक विद्यालय, वडा कार्यालयसमेत पहिरोको उच्च जोखिममा रहेको पाइएको छ भने कतिपयका पक्की घर, खेतीयोग्य जमिन पनि पहिरोले बगाइरहेको छ । गएको वर्ष करिब ५० घर पनि यसै पहिरोबाट पुरिएको थियो भने अहिले पनि पहिरो झरिरहेको र जमिनहरू बगाइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?