महिना दिन मनाईयो साकेला उभौली

Read Time = 4 mins

-चिसाङ शेर्पा
खोटाङ । किरात समुदायको महान चाड साकेला उभौली महिना दिन मनाईएको छ । बैशाख पूर्णीमाको अवशरमा पूर्वी खोटाङसहित किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला उभौली सुरु भएको थियो ।

किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायमा ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आई नलागोस्, सुव्यफाव्य होस्’ भन्ने कामनामा भूमी, पितृ र अन्नको पूजाआजा गरी साकेला उभौली चाड मनाउने प्रचलन रहिआएको छ ।

शनिबार दिक्तेलस्थित माटिकोरे खेलमैदानमा किरात राई यायोक्खा र किरात सेवा समाज दिक्तेलले उभौलीको अवसरमा आयोजना गरेको बृहत साकेला नाचमा जिल्लाका विभिन्न स्थानका ११ टिमले साकेला नाच प्रदर्शन गरेको किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले जानकारी दिनुभयो ।

खोटाङमा हरेक वर्ष किरात राई यायोक्खाको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मझुवागढीमा सामूहिक साकेला नाचेर विधिवत रुपमा उभौली सुरु हुने र माटिकोरे खेलमैदानमा औपचारिक कार्यक्रम गरी साकेला नाच प्रदर्शन गरेर उभौली समापन गर्नेे गरिन्छ । उभौली चाडको अवसरमा महिना दिन आफन्त, साथीभाई, नरनाता, छरछिमेकबीच पारिवारिक तथा ब्यक्ति–ब्यक्तिबीच भेटघाट गर्दै शुभकामना आदानप्रदान गर्ने चलन रहिआएको छ ।

साकेला पर्वको अवशरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाई, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै साकेला नाच्ने प्रचलन छ । साकेला थानमा पितृभूमीको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरु गरिन्छ । अन्नबाली छर्ने बेला अर्थात बैसाख पूर्णीमामा उभौली र अन्नबाली उठाउने याम मंसिर पूर्णीमामा उधौली एक महिनासम्म मनाईन्छ ।

साकेलाको अवशरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षीको कृयाकलापलाई चित्रण गर्दै नाच्ने परम्परा रहिआएको छ । साकेला पर्व र साकेला नाचको शुरुवातका बिषयमा बिभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको शुरुवातका बिषयमा किरात समुदायमा आ–आफ्नै तर्क र भनाइहरु छन् । यद्यपी, किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको शुरुवात गरेको किंवदन्तीमा सबै एक मत छन् ।

उभौली चाड खोटाङसहित भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङ, काठ्माण्डौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा मनाईन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?