एमाले पहिलो पार्टी हो, पहिलै रहन्छ : ओली

हिमालय टाइम्स
Read Time = 4 mins

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका विरुद्ध कसैले एक्लै लड्ने आँट गर्न नसक्ने बताउनुभएको छ । शुक्रबार विराटनगरमा मोरङ जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले गठबन्धनप्रति लक्षित गर्दै यस्तो बताउनुभएको हो । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेविरुद्ध अन्य दलहरूले घेरा कसेर चुनाव लडे पनि एमालेको लोकप्रिय मतलाई हल्लाउन नसकेको उहाँको भनाइ छ । ओलीले स्थानीय निर्वाचनमा सिटका हिसाबले एमाले दोस्रो दल भए पनि लोकप्रिय मतका आधारमा एमाले नै पहिलो पार्टी भएको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले आगामी चुनावको तयारीमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको छ । घेराबन्दीका बाबजुद पनि पार्टीले लोकप्रिय पहिलो मत ल्याएको बताउँदै उहाँले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी खट्न कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले एक्लै चुनावमा जाँदा पनि शानदार जित हासिल गरेको छ । एमालेले कसैको जुठो खाँदैन ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर संकेत गर्दै ओलीले पाँच दलीय गठबन्धनले एउटै प्रकारको जुठो गाँस खाएको बताउँदै भन्नुभयो, ‘आफ्नो गठबन्धन भित्रको दल कांग्रेसले दम्भ देखाए एमालेको जस्तो हालत बनाउने चेतावनी दिने एक नेताको भाषण सुन्नुभएको होला नि तपाईंहरूले’, उहाँले भन्नुभयो, ‘धम्की दिने तिनको उचाइ कति छ भनेको कम्मर कम्मर अलि पुग्दा रहेनछन्, धाक चाहिँ कत्रो थियो भने कांग्रेसले घमण्ड नगरोस्, एमालेको हालत बनाइदिउँला । आफ्नो हालत के छ भन्दा घुँडाघुँडा । यस्ताले धाक लगाउँछन् एमाले जस्तो बनाउने ।’ एमाले जस्तो हुन पाए के गर्थे होलान् तिनले ? भन्दै उहाँले प्रश्न गर्नुभएको थियो ।

उहाँले गठबन्धन नहुँदा धुलोपीठो हुने भएकाले अहिले नै गठबन्धन नटुट्ने देखिएको पनि बताउनुभयो । ‘गठबन्धन टुटाउन बल गर्नु परो भनेर हल्ला चले पनि एक्लै चुनावमा जाँदा धुलोपीठो हुने डरले उनीहरू गठबन्धन टुटाउन चाहँदैनन्’, ओलीले भन्नुभयो, ‘साँढेसँग लड्न सक्दिनँ भनेर उनीहरूले गठबन्धन गरेका हुन् । गठबन्धनमै रहेका केही दलहरूको हैसियत बाख्रासँग लड्न सक्ने खालको पनि छैन ।’

अध्यक्ष ओलीले वर्तमान अवस्थामा वाम गठबन्धन हुने सम्भावना नरहेको पनि स्पष्ट पार्नुभएको छ । आगामी निर्वाचनका लागि एमाले एक्लैले तयारी गरिरहेको भन्दै उहाँले वाम गठबन्धन हुने सम्भावना नरहेको बताउनुभएको हो । उहाँले सरकारमा रहेका दलहरू वामपन्थी नरहेको पनि टिप्पणी गर्नुभयो । आगामी निर्वाचनमा एमाले अत्यधिक बहुमतका आधारमा विजयी हुने दाबी उहाँको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?