पहिरोले अस्तव्यस्त राजमार्ग, सडक अवरुद्ध हुँदा यात्रुहरू गन्तव्यमा पुग्नै मुस्किल

हिमालय टाइम्स
Read Time = 8 mins

डिबी शर्मा/हिटा
काठमाडौं । रोल्पा लिवाङका दिनेश सुवेदी बिहीबार साँझ घर जान काठमाडौंबाट हिँड्नुभयो । साँझ ७ बजे काठमाडौंबाट गाडीमा हिँड्नुभएका सुवेदी शुक्रबार अपराह्नसम्म मुग्लिनमै हुनुहुन्थ्यो । नारायणगढ मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा झरेको पहिरोका कारण यातायात अवरुद्ध भएपछि उहाँ २१ घण्टामा पनि मुग्लिन कट्न सक्नुभएन । ‘बिहीबार साँझ ७ बजे काठमाडौंबाट हिँडेको २१ घण्टासम्म मुग्लिन कट्न सकिएन,’ शुक्रबार साँझ उहाँले भन्नुभयो, ‘यतिबेरसम्म त घर पुगिसक्नुपर्ने हो । अब फेरि कतै बाटो अवरोध भएन भने शनिबारसम्म घर पुगिएला कि ?’

यस्तै, सुर्खेतका नीरज आचार्यले पनि झण्डै २४ घण्टाजति मुग्लिनमै बिताउनुपर्‍यो । बिहीबार साँझ ५ बजे काठमाडौंबाट हिँड्नुभएका उहाँ शुक्रबार दिउँसोसम्म पनि मुग्लिन नकटेको बताउँदै हुनुहुन्थ्यो । ‘काठमाडौं सुर्खेत गाडीमा सरदर १६÷१७ घण्टाको बाटो हो । मेरो त झण्डै २४ घण्टा मुग्लिन कटाउनै बित्यो,’ उहाँले भन्नुभयो, ‘न खाने टुंगो छ, न पिउने पानी । सुत्ने कुरा त परको भयो । घर पुग्ने त कहिले हो कहिले ?’
आचार्य र सुवेदी दुई प्रतिनिधि पात्र हुनुहुन्छ । पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध हुँदा सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । काठमाडौंबाट बाहिरिनेहरू मात्रै होइन भित्रिनेहरूलाई पनि मुग्लिन सास्ती उस्तै छ । २०/२५ घण्टादेखि जामका लाममा बस्न यात्रुहरू बाध्य छन् । विभिन्न समस्या र काममा हिँडेका यात्रुहरू लामो समय बाटोमै अल्झिँदा आक्रोशित भएका छन् । लामो समय बाटोमै अलपत्र परेपछि उनीहरूलाई खानपिनको समेत समस्या भएको छ ।

वर्षा सुरु भएसँगै नारायणगढ-मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृंखला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो गइहाल्छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार सेतीदोभान, इच्छाकामनाको चार किलो, पाँच किलो, १४ किलो लगायतका ठाउँमा निरन्तर पहिरो गइरहेको छ । एउटा पहिरो पन्छायो अर्को ठाउँमा पहिरो जान्छ । सुक्खा, लेदो माटो र ढुंगासहितको पहिरोले सडक खुलाउनसमेत समस्या भएको कार्यालयले जनाएको छ । सडक सफा गरेर केही सवारी पार गर्न नपाउँदै फेरि पहिरो खस्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । यो समस्या नारायणगढ-मुग्लिन सडकको मात्र होइन । वर्षा सुरु नहुँदै देशका विभिन्न ठाउँमा सडकहरू अवरुद्ध भएका छन् । खासगरी पहाडी क्षेत्रका सडकहरू हल्का पानी पर्न थालेपछि अवरुद्ध भइहाल्छन् ।

मुग्लिन-आँबुखैरेनी सडक शुक्रबार साँझदेखि बन्द, केही दिन ठूला सवारी नचल्ने
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्ड शुक्रबार साँझ ७ बजेदेखि बन्द गरिएको छ । आँबुखैरेनी–४ पावर हाउसनजिक शुक्रबार बिहान सडक भासिएपछि अवरुद्ध सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म बन्द गरिएको हो । सडक भासिएपछि उक्त ठाउँमा साना सवारीसाधन मात्रै सञ्चालन गरिएको थियो । सडक भासिएको ठाउँमा भित्तापट्टि सडक खन्न थालिएको छ । डेढ/दुई मिटर भित्ता खनेर सडक सञ्चालन गर्न काम भइरहेको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख लक्ष्मी केसीले जानकारी दिनुभयो ।

मुग्लिन-आँबुखैरेनी सडकखण्डमा एकतर्फी रूपमा साना सवारी चले पनि केही दिन ठूला सवारी नचल्ने भएको छ । साना सवारीसाधन सञ्चालन गरिए पनि ठूला सवारी भने चल्ने अवस्था नभएको सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार खण्डको करिब २० मिटर सडक तल खसेको छ । उहाँले भन्नुभयो, ‘करिब २० मिटर सडक भासिएको छ । वरपरका ४० मिटर क्षेत्र जोखिममा रहेका छन् ।’

शुक्रबार बिहान सडक भासिएर कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एक जनाको सनाखत भएको छ भने अर्का व्यक्तिको सनाखत नभएको प्रहरीको भनाइ छ । गोरखा घर भई आँबुखैरेनी-२ बस्ने ३५ वर्षीय केशव घिमिरेको सनाखत भएको प्रहरीले जनाएको छ । अर्का एक व्यक्तिको सनाखत हुन सकेको छैन ।

नारायणगढ-मुग्लिनबाहेक धेरैजसो राष्ट्रिय राजमार्गहरू बर्सेनि बाढी-पहिरोका कारण अवरुद्ध हुने गरेका छन् । संघीय राजधानी काठमाडौं छिर्ने पृथ्वी राजपथ, त्रिभुवन राजपथ, अरनिको राजमार्गलगायत मुख्य राजमार्गमा वर्षायाममा छिनछिनमै पहिरो जाने गरेको छ । सिद्धार्थ राजमार्गको सिद्धबाबा, त्रिभुवन राजपथको मुग्लिन-नारायणघाट खण्ड, अरनिको राजमार्गको बाह्रबिसेमा पनि बर्खामा बर्सेनि पहिरो जाने गरेको छ ।

पूर्व-पश्चिम राजमार्गको दाउन्ने, कोसी राजमार्गको भेंडेटार-धनकुटा, मेची राजमार्गको माई खोला क्षेत्रमा पहिरो गइरहन्छ । त्यस्तै, अरनिको राजमार्ग, मेलम्ची क्षेत्र, काठमाडौं-नुवाकोट हुँदै रसुवागढी जोडिने पासाङल्हामु राजमार्ग र बेंसीसहर चामे (मनाङ) सडकखण्ड बाढी–पहिरोको बढी जोखिममा छन् । यहाँ पनि बेलाबेलामा पहिरो जाने गरेको छ ।

यसका अलावा कर्णाली राजमार्गका विभिन्न स्थान, धनगढी-दार्चुला, डडेल्धुरा-बझाङ, गोरुसिंगे-सन्धिखर्क, पाल्पा-गुल्मी सडकखण्ड पनि जोखिममा छन् । प्रदेश १ मा धरान, हिले हुँदै वसन्तपुर जोडिने सडक, घुर्मी-ओखलढुंगा र खोटाङ तथा इलाम, पाँचथर हुँदै ताप्लेजुङ जोडिने सडकमा पहिरोको जोखिममा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?