काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा आयोजना गरेको ‘एनएसएजएफ फुटसल फेस्टिभल’ को उपाधि टिम क्यानडा (सन्तोष) ले जितेको छ । च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा शुक्रबार भएको प्रतियोगिताको फाइनलमा टिम अमेरिका (आदर्श) लाई पेनाल्टी सुटआउटमा दुई-एकले हराउँदै टिम क्यानडा च्याम्पियन बनेको हो ।
निर्धारित र थप गरिएको समय तीन-तीन गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा टिम क्यानडाका अभिनव जोशी र वासु अवालले गोल गर्नुभयो । तर, मुना कार्कीले पेनाल्टीमा गोल गर्न सक्नुभएन ।
टिम अमेरिकाका निशान राईले पेनाल्टीमा गोल गर्दा दिल तामाङ र गीता राई चुक्नुभयो । पेनाल्टीअघि टिम क्यानडाका अभिनव जोशीले दुई र वासु अवालले एक गोल गर्नुभयो । यस्तै टिम अमेरिकाका दिल तामाङले दुई गोल गर्दा सुजन श्रेष्ठले एक गोल गर्नुभयो ।
चार टोली सहभागी प्रतियोगितामा टिम अमेरिका सबै तीन खेल जित्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको थियो । टिम क्यानडा भने तीन खेलमा दुई जितसहित उपविजेता बन्दै फाइनल पुगेको थियो ।
एकदिने प्रतियोगिताको लिग चरणअन्तर्गत पहिलो खेलमा टिम अमेरिकाले टिम क्यानडालाई छ-तीनले हराएको थियो । दोस्रो खेलमा टिम मलेसियाले टिम अस्ट्रेलियालाई तीन-एकले हराएको थियो । तेस्रो खेलमा टिम अमेरिकाले टिम मलेसियालाई चार-दुई गोल अन्तरले हराएको थियो ।
चौथो खेलमा टिम क्यानडाले टिम अस्ट्रेलियालाई ५-० ले हराएको थियो । लिग चरणको अन्तिम खेलमा टिम अमेरिकाले टिम अस्ट्रेलियालाई १-० ले हराएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ टिम क्यानडाका अभिनव जोशी र महिलातर्फ गीता राई उत्कृष्ट खेलाडी चुनिनुभयो । यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर टिम अमेरिकाका सञ्जय थापा, इमर्जिङ प्लेयर टिम मलेसियाका आशिष पुडासैनी, उत्कृष्ट म्यानेजर टिम क्यानडाका दिपेश तिमल्सिना, गोल अफ द मोमेन्ट अवार्ड टिम अमेरिकाका निरञ्जन राजवंशी, मोमेन्ट अफ द डे अवार्ड टिम क्यानडाका भरत बोम्जन, अट्रायक्टिभ प्लेयर अवार्ड टिम अमेरिकाका निशान राई र फ्यान अफ द डे अवार्ड पूजा शाक्य र सुमन सिवाकोटीले प्राप्त गर्नुभयो ।
प्रतियोगिताका विजेता खेलाडीलाई मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, सुन्दर थापा, राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान तथा प्रशिक्षक राजुकाजी शाक्य, अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रतियोगिता तथा लिग निर्देशक सञ्जीव मिश्रलगायतले पुरस्कृत गर्नुभएको थियो ।
ओलम्पिक दिवसका अवसरमा कमिसनले देशव्यापीरूपमा दुई हजार ५०० कार्यक्रम गर्ने तालिका छ । हालसम्म प्रदेश १ मा ३४, बागमती प्रदेशमा ५३८, गण्डकी प्रदेशमा आठ, कर्णाली प्रदेशमा २२ तथा सुदूरपश्चिम प्रदेशमा ३५ कार्यक्रम सम्पन्न भइसकेको कमिसनले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच