कविता : म कहाँ सुरक्षित थिएँ

हिमालय टाइम्स
Read Time = 4 mins
A A- A+

✍️ सञ्जिला विश्वकर्मा
बर्सौंपछि आज फेरि पनि
म बलात्कृत भएकी छु,
लुटिएका छन् सञ्जालहरूमा
मेरो सर्वस्व
बोलिएका छन् मेरो पक्षमा आवाज
फेरि पनि म बलात्कृत भएकी छु ।।

आज म फेरि उसैगरी डरलाग्दो
‘डर’ सँग डराएकी छु
डरले समाउनु समाएको छ जताततै
कामिरहेका छन् हातखुट्टाहरू
गलेको छ पूरै शरीर
कहिलेकाहीँ आफैंलाई देखेर आफ्नै
दया लागेर आउँदो रहेछ ।।

मेरा सपना !
मेरो भविष्य !
अनि म !
अन्धाधुन्ध अँध्यारोमा अँधेरिएका
छौं,
म १६ वर्षकी केटी जीवनलाई
जीवन बनाउनका लागि जीवन
खोजिरहेकी,
मेरो उमेरसँगै मेरो शरीरको
मोल यसरी बढ्ला भन्ने
विचरी मलाई के थाहा ।।

धेरै छट्पटी लागेको छ,
छट्पटी छट्पटी धेरै त बाँच्दिन
आज जे भयो भैगयो
आखिर एकदिन न एकदिन
ममाथि यस्तो हुनुपर्ने नै थियो ।

प्रचारप्रसार गर्न छोड्देऊ,
छोड्देऊ अदालतसँग न्याय माग्न
तिम्रो नाटक मेरो अगाडि नदेखाऊ
पहिला भन न म कहाँ सुरक्षित थिए,
अनि तिमी मलाई कुन सुरक्षा
दिन खोज्दै छौ ।।

सुनन
म कहाँ सुरक्षित थिए !
जब जन्मिएको झुपडीमा
झुपडीले नचाहँदा नचाहँदै पनि
टुक्राटुक्रा बनाएर कोठालाई
कोठाहरू बनाइयो
आफ्नै बाबु, दाजुभाइको डरले
म कहाँ सुरक्षित थिए !
जहाँ पुरुष मास्टरको डरले
मेरो भाग्यमा शिक्षा लेखिएन ।

म कहाँ सुरक्षित थिए !
जहाँ जागिरको लागि दिएका
हरेक अन्तर्वार्तामा
मेरो क्षमताभन्दा बढी
शरीरको आकार हेरिएको थियो ।।

म कहाँ सुरक्षित थिए !
रातमा अलिकति ढिला हुँदा
जंगली जीवजन्तुको भन्दा बढी
मेरी आमालाई मेरो डर,
मलाई पुरुष भन्ने जीवको डर
थियो ।।

जीवनको कालखण्डको त्यही
आठ वर्ष होला म नडराएको
मेरी आमा म छु भन्ने दिनदेखि
नै डराएकी थिइन होला
नारीलाई वस्तु नै सम्झेका थियौ
सित्तैमा पाएको सितन,
‘नारी’ लाई पुरुषको प्रत्येक कुराको
सितन बन्नुपर्ने छ !
यदि म गलत छैन भन्ने ।।

विचरा नारीलाई सित्तैमा पाएको
छातीको चौडाइले र कम्मरको मोटाइले
बाँध्नु बाँधेको छ
चाहेर पनि घरको तगारो नाग्नसम्म दिँदैन
मसँग बाँकी के छ !
अब एकपटक खुलेआम
शहरका केन्द्रबिन्दुमा
यौन व्यापार गर्नुपर्ने छ
र बेच्नुपर्ने छ किस्ता किस्तामा
सुरुवात आफ्नै घरदेखि गर्नुपर्ने छ

हे ईश्वर !
मलाई टुक्रिनु छ, फुट्नु छ
पत्थर जसरी
मलाई बारम्बार माटो नबनाऊ
फिर्ता लैजाऊ तिमीले सित्तैमा दिएको
मान्छे जन्माउने मेसिन,
र मेटाइदेऊ नारी भन्ने जीवको अस्तित्व
अनि लेख इतिहासमा
यस कारणले नारीलाई बाँच्नु थिएन ।

आदरणीय महोदय !
अझै पनि तपाईं
मेरो लागि लड्नु हुन्छ भने,
दुनियाँबाट प्रेम भन्ने शब्द हटाउनुहोस् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Biswas Nepali
Biswas Nepali
2022-06-11 6:58 pm

Grateful work sir

छुटाउनुभयो कि ?