‘माइलाको सनक’ले राज्यलाई करोडौँको नोक्सानी

हिमालय टाइम्स
Read Time = 6 mins

डिबी शर्मा/हिटा
काठमाडौं । बिजुलीको हाइटेन्सन प्रशारण लाइनमा एक मान्छे चडेपछि विद्युत् प्राधिकरणलाई करोडौँ नोक्सानी भएको छ । नुवाकोटको ककनी गाउँपालिका-७ स्थित हाइटेन्सन प्रशारण लाइनमा ४४ वर्षीय माइला भनिने प्रेम विक चढेपछि प्राधिकरणलाई करोडौँ रुपैयाँकोे नोक्सानी भएको हो । विद्युत् उत्पादन बन्द गर्नुपर्दा एक करोड रुपैयाँ बढीको क्षति पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो ।

प्रशारण लाइनमा चढेका विक नुवाकोट बेलकोटगढी नगरपालिका-९ का बासिन्दा हुन् । उनी बिहान साढे १० बजेतिर बिजुलीको पोलमा चढेको जानकारी स्थानीयले पाएका थिए । उनी उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा तारतारै हिँडेपछि त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना नौ घण्टा पूर्ण रूपमा बन्द गर्नुप¥यो । प्राधिकरणका अनुसार एउटा मान्छेले गर्दा घण्टाको १० लाख बढी घाटा व्यहोर्नुपर्‍यो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार उनी तारमा चढेपछि झण्डै ७० मेगावाट विद्युत् प्रशारण अवरुद्ध भएको थियो ।

‘उनलाई तल झार्न दिनभर प्रयास गर्दा पनि सकिएन,’ उहाँले भन्नुभयो, ‘विद्युत् उत्पादन बन्द गर्नुपर्दा घण्टामा १० देखि १२ लाख रुपैयाँ बराबर घाटा भयो । विद्युत् उत्पादन बन्द गर्दा काठमाडौंमा बिजुली पुर्‍याउन गाह्रो भयो ।’ काठमाडौं आउने, भारत पठाउने सबैतिर जाने राष्ट्रिय प्रशारण लाइन त्यही भएका कारण ठूलो नोक्सान व्यहोर्नुपरेको उहाँको भनाइ छ । यसरी दिनभर बन्द गर्दा नेपालको बिजुली प्रणालीको व्यवस्थापन गर्न भारतबाट बिजुली किनिएको उहाँको भनाइ छ ।

यता, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले हाइटेन्सन प्रशारण लाइनको तारतारै मान्छे हिँडेपछि स्थानीय प्रशासनले दिनभर हैरानी व्यहोर्नु परेको बताउनुभयो । ‘फकाएर ओर्ल भन्दा पनि मान्दैन, तारतारै हिँडिरहेको छ’, तामाङले भन्नुभयो, ‘खसेर मर्ला भन्ने डर भयो, अर्को मान्छे गएर निकाल्न पनि कोसिस गरियो, खानाको लोभ देखाइयो तर नसकिएपछि सेनाकै सहयोगमा हेलिकप्टर नै प्रयोग गर्नुप¥यो ।’ उहाँको अनुसार माइला हाइटेन्सन लाइनमा चढ्दा लोडसेडिङ भएको थियो । उनी टावरको बीचतिर पुगेपछि मात्र हल्लाखल्ला भएछ । स्थानीयले फोन गरेपछि विद्युत् प्राधिकरणले लाइन काटिदियो र ती व्यक्ति सकुशल बाँच्न सफल भए ।

मान्छे चढेपछि देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको थियो । माथिल्लो त्रिशूली-३ ‘ए’ र अर्को ५ मेगावाट क्षमताको सानो आयोजनाको बिजुली प्रशारण प्रभावित भएको हो । प्रणालीमा त्यति ठूलो परिमाणमा बिजुली अभाव भएपछि लोड व्यवस्थापनका लागि कतै लाइन काट्ने, कतै कम क्षमतामा बिजुली पठाएर व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । ती व्यक्ति पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै प्राधिकरणले उक्त प्रशारण लाइनको बिजुली काटेको थियो । विक मानसिक रूपमा अस्वस्थ रहेको बताइएको छ ।
हेलिकप्टरमार्फत उद्धार

बिजुलीको हाई भोल्टेज प्रवाह हुने तारमा रहेका माइला विकको शनिबार साँझ नेपाली सेनाको टोलीले उद्धार गरेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उनको उद्धार गरिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार तारमा चढेको नौ घण्टापछि सेनाले उद्धार गरेको हो । माइलाको उद्धार हेलिकप्टरबाट मात्रै सम्भव देखिएकाले नेपाली सेनाको चार जनाको टोली हेलिकप्टरमा त्यसतर्फ प्रस्थान गरेको थियो । दिनभर स्थानीय र प्रहरीले अनेक प्रयास गर्दा पनि उहाँको उद्धार गर्न सकिएको थिएन । नुवाकोटको ककनी गाउँपालिकाका माइला विक बिहान करिब साढे १० बजेदेखि बिजुलीको तारमा चढेका थिए । उनी दिनभर तारमै ओहोरदोहोर गरिरहेको फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?