सिएनआईद्वारा सरकारको ध्यानाकर्षण

Read Time = 3 mins

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को बजेटको स्वागत गरेको नेपाल उद्योग परिसंघ (सिएनआई) ले राजस्व नीतिका कारण वायर रड उद्योग, घिउ तेल उद्योग, सेनेटरी प्याड उद्योग भने प्रत्यक्ष मारमा पर्न गएको भन्दै असन्तुष्टि प्रकट गरेको छ । सिएनआईका अनुसार भारतले स्वदेशी उद्योग संरक्षण गर्ने नीति अवलम्बन गर्दै वायर रड निर्यातमा १५ प्रतिशत निर्यात कर लगाएको छ तर वायर रडबाट बन्ने तयारी सामान निर्यातमा कुनै कर लगाएको छैन । जसका कारण वायर रड आयात गरी विभिन्न प्रकारका फलामे तार नेपालमा उत्पादन गर्दा नेपाली उद्योगको लागत निकै बढी पर्ने भएको छ । भारतले आफ्ना उद्योग संरक्षण गर्ने नीति लिएसँगै नेपालले समेत स्वदेशी उद्योग संरक्षण गर्नुपर्नेमा त्यस्ता वस्तुमा भन्सार तथा अन्तःशुल्क बढाएर स्वदेशी उद्योगलाई धरासायी बनाउन खोजिएको सिएनआईको भनाइ छ ।

उद्योगको कच्चा पदार्थ वायर रड आयात गर्दा भारतमा १५ प्रतिशत तथा नेपालमा १० प्रतिशत भन्सारका साथै ४५ सय प्रतिटन अन्तःशुल्क लाग्ने गरेको छ । सोही कच्चा पदार्थबाट निर्मित तयारी वस्तु आयातमा भारततर्फ कुनै कर नलाग्ने, नेपालले छ प्रतिशत भन्सार तथा १० हजार रुपैयाँ प्रतिटन अन्तःशुल्क लिने गरेको छ ।

उक्त व्यवस्थाले कच्चा पदार्थ तथा सोबाट निर्मित तयारी वस्तु आयातमा लाग्ने शुल्क कम्तीमा एक तहको फरक हुने सरकारकै नीति विपरीत व्यवस्था कायम भएको भन्दै सिएनआईले स्वदेशी उद्योग धरासायी हुनबाट तत्काल जोगाउन हाल वायर रडको आयातमा कायम गरिएको भन्सार महसुलमा उद्योगलाई ९० प्रतिशत छुट प्रदान गर्न माग गरेको छ ।

त्यसैगरी वनस्पति घिउ तेल उत्पादक उद्योग पनि मर्कामा पर्ने अवस्था सिर्जना भएको छ । हालै भारतले कच्चा खाने तेलको भन्सार शून्य प्रतिशतमा झार्दै पाँच प्रतिशतमात्र जिएसटी कायम गरेको छ । नेपालमा यस्तो कच्चा खाने तेल आयातमा भन्सार १० प्रतिशत र मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशत लाग्दै आएको छ । जसका कारण नेपाली उत्पादन महँगो हुन गएको सिएनआईले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?