प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उत्साह बढ्दै, मिति तय नहुँदै स्वतन्त्र उम्मेदवारी घोषणाको लहर सुरु

अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । स्थानीय तह निर्वाचन सम्पन्न भएसँगै मुलुकको राजनीति प्रदेश र प्रतिनिधिसभा निर्वाचनतर्फ उन्मुख छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति अहिलेसम्म घोषणा भएको छैन । तर, अघिल्लो निर्वाचन सम्पन्न भएको मिति र वर्तमान संसद्को कार्यकाल पाँच वर्षे भएकाले संविधानतः मंसिरभित्र प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्नुपर्नेछ । राजनीतिक दलहरूबीच पनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मितिको सम्बन्धमा अनौपचारिक छलफल भइरहेको छ । मुख्यगरी निर्वाचन आयोग र सत्ता गठबन्धनका दलहरूको तयारी हेर्दा आगामी मंसिरमा चुनाव हुने अनुमान गर्न थालिएको छ ।

संघ र प्रदेश निर्वाचनको मितिबारे छलफल सुरु भएसँगै काठमाडौंमा भने स्वतन्त्रदेखि साना दलका युवाहरू धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । कतिपयले त सामाजिक सञ्जालमार्फत उमेदवारी घोषणा गर्दै चुनावी प्रचार प्रसारसमेत थालिसकेका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’, धरान उपमहानगरमा हर्क राई, धनगढी उपमहानगरको मेयरमा गोपाल हमाल ‘गोपी’ को जितसँगै आगामी संघ र प्रदेशको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरूको जोस बढेको छ ।

स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेमा स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा स्वतन्त्ररूपमा मेयरमा उम्मेदवारी दिएका सुमन सायमी, अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिनुभएकी रञ्जु दर्शना, विवेकशील साझाकै नेता पुकार बम, पूर्व-प्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी मानुषी यमीदेखि गायक सञ्जय श्रेष्ठ र पत्रकार हरिशरण लामिछानेसमेत रहनुभएको छ । उम्मेदवारी घोषणा गरेका धेरैको रोजाइ काठमाडौं नै परेको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आँखीझ्याल चुनाव चिन्हबाट काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर १३ हजार बढी मत ल्याउनुभएका सुमन सायमीले काठमाडांै निर्वाचन क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

मेयरमा पराजित भएलगत्तै अर्को चुनावका लागि उम्मेदवारी दिने तयारी थाल्नुभएका सायमीले दलकै तर्फबाट उम्मेदवारी दिने कि स्वतन्त्र नै चुनाव लड्ने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको जानकारी दिँदै भन्नुभयो, ‘स्थानीय निकाय भनेको स्वतन्त्र चल्ने स्वायत्तता प्राप्त निकाय भयो । संसदीय चुनाव भनेको विचार बोक्ने र पोख्ने ठाउँ हो । दलको विकल्प दल भन्ने सबैले बुझेका छन् । तर, अहिले जुन पोलिटिकल सिनारियो देखिँदै छ, सोहीअनुसार जानुपर्छ भन्नेबारे छलफल भइरहेको छ । कुन क्षेत्रबाट उठ्ने भन्नेबारे पनि टुंगो लागिसकेको छैन ।’

२०७४ सालको संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ मा नेकपा एमालेका उम्मेदवार जीवनराम श्रेष्ठ विजयी हुनुभएको थियो । श्रेष्ठले कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशीलाई पराजित गर्नुभएको थियो । श्रेष्ठ हाल नेकपा एमालेबाट फुटेर गठन भएको नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतक हुनुहुन्छ भने जोशीको निधन भइसकेको छ ।

विवेकशील साझा पार्टीकी पूर्वनेतृ रञ्जु दर्शनाले आगामी प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी गर्नुभएको छ । दर्शनाको रोजाइमा विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाले चुनाव लडेको काठमाडौं क्षेत्र नम्बर-५ परेको छ ।

कुनैबेला सामाजिक अभियान्ताको ख्याति कमाउनुभएकी दर्शनाले काठमाडौं-५ बाट उम्मेदवारी दिने तयारी भएको र केही दिनमा औपचारिक घोषणा गर्ने जानकारी दिँदै भन्नुभयो,‘आगामी चुनावमा म काठमाडौं क्षेत्र नम्बर ५ बाट उठ्ने तयारीमा छु । केही दिनमा मैले औपचारिक रूपमै घोषणा गर्छु । आफू स्वतन्त्र रूपमा उम्मेदवारी दिने तर काठमाडौंमा अन्य क्षेत्रमा पनि स्वतन्त्र रूपमा उम्मेदवार उठ्ने कुरा छ । उहाँहरूसँग मिलेर हामी चुनावमा जान्छौँ ।’

२०७४ सालको स्थानीय तह निर्वाचनमा दर्शनाले विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्नुभएको थियो । २१ वर्षकै उमेरमा काठमाडौं महानगरको मेयरमा प्रतिस्पर्धा गर्नुभएकी दर्शनाले २३ हजार ४३९ मत प्राप्त गरी तेस्रो स्थान प्राप्त गर्नुभएको थियो । वैकल्पिक राजनीति भनेर अघि बढिरहेको विवेकशील साझाको मूल नेतृत्वमा अधिकतम ढोंग पाएको आरोप लगाउँदै दर्शनाले विवेकशील साझा पार्टी परित्याग गर्नुभएको थियो ।

दर्शनाले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको काठमाडौं क्षेत्र नम्बर ५ मा २०७४ सालको प्रतिनिधिसभा चुनावमा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल विजयी हुनुभएको थियो । पोखरेलले नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतलाई झण्डै १० हजार मतान्तरले पराजित गर्नुभएको थियो । पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३ हजार १६९ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै, विवेकशील साझा पार्टीका उम्मेदवार उज्जवल थापाले ६ हजार ८५३ मत पाउनुभएको थियो । विवेकशील पार्टीका संस्थापक अध्यक्ष थापाको निधन भइसकेको छ ।

यसअघि, विवेकशील साझा पार्टीमै रहेर काम गरे पनि पछिल्लो समय पार्टीबाट अलग रहनुभएका पुकार बमले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गर्नुभएका बमले अहिलेसम्मको सामाजिक क्षेत्रमा देखाएको क्रियाशीलतालाई चुनाव लड्ने पुँजीका रूपमा प्रस्तुत गर्दै भन्नुभएको छ, ‘मैले मेरो किशोरावस्थादेखि पछिल्लो १७ वर्ष सामाजिक र राजनीतिक अभियानमार्फत संघर्ष गरेको छु । पेसाले म लेक्चरर हुँ । विगत दुई दशकका राजनीतिक उथलपुथललाई नजिकबाट नियाल्दै गर्दा, आफ्नै अगाडि बारम्बार राजनीतिक परिवर्तन भएको सम्झना छ । अब मुलुकको नीति बनाउने थलो संसद्ले समेत नयाँ अनुहार खोजेको छ, ताजगी खोजेको छ । त्यसैले राजनीतिक भ्रष्टाचार र लुटतन्त्रविरुद्ध युवा प्रतिरोधको आवाज संसद्मा पुग्न जरुरी छ । यसैको पहलस्वरूप मेरो उम्मेदवारी हो ।’

२०७४ सालको संघीय चुनावमा काठमाडौं १ मा नेपाली कांग्रेस नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच कडा प्रतिस्पर्धा भएको थियो । कांग्रेस नेता सिंहले विवेकशील साझाका मिश्रलाई ८१८ मतको साँघुरो मतान्तरले पराजित गर्नुभएको थियो ।

पूर्व-प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ । काठमाडौं क्षेत्र नं. ५ वा ७ मध्ये कुन क्षेत्रमा उम्मेदवारी दिने भन्ने निर्णय भइनसकेको तर कतै न कतै उम्मेदवारी दिने निधो गरिसकेको जानकारी दिँदै भट्टराईले भन्नुभयो, ‘सल्लाह भइरहेको छ । यसमा हामी तयार रहनुपर्छ भन्ने छ । उठेको खण्डमा क्षेत्र नम्बर ५ र ७ मध्ये एउटाबाट लड्ने भन्ने कुरा छ । यद्धपि, कुनै टुंगो भने भइसकेको छैन ।’

भट्टराई त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियनको पूर्व-सचिव हुनुहुन्छ । हाल उहाँ जनता समाजवादी पार्टीमा आबद्ध हुनुहुन्छ ।

चर्चित गायक सञ्जय श्रेष्ठले पनि आगामी संघीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । हाल राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर-६ बाट उम्मेदवारी दिने बताउनुभयो । पार्टीले आधिकारिक रूपमै टिकट दिने विश्वासमा रहनुभएका श्रेष्ठले पार्टीले टिकट दिए पार्टीबाटै चुनाव लड्ने तर पार्टीले नदिए स्वतन्त्र उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

रेडियो नेपालमा लामो समय काम गर्नुभएका पत्रकार हरिशरण लामिछानेले पनि आगामी संसदीय चुनावमा प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएको छ । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकार लामिछानेले संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको जानकारी दिँदै भन्नुभएको छ, ‘परिवर्तन सम्भव छ । तीन दशकभन्दा लामो सञ्चारकर्मको परिष्कृत अनुभवबाट मेरो अन्तःस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको छ । परिवर्तन सम्भव छ भन्ने मान्यतासहित आगामी संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु ।’

विस्तृत कार्ययोजना र उम्मेदवारीको औचित्यबारे समयक्रममा औपचारिक घोषणा गर्ने जानकारी दिनुभएका लामिछानेले काठमाडौं क्षेत्र नम्बर २ वा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारी गर्नुभएको बताइएको छ । नेपाल प्रहरीका पूर्व-डिआइजी एवं सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले पनि आगामी संसदीय निर्वाचनमा काठमाडौंको कुनै क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरिरहनु भएको निकट स्रोतले जनाएको छ । प्रहरीबाट अवकाश पाएपछि खरेल भ्रष्टाचारविरोधी अभियान चलाइरहनु भएको छ । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारीप्रति मतदाताको आकर्षण र स्वतन्त्र उम्मेदवारको सफलताका कारण आगामी संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको प्रतिस्पर्धा सुरु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?