एउटा विषयले अर्को विषयलाई जन्माएको कुरा महत्वको हुँदोरहेछ । पाठक प्रतिक्रियाबाट नयाँ विषयको सन्दर्भ जोडिएको कुरा आजको लेखको विषय बनेको छ । देश अहिले ट्रान्जिट प्वाइन्ट जस्तो बनेको छ । विदेश जाने र आउनेहरूको लर्को लागिरहेको छ । सम्पन्नता र विपन्नता दुवै परिस्थितिमा देश छोड्नेहरूको सङ्ख्या बढ्दो रहेछ । कामको सिलसिलामा संसारका धेरै मुलुकमा नेपालीहरू पुगेका छन् । त्यसरी जाने र आउने नागरिकसँग जोडिएको एउटा शब्द छ गिफ्ट अर्थात् उपहार । कसले आउँदा के ल्याइदियो वा कसलाई बाहिर जाँदा के उपहार दिइयो ? भनेर हाम्रो सामाजिक वृत्तमा चर्चा हुने गर्दछन् ।
केही हप्तापहिलेको हिमालय टाइम्समा मेरो यस्तै उपहारसम्बन्धी लेख प्रकाशित भएको थियो । त्यो लेख पढेर केही आफन्तहरू खुशी भएर मेरो व्यक्तिगत समाचार पाटीमा पनि केही समाचारहरू पठाउनुभयो भने केही पाठकहरूले उपहारले पीडित भएको कुरा गरेर दुःख व्यक्त गर्नुभयो । दुवैका आ-आफ्नै तर्कहरू थिए । विदेशमा बसेर उपहारको मारमा परेकाहरूले लेख मन पराएर ठीक भनिस्, मनकै कुरा भनिदिइस् भनेर धन्यवाद दिइरहँदा अर्काथरि आफन्त जो उपहार त पाएका थिए तर उपहारको नाममा पाएका त्यस्ता कमसल स्तरका सामानबाट असन्तुष्ट रहेको बताइरहेका थिए ।
जस्तातस्ता उपहारहरू दिएर दिएँ भन्नुभन्दा त्यस्ता उपहार नपठाइदिएकै वा नल्याइदिएकै भए हुने । के स्वदेशमा बस्छ भन्दैमा उसलाई जस्तोतस्तो उपहार दिएर हेप्नु उचित हो ? बरू केही नदिनु राम्रो हो । हामी यसै पनि आफ्नो मेसो गरेर खाएकै छौं । त्यति धेरै असजिलो पर्छ भनेँ हामीले ल्याउनै वा पठाइदिनै पर्छ भनेर त भनेका हुँदैनौं । हो ! कसैले केही दिन्छ वा पठाइदिन्छ भने खुशी लाग्नु मानवीय स्वभाव हो तर उपहार कुनै कर वा बाध्यता होइन । हामीले आफन्तका सबै समस्या नबुझे पनि केही त बुझेकै पनि छौं नि ? विदेशमा डलरको रूख हुँदैन भन्ने हामीलाई थाहा छ तर आफ्नाको सम्मान राख्न सक्नुपर्छ भनेर प्रतिक्रिया गरेको कुरा केही अनौठो लाग्यो ।
पाउनु पनि असन्तोष गर्नु पनि यो कस्तो कुरा होला ? भन्ने पनि लाग्यो । साथै मानिसको स्वभाव र स्वाभिमानको कुरा मनमा आउँदा यो कुराले केही गम्भीर पनि बनायो । दिनेले पनि सित्तैमा दिने कुरा जस्तोतस्तो दिए पनि हुन्छ भनेर सोच्नु र पाउनेले पनि जे जस्तो सामान पाउँदा पनि पाएको ठान्ने गरेको अवस्थामा पाएर पनि आफ्नो स्वाभिमानमा ठेस लागेको सम्झिनु केही नयाँ कुरा अवश्य हो । दानका सामान र उपहारका सामान किन्न पसल गयो भने पसलेले पनि त्यस्तै व्यवहार गर्छ ।
उपहारमा या त सस्तामस्ता सामान देखाउँछ र भन्छ उपहारै त हो यस्तै दिए पनि भइहाल्छ वा ज्यादै महँगा सामान अगाडि सार्छ र भन्छ उपहार दिनु छ चित्तबुझ्दो त हुनै पर्यो । त्यहीँ दानको कुरा गर्ने हो भने त अचम्म छ उसले कुनै पनि सामान कामलाग्ने दिँदैन । उसको त व्यापार हुने हो अलि स्तरीय सामान दिए पनि हुने हो नि ? तर त्यसो नभएर दान यति उपेक्षित भएको छ कि कसैले दानको नाममा गतिलो सामान रोज्यो भने पसले पनि दङ्ग पर्छ । अर्थात् हामीले नै दानलाई आफ्नो स्तरबाट तल झारेर आफ्नै संस्कृति र संस्कारलाई नै उपेक्षा गरिरहेका छौं ।
त्यतिमात्र नभएर मैले आफूले प्राप्त गरेका उपहारको कुरा उक्काएर कता कता बडप्पन देखाएको हो कि भनेर व्यङ्ग्य गरेजस्तो वा इष्र्या गरेको जस्तो पनि लाग्यो । आफूले म्याकबुक, आइफोन आदि पाएको कुरा गरेर मसँग यस्ता सामान छन् भन्न खोजेको हो कि ? अथवा आफूले पाएँ भन्दैमा सबैको त्यही अवस्था कहाँ हुन्छ र ? भनेर कटाक्ष गरेको पनि पाइयो । लेखक हुनुका नाताले यो त विषय प्रवेशको एउटा दृष्टान्तमात्र थियो । धेरै आफन्तको भोगाइ र अनुभूतिको प्रतिनिधित्व थियो ।
त्यसो त मैले पनि सधैं र सबै सामान गुणस्तरकै पाएको कहाँ छु र ? धेरैजसो सामान त त्यस्तै गुणस्तरहीन नै छन् । भन्न पो भएन दिनेको चित्त दुख्ला वा सम्बन्ध बिग्रिएला भनेर कति कुरा गरिँदैन र राम्रो मात्रैका कुरा गरिन्छ । एकजनाले त यतिसम्म पनि भनेका छन् कि मेरा एकजना आफन्तले मलाई रक्सीको खोलमा अरू नै सस्तो सामान राखेर उपहार दिए र त्यो प्राप्त उपहारले एकदिन ठूलो लज्जाको अनुभूति गर्नु पर्यो । कुरा के परेछ भने कोही विदेश गएका आफन्त उनलाई एउटा अलि नौलो खालको झोलामा केही फलफूलहरू लिएर भेट्न आएछन् ।
फलफूल राखिएको झोला यसो हेर्दा राम्रो लागेर एकदिन ती सज्जन त्यही झोला बोकेर आफ्नो नियमित काममा गएछन् । उनलाई त्यो झोला बोकेको देख्नेबित्तिकै अर्का हितैषी मित्रले कटाक्ष गर्दै भनेछन् । ‘ए ! सरकोमा पनि गतिलै उपहार आइपुगेछ । अनि यस्तो उपहार आउँदा हामी जस्तो साथीलाई सम्झिनु पर्दैन त एक्लै एक्लै रित्याइयो कि कसो सर ?’ भनेछन् । ती सज्जनले साथीका कुरा नबुझेर ‘खास के हो र ती केही फलफूल तपाईंले पनि खाइ नै रहनुहुन्छ अरू विशेष केही भए त सम्झिहाल्थेँ नि !’ भनेछन् ।
त्यसपछि मित्रले भनेछन् ‘हा ! सर पनि कस्तो लाटो कुरा गर्या यो झोला त विदेशी मदिराको झोला हो नि ? हेर्नुस् त झोलामा केही लेखेको छ र त्यो लेखिएको मदिराको नाम हो । बाहिरतिर कतिपय ब्रान्डका मदिराहरू यसरी नै झोलामा दिने चलन छ । मलाई पनि यस्ता उपहार आएका छन् कहिलेकाहीँ’ भनेपछि ती सज्जनलाई त्यो झोला बोकेर गौरवसाथ हिँडेकोमा लज्जाबोध भएछ । झोला र मदिरा एउटै कम्पनीले बनाएको हो वा मदिरा र झोलाको नाम संयोगले मिलेको हो वा साँच्चै साथीले भनेजस्तै मदिराकै झोला हो मित्र अन्योलमा परेछन् । लाटो हुनु कहिले धेरै राम्रो कहिले यस्तो लज्जास्पद विषय बन्ने रहेछ भन्ने ठानेर लाजमाने छन् ।
त्यसपछि उनलाई आफूले त्यो झोला प्राप्त गरेको विषय आफन्त र आफ्नो अवस्थामा घोरिन मन भएछ । यसरी मदिराकै खोल त नदिएको भए पनि हुने । या जे वस्तु हो त्यहीसहित दिएको भए हुन्थ्यो । मलाई के ठानेर यस्तो गरिएको होला ? अर्थात् म त्यो उपहारको स्तरको आफन्त बन्न सकिनछु । त्यसैले त्यो महँगो उपहार सोही योग्यताको आफन्तलाई दिइयो होला र मेरो योग्यता अनुसारको उपहार राखेर मलाई दिइयो होला । साँच्चै यो राम्रो भयो त ? यो त मप्रतिको उपेक्षाभाव हो भन्ने निष्कर्षमा उनी पुगेछन् र दुःखी भएछन् ।
त्यसै गरी कसैले ‘विदेशी भनेको घडी दुई महिना पनि टिकेन’ भनेका छन् । कसैले ‘पुरानो मोबाइल रहेछ नयाँ एपहरू डाउनलोड नै हुँदैनन्’ भनेका छन् । कसैले ‘उपहार ल्याइदिएका लुगा लगाएर हिँड्नै लाज’ भनेका छन् । कसैले ‘मेरा आफन्तलाई दिने भन्ने कुरा के हो थाहै छैन’ भनेका छन् । कसैले ‘यहाँ बसेर असजिलोमा साथ दिने हामी नै हौं उनीहरू आउने बेलामा एउटा सामान्य कुरा पनि सम्झिँदैनन्’ भनेका छन् । कसैले ‘विदेशबाट आउनेले आफैं घरगल्लीका सडेका केरा बोकेर आउँछन्’ भनेका छन् ।
यी त भए नपाउने र पाएर पनि असन्तुष्टका प्रतिक्रिया । उता दियौं वा दिइरहेकै छौं भन्नेले ‘यहाँ पनि डलर फल्ने रूख छैनन् क्यारे ।’ ‘सक्दो गर्ने हो ।’ ‘आफ्ना दुःख आफैंसँग छन् ।’ ‘दिँदा दिँदा हत्तु भइयो हाम्रो व्यथा कसले बुझ्ने’ भन्नेदेखि ‘खाऊन् मलाई वा मेरो भाग्यलाई खान सक्दैनन् क्यारे’ सम्म भन्न भ्याएका छन् । प्रतिक्रिया अनौठा अनौठा प्रकृतिका थिए । कुरा उक्काउन गाह्रो मानेर वा भन्न नमिलेर रहेछ धेरैजसोका मनमा त्यस्ता कुराहरू गुम्सिएर बसेका हुँदा रहेछन् भन्ने पनि लाग्यो ।
यस्तो कुरा मैले पनि नभनौँ कि ! व्यक्तिगत सम्बन्धका यस्ता कुरा गर्दा मेरै आफन्तहरूमा पनि असर पर्ला कि ?भन्ने पनि लागेकै हो । तर यी प्रतिक्रियाहरू प्रतिनिधि विचार हुन् । कोही न कोहीबाट यी विचारहरू बाहिर आउनै पर्छ भन्ने चेतनाले निर्देश गरेपछि मात्र लेख्न आँट गरेको हुँ ।
उपहारका यस्ता अनौठा घटना आफ्नैहरूबाट हुने गरेको अवस्थामा उपहारसम्बन्धी कुरा गर्नु जोखिमकै विषय रहेछ भन्ने लाग्यो । यो विषय साँच्चै गम्भीर रहेछ । नेपालको आर्थिक अवस्था र नेपालीहरूको जीवनस्तर अनि नेपाली मानसिकता समेतको अभिव्यक्ति भएका यस्ता प्रतिक्रियाले सारमा देशकै अर्थव्यवस्था, राजनीतिक व्यवस्था, नेपाली संस्कृति र संस्कारसम्मको प्रतिनिधित्व गरेको लाग्यो ।
केही अनौठो, केही चिन्ता र केही विस्मात्का साथ ती प्रतिक्रिया पढेँ । सित्तैमा कसैलाई केही दिन त्यति सजिलो छैन । कसैलाई पनि रुपैयाँ पैसा अर्घेलो छैन ।
उपहार लिनेले कुनै दिन यसै प्रकृतिको उपहार दिनुपर्छ भन्ने ठानेर सोच्ने र उपहार दिनेले पनि कुनै दिन यसै प्रकृतिको उपहार पाउन सकिन्छ भनेर सोच्ने सकारात्मक वातावरण बन्ने दिन उपहार संस्कृति पनि केही सम्मानित बन्ला भन्ने कामना गरौं । त्यसैले कसैसँग यत्तिकै आश गरेर दुःखी हुनुको पनि औचित्य छैन । हामीले नै कतिजनालाई आफ्नो मन फुकाएर उपहार प्रदान गरेका छौं ? त्यतातर्फ पनि सोचौं र आफूले पनि त्यही अनुरूपको आशा राखौं । राम्रा गुणस्तरका उपहार दिने तपाईंहरूलाई हार्दिक आभार छ तर जसले उपहारका नाममा आफन्तका चित्त दुःखाएका छौं उहाँहरूले पनि कसैको आत्मसम्मानको हेक्का राखौं । उपहार लिने र दिने स्वैच्छिक प्रक्रिया अझ सुन्दर बन्न सकोस् ।
ती प्रतिक्रिया व्यक्त गर्ने शुभेच्छुकहरूप्रति खास उत्तर गर्नु छैन । जानेर नजानेर त्यस्ता केही कुरा गरिए जो मनमा लागेका थिए । र, यति धेरै सुझाबसहितका प्रतिक्रियाहरू शिक्षाप्रद छन् । उपहार दिने र लिने यो प्रक्रिया हिजैदेखि छ र अनुभवहरू पनि आफ्नै प्रकारका छन् । यो उपहार संस्कृति स्वैच्छिक हुँदाहुँदै पनि केही बाध्यात्मक रहेको र कोही कसैको घरमा रित्तै हात जानुलाई केही नराम्रो मानिने हाम्रो संस्कृति भएकाले केही लिएरै जानुपर्ने बाध्यताभित्रका यस्ता घटनाबाट धेरै कुरा सिक्ने अवसर जुटेकोमा भने खुशी नै लागेको छ ।
उपहार तथा दान दुवै अपहेलित बनाउने हामी नै ह्वाैं ।अतः डा चालिसेलाई हार्दिक धन्यवाद याे कुराकाे अात्मस्वीकृतिका लागि ।शब्दका माध्यमले तर्कसँग खेल्ने कलाकाे राम्राे विकास भएकाे छ ।भावलाई सीपले र सीपलाई बुद्धि र तर्कले नथिचुन् है डा साहब ।