शिक्षक अभावले पठनपाठनमा समस्या

हिमालय टाइम्स
Read Time = 3 mins

महोत्तरी । महोत्तरीको बर्दिबासस्थित जनहित नन्दलाल माद्यामिक विद्यालयमा शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ ।

झण्डै एक हजार विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा १७ जना शिक्षकले मात्र अध्यापन गराइरहेका छन् ।

एउटै कक्षमा ७० जनाभन्दा बढी विद्यार्थी राखेर अध्यापन गराउन बाध्य रहेको विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउनुहुन्छ ।

नियमानुसार एक हजार विद्यार्थीलाई पठनपाठन गराउन न्यूनतम २७ जना शिक्षकको आवश्यकता पर्छ । यसरी हेर्दा थप १० जना शिक्षकको अभाव  छ ।

प्राविधिक धारको कक्षासमेत सुरुवात गरेको यस विद्यालयमा झण्डै ११ जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।

बर्दिबासमात्र नभई छिमेकी जिल्ला र पालिकाको समेत यो विद्यालयमा आकर्षक बढेको छ । भर्नाको समयमा शिक्षकको अभाव रहेकै कारण धेरै विद्यार्थीलाई भर्ना लिन नसकिएको प्रधानाध्यापक घिमिरेले बताउनुभयो ।

बर्दिबास–६ स्थित चौलिखामा रहेको यस विद्यालयमा विद्यार्थी संख्या अधिक बन्दा भवनको समेत अभाव बन्दै गएको छ । विद्यालयको जग्गा भए पनि भवन बनाउन बजेटको अभाव छ ।

शिक्षकको अभावबारे नगरलाई पनि थाहा छ । तर, पर्याप्त शिक्षक पठाउन सकेको छैन । अघिल्लो वर्ष स्थानीय सरकारले ६२ जना शिक्षक नगरबाट नै नियुक्त गरे पनि अझैँ बर्दिबासका ५२ वटा सामुदायिक विद्यालयमा शिक्षकको अभाव छ ।

जिल्लामा अहिले ३३१ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा एक लाख १९ हजार १२६ विद्यार्थी अध्ययनरत छन् ।

शिक्षा विकाश समन्वय इकाई महोत्तरीका प्रमुख भरतबाबु सुवेदिका अनुसार जिल्लाभरी तीन हजार ८४० शिक्षकको आवश्यक छ । तर, जिल्लामा अहिले एक हजार ५२७ शिक्षकमात्र छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?