मेरो अतीत मेरो अनुभव : मकवानपुरपछि रौतहट, कास्की तथा पर्साको जिशिअ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 12 mins

रमेशप्रसाद गौतम
मकवानपुरपछि रौतहटमा पुगेँ । रौतहट जिल्ला शिक्षाका लागि अर्को संसार थियो । त्यहाँ शिक्षकको नियुक्ति, सरुवादेखि हरेक कुरामा अव्यवस्थित र अनियमितता थियो । तत्कालीन नेता र कर्मचारीको मिलोमतोमा आर्थिक प्रलोभनका कुरा पनि सुनिन्थ्यो । यस्तै गैरजिम्मेवार गतिविधिलाई नियन्त्रण गर्नेतर्फ लागेँ र त्यहाँ विद्यालयको पठनपाठनमा शिक्षकको ध्यान कम शिक्षा कार्यालयमा बढी भेला हुने जस्ता कुरालाई दुरुत्साहन गरेँ । एसएलसी परीक्षामा एउटा ठूलै मेला लाग्ने परीक्षा केन्द्रभित्र अनियमित गर्न प्रायः सबै पक्ष लाग्ने जस्ता घटना हरेक साल घट्दै आएको कुरा सुनेँ ।

परीक्षा सुरु हुनुभन्दा महिना दिनअगाडिदेखि नै परीक्षा समन्वय समितिको बैठक राखी कसरी एसएलसी परीक्षा अनुशासित र मर्यादित गराउने भन्ने विषय छलफल गर्दै आइयो । प्रधानाध्यापक, शिक्षक, जनप्रतिनिधि समेतलाई बैठकमा बोलाई छलफल गर्दै सबैले सहयोग नगरे जिल्लाको बदनाम हुन्छ । परीक्षा केन्द्र रद्ध हुन्छ आदि कुरा बुझाएर विस्तारै सबैको साथ सहयोग लिएर परीक्षालाई मर्यादित बनाउने प्रयास भयो ।

२०४२ सालमा नेपाली कांग्रेसको सत्याग्रहको आन्दोलन कार्यक्रम थियो । त्यतिबेला शिक्षक र प्रतिबन्धित नेपाली कांग्रेसका कार्यकर्ताहरू सरकारी कार्यालयलगायत ठाउँहरूमा बन्द र तालाबन्दी गर्दै हिँडेका थिए । त्यसै अवसरमा तत्कालीन शिक्षक संगठन अध्यक्षले केन्द्रबाट जनक दाइले आफ्नो सानु लेटरप्याडमा त्यहाँको शिक्षा अधिकारी हाम्रो मान्छे हो उसलाई दुःख दिने काम नगर भनेर लेखेर पठाएको व्यहोराको चिठ्ठी केही साथीलाई तत्कालीन त्यस जिल्लाका शिक्षक संगठनका अध्यक्षले देखाएछन् । त्यसपछि केही पञ्चायती विचारका शिक्षक र विद्यार्थीले उक्त व्यहोरालाई समेत समावेश गरी जिल्लाव्यापी पम्प्लेटिङ गरी केही प्रति शिक्षा मन्त्रालय पठाएछन् ।

सरल शिक्षण प्राणीलाई के थाहा त्यसपछि के होला भनेर । केन्द्रबाट जनक दाइले पठाएको व्यहोराको समेत फोटोकपी गरेर तत्कालीन पञ्चायती पक्षधर शिक्षक र केही पञ्चले यो शिक्षा अधिकारी बहुदलवादी रहेछ भन्ने हल्ला मच्चाए । हेर आन्दोलानकारीले पठाएको चिठ्ठी भन्दै जिल्लाव्यापी पर्चा पम्लेट छर्दै टास्दै गएछन् । त्यो पम्प्लेट शिक्षा मन्त्रालयमा पुगेछ । शिक्षा सचिवको त्यसैलाई आधार मानेर टिप्पणी उठाएर मलाई खुला आवाबाट जिल्ला छाडी दरबन्दी कायम रहेको कीर्तिपुर माविमा हाजिर हुन जानु भन्ने आदेश आयो ।

तत्कालै जिल्ला छाडी म काठमाडौंतर्फ आएँ । संयोगले त्यति बेलाका सिडिओ पुष्पप्रसाद लुइँटेल हुनुहुन्थ्यो । उहाँ मेरो टाढाको नातेदार पनि । उहाँलाई नराम्रो लागेछ क्यारे यो स्थानीय प्रशासन अध्ययन गर्न नपाउँदै एकै चोटी केन्द्रमा कसरी आयो र यति चाढो किन निर्णय ग¥यो । यो विषयमा स्थानीय प्रशासन अनभिज्ञ छ भनेर लिखित पठाउनुभयो । त्यस जिल्लामा सिडिओ साबलाई मेरो कारणले प्रशासन चलाउन सजिलो पनि थियो । एकातर्फ शिक्षक सहयोगी हुने अर्कातर्फ कांग्रेसी नेता, इन्द्रिस, परमानन्द, हरिहर यादव मलाई अत्यन्त मन पराउने गर्दथे ।

तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेसका नेता शेख इद्रिस पार्टीका लागि केही पैसा मिलाइदिनुहोस् भनेर रातको १० बजे मेरो क्वार्टरमा आउनुहुन्थ्यो । एकपल्ट नेपाली कांग्रेसको क्षेत्रीय भेला छ हामीसँग फुटेको कौडी छैन तत्काललाई एक हजार मिलाइ दिनुहोस् भन्नुभयो । मैले भने त्यतिखेर मेरो मासिक तलब रु ६२० मात्र थियो । मैले महिनाभर खानु पर्‍यो यत्रो रकम कहाँबाट दिऊँ भनेँ । उहाँले तपाईंको कर्मचारी रामवृक्षलाई दिनु भनिदिनोस् उहाँले कहीँबाट प्रबन्ध गरिदिनुहुन्छ ।

तपाईंको जिल्ला परीक्षा समितिको उहाँ सचिव हुनुहुन्छ । मलाई थाहा छ तपाईं कसैको एक कप चियासमेत खानुहुन्न तर पनि संकटको बेला केही न केही गर्नुहुन्छ भनेर आएको हुँ भन्नुभयो । मैले विवषतावस आफ्नो कर्मचारी रामवृक्षलाई तपाईंले हाम्रा नेतालाई सहयोग गर्न सक्नुहुन्छ भने गरिदिनुहोस भनेँ । उहाँ खुशी भएर सहयोग गर्न तत्पर हुनुभयो ।

तत्कालीन सरकारको शान्ति सुरक्षा र सुराकीको अवस्था मजबुत रहेछ । भोलिपल्टै सिडिओ बोलाएर तपाईं कहाँ प्रतिबन्धित ठूला नेता राति आउँछन् होइन भन्नुभयो । मैले हो भनेँ । त्यसपछि हाँस्दै म त सिडिओमात्र होइन तपाईं हामी आफन्त पनि त हौँ । मलाई भनेका भए म नै एक हजार दिइहाल्थेँ नि किन छट्पटिएर आफ्नो कर्मचारीलाई अराएको भन्नुभयो । हामीलाई आफ्नो कार्यकालमा शान्त वातावरण बचाउन र केही विकास निर्माणको कार्य सम्पन्न गर्नुछ । तपाईंले भनेका यी नेता मानिहाल्छन् । अरू के चाहियो र म तपाईंको रिपोर्ट गर्दिन भन्नुभयो । कुरा यत्तिकै टुंगियो ।

रौतहतपछि कास्कीको जिल्ला शिक्षा अधिकारीमा सरुवा भएँ । त्यहाँको पनि शिक्षाको स्थिति गज्याङमज्याङ नै देखेँ । शिक्षा कार्यालयदेखि विद्यालयसम्म अव्यवस्थित थियो । सुरुमै जानासाथ २५ जनाभन्दा बढी प्रधानाध्यापकहरूलाई सार्वजनिक मुद्दामा सिडिओ कहाँ तारिख धाउनु परेको रहेछ । केही अगाडि शिक्षकहरूले आन्दोलनका क्रममा शिक्षा कार्यालय भवन तोडफोड गरेको निहुँमा यस किसिमको मुद्दा लगाएको रहेछ । त्यसलाई स्थानीय प्रशासनमा गएर यसरी शिक्षकलाई अल्झाएर त्रासमा राखेर विद्यालयमा पढाइ राम्रो हुन सक्तैन । आन्दोलनको क्रममा केही विद्यार्थीले तोडफोड गरेको बुझेँ, शिक्षकमाथि अन्याय गर्नु भएन भनेर भनेँ । सिडिओले कुरा बुझ्नुभयो र केही दिनमै मुद्दा फिर्ता गर्नुभयो सबै शिक्षकले छुटकारा पाए ।

शिक्षक भनेका सरल प्राणी हुन तिनलाई सामान्य मर्यादा र माया देखाउनसाथ दंग हुन्छन् । तिनलाई नियन्त्रण गर्न जान्नु भने पर्दछ । धम्क्याएर तर्साएर नियन्त्रणमा लिन कठिन छ । बरू तिनलाई पेशाप्रति प्रतिबद्ध र कर्तव्यप्रति सजग गरायो भने चाँडो शिक्षाको मुहार बदल्न सकिन्छ ।

म कास्कीको जिशिअ छँदा त्यहाँ केही निजी स्तरका प्राथमिक विद्यालयहरू सञ्चालनमा थिए तर तिनको स्वीकृति थिएन । तैपनि ती चलिरहेका थिए र तिनको स्तर पनि राम्रो थियो । विकल शेरचनले कक्षा आठसम्म सञ्चालन गरिरहनु भएको थियो । क्षेत्रीय शिक्षा निर्देशक आनन्दलाल श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले स्वीकृति रोक्नुभएको रहेछ । शिक्षा सचिव डा. नरसिंहनारायण सिंह भ्रमणमा त्यहाँ जानुभयो । उहाँको निजीलाई प्रोत्साहन गर्नुपर्छ भन्ने नीति थियो । त्यसबेला रणधीर सुब्बा शिक्षामन्त्री हुनुहुन्थ्यो । उहाँ समक्ष पनि यो कुरा पेश भए छ । त्यस्ता विद्यालयहरूलाई स्वीकृति दिनु भन्ने निर्देशन आयो सोहीअनुसार मैले स्वीकृति दिएँ ।

म कास्कीमा छँदैको अर्को संस्मरण मेरो मष्तिष्कमा आज पनि ताजै छ । त्यसबेला गण्डकी अञ्चलको अञ्चलाधीश भएर नरेन्द्रकुमार चौधरी जानुभयो । कार्यालय प्रमुखहरूको बैठक भयो । बैठक सकिएपछि मलाई केही बेर पख्नुस् है भन्नुभयो । म पर्खिएँ । उहाँले ‘म प्रजातान्त्रिक विचारको मानिस हुँ मलाई सहयोग गर्नुपर्छ है’ भन्नुभयो । मैले के कस्तो सहयोग गर्नुभन्दा उहाँले म नयाँ छु के बोल्ने कसरी बोल्ने भनेर सिकाउनुपर्छ भन्नुभयो । त्यसबेला प्राथमिक शिक्षा परियोजना लागू भएको थियो । त्यसका लागि विदेशी सहयोग पनि प्राप्त हुने गरेको थियो । गौरी दवाडी र अशोक अर्यालले सहयोग गर्ने गर्नुभएको थियो । उहाँहरू प्रजातान्त्रिक विचारको हुनुहुन्थ्यो ।

तारानाथ रानाभाटसँग पनि सम्बन्ध भयो । उहाँ कांग्रेसी शिक्षकहरूले दुःख नपाऊन् भन्नुहुन्थ्यो । पछि दवाडीलाई राजनीतिक कारणले निष्काशन गरियो । हाल उहाँ नेपाली कांग्रेस पार्टीको राजनीतिमा सक्रिय हुनुहुन्छ । अञ्चलाधीश चौधरीले म जिल्ला शिक्षा अधिकारी भएका कारण स्कुल क्याम्पसहरूको निरीक्षणमा जाँदा मलाई सँगै लानुहुन्थ्यो । उहाँले मलाई पृथ्वीनारायण कलेज तथा अन्य केही कलेज र विद्यालयहरूको निरीक्षणमा जाँदा सँगै लानुभएको थियो । क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?