उठ्न थाल्यो राजधानीको फोहोर, माग पूरा गर्ने सरकारको प्रतिबद्धतापछि स्थानीय संघर्ष समिति सहमत

हिमालय टाइम्स
Read Time = 15 mins

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटमा विसर्जन गर्न स्थानीय सहमत भएका छन् । सहरी विकास मन्त्रालयमा शुक्रबार बिहान भएको सहमति कार्यान्वयन गर्ने सरकारी प्रतिबद्धतापछि बञ्चरेडाँडा संघर्ष समितिले काठमाडौंको फोहोर फाल्न दिने निर्णय गरेको छ । सहमतिअनुसार शुक्रबारबाटै उपत्यकाको फोहोर विसर्जन गर्न सुरु गरिएको छ ।

स्थानीयको अवरोधका कारण बुधबार काठमाडौं नै फर्किएका फोहोर बोकेका टिपर शुक्रबार नै बञ्चरेडाँडातर्फ गएका हुन् । केही सहमति तत्काल कार्यान्वयन गर्ने र केही मन्त्रिपरिषद्बाट निर्णय गराएर कार्यान्वयन गर्ने भनी सहरी विकास मन्त्रालयले भनेपछि आफूहरू फोहोर फाल्न दिने निर्णयमा पुगेको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिनुभयो ।

मन्त्रालयमा शुक्रबार बिहान भएको वार्तामा सहरी विकास मन्त्री रामकुमारी झाँक्री, संघर्ष समितिका संयोजक ढुंगानासहित काठमाडौंका सांसदहरूको उपस्थिति थियो । ‘सहमतिलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता मन्त्री र सांसदहरूले जनाइसक्नु भएको हुनाले त्यसलाई विश्वास गर्दै हामीले आजबाटै काठमाडौंको फोहोर फाल्न दिने निर्णय गरेका छौँ,’ संयोजक ढुंगानाले हिमालय टाइम्ससँग भन्नुभयो । उहाँका अनुसार सहमति कार्यान्वयनमा भएका प्रगति अनुगमन गर्न एउटा समिति गठन गरिनेछ । उक्त समितिले साताको दुईचोटि बैठक बसेर कुन काम कति अघि बढ्यो भनी मूल्यांकन गर्नेछ ।

बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्दा प्रभावित हुने जग्गा यकिन गरी अधिग्रहण सुरु गर्न सहरी विकास मन्त्रालय र संघर्ष समितिबीच सहमति भएको हो । प्रभावित क्षेत्र निर्धारण गर्न विज्ञ टोली, जनप्रतिनिधि र स्थानीय बासिन्दाको संलग्नतामा वातावरणीय प्रभाव मूल्यांकन गर्ने र त्यसको प्रतिवेदन आइसकेपछि अधिग्रहण सुरु गरिनेछ ।

जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण गर्न तत्काललाई आगामी आर्थिक वर्षकै बजेटमा पाँच अर्ब रुपैयाँ छुट्याउने भनिएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन आइसकेपछि त्यसले जति जग्गा अधिग्रहण गर्नुपर्छ भनी तय गर्छ त्यसका आधारमा नपुग रकम सरकारसँग माग गर्ने पनि सहमति भएको छ ।

स्थानीय समेतको सहभागितामा वातावरणीय प्रभाव मूल्यांकन टोली गठन गरेर तत्काल काम सुरु गर्ने ढुंगानाले जानकारी दिनुभयो । काठमाडौं महानगरपालिकाले साउन १ देखि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्ने र नकुहिने फोहोर मात्र डम्पिङ साइटमा विसर्जन गर्ने भनेको थियो । अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर मल कारखाना बञ्चरेडाँडामा खोल्ने सहमति भएको छ । बञ्चरेका स्थानीयले उठाउँदै आएको अर्को मुद्दा गुठी जग्गासम्बन्धी हो ।

यहाँका धेरै स्थानीयले गुठीका जग्गा उपभोग गरिरहेका छन् जसको लालपुर्जा उनीहरूसँग छैन । त्यसैले सरकारले यो मुद्दा सम्बोधन गर्नुपर्ने स्थानीयले माग गर्दै आएका थिए । शुक्रबार बिहानको बैठकमा यो एजेण्डा उठेको थियो । यसलाई सम्बोधन गर्न प्रभावित क्षेत्रमा स्थानीयले कमाउँदै आएको गुठीको जग्गा रैकरमा परिणत गर्ने सहमति भएको र कानुन सहजीकरण गर्ने गरी विधेयक ल्याउने कुरा भएको छ । यसलाई पनि मन्त्रिपरिषद्ले नै टुंगो लगाउने भनिएको छ । यसबाहेक डम्पिङ साइटका कारण सिसडोल र बञ्चरेडाँडाको वातावरणमा परेको असर कम गर्न तत्काल काम सुरु गर्ने सहमति भएको छ ।

फोहोरमैलाका गाडी आउजाऊ गर्न सडक पूर्वाधार विकासका काम तत्काल सुरु गर्ने र पर्याप्त बजेट विनियोजन गर्ने सहमति भएको छ । गत फागुन २६ मा बसेको मन्त्रिपरिषद् बैठकले बञ्चरेडाँडाका सडक स्तरोन्नति गर्ने भने पनि जम्मा ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो । स्थानीयले उक्त रकम अपुग भन्दै पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने माग गरेका थिए ।

उपत्यकामा फोहोर व्यवस्थापन विकराल बन्दै
उपत्यकामा फोहोर व्यवस्थापन विकराल बन्दै गएको छ । सडकछेउ र गल्लीगल्लीमा फोहोरको थुप्रो देखिनु सामान्य बन्दै गएको छ । यसले उपत्यकालाई दुर्गन्धित एवं फोहोर बनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका दुई महानगरसहित १८ नगरपालिकाको फोहोरले उपत्यकामा फोहोरको थुप्रो लाग्न थालेको हो । सुक्खा मौसममा जेनतेन फोहोर व्यवस्थापन भए पनि पानी परेको समयमा भने समस्या हुने गरेको छ । फोहोर व्यवस्थापनका दीर्घकालीन उपाय खोज्नुपर्ने आवाज उठे पनि त्यसको ठोस र समाधानमुखी योजना अझै पनि आइसकेको छैन ।

राजधानीसमेत रहेको महानगर फोहोरको डंगुरले कुरूप र अस्तव्यस्त बन्दै गएको छ । बञ्चरेडाँडास्थित ल्याण्डफिल्ड साइटमा फोहोर फ्ँक्याने गरिएकामा आफूहरूका माग पूरा नगरिएको भन्दै त्यहाँका स्थानीयले बेला–बेलामा अवरोध गर्ने गरेका छन् । जसको कारण फोहोरको निकास नहुँदा उपत्यका दुर्गन्धित हुने गरेको छ । यसअघि पनि पटक-पटक स्थानीयसँग सहमति गर्दै तत्कालीन अवस्था सामसुम पार्दै आइएको थियो । सोही शृंखलामा शुक्रबार पनि बञ्चरेडाँडाका स्थानीयसँग सहमति भएको छ ।

ठूला ल्याण्डफिल्ड साइटको विकल्प खोजौँ : मन्त्री झाँक्री
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताउनुभएको छ । शुक्रबार सहरी विकास मन्त्रालयमा बञ्चरे डाँडावासीहरूसँग भएको छलफलमा मन्त्री झाँक्रीले ठूला ल्याण्डफिल्ड साइटहरू बन्न समय लाग्ने भएकाले विकल्पको रूपमा स-साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताउनुभएको हो । ‘हामीले ठूला ट्रिटमेण्ट प्लान्ट, ठूला प्रोजेक्ट ठूला ल्याण्डफिल्ड साइटको गफ गर्‍यौं अहिलेसम्म । तर, ती सक्सेस भएनन् । त्यसैले ठूलो ल्याण्डफिल्ड साइटभन्दा किन्ने, बिक्री गर्ने कानुन, कार्यविधि, मेकानिज्म बनाउनुपर्छ’, झाँक्रीको भनाइ छ ।

पूर्वाधार संरचनाहरू रोकेर भए पनि फोहोर व्यवस्थापन गर्नुपर्छ : थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताउनुभएको छ । शुक्रबार सहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइट बञ्चरेडाँडा र सरोकारवाला निकायहरूबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताउनुभयो ।

उहाँले विगतमा गरिएका गल्ती नदोहोर्‍याउने प्रतिबद्धता गर्दै स्थानीयहरूले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गर्नुभयो । महामन्त्री थापाले जग्गा अधिग्रहण गर्ने सबैभन्दा महत्वपूर्ण भएकाले प्रधानमन्त्रीलाई यसबारेमा सबैले अनुरोध गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले सरकारसँग भएको पैसाबाट नै ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न सकिने स्पष्ट पार्नुभयो । महामन्त्री थापाले काठमाडौंमा यो वर्ष बनाउने भनेका पूर्वाधार संरचनाहरू रोकेर भए पनि फोहोर व्यवस्थापन गर्न लाग्नुपर्ने दोहोर्‍याउनुभयो ।

बञ्चरे डाँडाको विकल्प खोज्नुपर्छ : महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले फोहोर व्यवस्थापन गर्ने कुरामा बञ्चरे डाँडाको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । शुक्रबार सहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइट बञ्चरेडाँडा र सरकारवाला निकायहरूबीचको छलफलमा प्रवक्ता महतले सधैँ राज्यले बञ्चरे डाँडामा फोहोर विसर्जन गर्छु भन्ने मानसिकताबाट मुक्त भई त्यसको विकल्प खोज्नुपर्ने बताउनुभएको हो ।

उहाँले सधैँ बञ्चरेडाँडा, ओखरपौवा र सिसडोल नै फोहोर व्यवस्थापनको लागि पर्याप्त भई नरहने भन्दै त्यसको विकल्पको रूपमा आधुनिक प्रविधियुक्त मेसिनको आवश्यक रहेको बताउनुभयो । प्रवक्ता महतले बञ्चरे डाँडाका बासिन्दालाई दुर्गन्धबाट टाढा राख्न र रोगव्याधीको समस्या, दुर्घटनाबाट टाढा राखि रोजगारी व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान हुनुपर्ने भन्दै दुर्गन्धबाट टाढा बस्न पाउनुपर्ने माग बञ्चरे डाँडावासीको जायज माग भएको बताउनुभयो ।

फोहोर व्यवस्थापन गर्ने मेसिन नभएसम्म समस्या समाधान हुँदैन : मानन्धर
नेकपा एमालेका नेता रामवीर मानन्धरले फोहोर व्यवस्थापन गर्ने मेसिन खरिद नभएसम्म काठमाडौंको फोहोर समस्या समाधान नहुने बताउनुभएको छ । शुक्रबार सहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइट बञ्चरेडाँडा र सरकारवाला निकायहरू बीचको छलफलमा उहाँले फोहोर व्यवस्थापन गर्ने मेसिन खरिद नगरी बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न नदिने बताउनुभएको हो ।

उहाँले सरकारले मेसिन खरिद गर्ने निर्णय गरेपछि मात्रै फोहोर विसर्जन गर्न दिने र फोहोर विसर्जन गर्न मेसिन खरिदबाहेक अर्को विकल्प नरहेको बताउनुभयो । नेता मानन्धरले मेसिन ल्याउने कुराको एकल निर्णय गरेर मात्रै फोहोर विसर्जन गर्न सरकारसँग अनुरोध गर्नुभयो । नेता मानन्धरले फोहोर विसर्जनको उत्तम विकल्प भनेकै मेसिन भएको बताउनुभयो ।

फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्नुपर्छ : श्रेष्ठ
नेकपा (एकीकृत समाजवादी)का नेता जीवनराम श्रेष्ठले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुभएको छ । शुक्रबार सहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइट बञ्चरेडाँडा र सरोकारवाला निकायहरू बीचको छलफलमा नेता श्रेष्ठले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले फोहोरका कारण काठमाडौं बस्न नसक्ने अवस्थामा रहेको भन्दै यसको तत्काल समस्या समाधान गर्नुपर्ने बताउनुभयो । नेता श्रेष्ठले फोहोर व्यवस्थापनको स्थायी समाधान खोजेर ल्याण्डफिल्ड साइटका बासिन्दाहरूलाई पनि न्याय र सफा वातावरणमा बस्ने कुराको सुनिश्चितता गर्र्नुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?