बोक्सीको आरोपमा दुई वृद्धा महिलामाथि कुटपिट, दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 4 mins

महोत्तरी । महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट गरिएको छ ।

जलेश्वर नगरपालिका–६ धवौलीकी कालीदेवी महतो र दुलरिया महतोलाई बोक्सीको आरोपमा छिमेकीले निर्घात कुटपिट गरेको पीडित पक्षले बताएको छ ।

छिमेकी भुलन रामचमारले आफ्नी बुहारीलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै उहाँहरूलाई कुटपिट गरिएको बताइएको छ । कुटपिटका क्रममा दुवैजनाको मुख, घाँटी र ढाडमा चोट लागेको छ । अहिले कालोदेविको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइइरहेको छ ।

२६ जेठमा भुलन रामचमारको घरमा विवाहको रौनक थियो । भुलनको घरमा जमघट र रमाइलो चलिरहेका बेला उनकी बुहारी सोमारीदेवी एक्कासी बिरामी भइन ।

सोही समयमा सोमारीदेवी देवता चढेको भन्दै बक्न थालिन् । सोमारीदेवीले कालीदेवी बोक्सी लागेको र उनलाई घरमा ल्याउन निर्देशन दिइन् ।

त्यसपछि तुरुन्तै सोमारीदेवीका कान्छा ससुरा भुलन रामचमार कालीदेवदीका घरमा पुगे र उनलाई लिएर आफ्नो घरमा आए ।

झुक्याएर घरमा ल्याएका कालीदेवीलाई आगनमा पुर्याएपछि बुहारीमाथि बोक्सी लगाएको भन्दै कपडासमेत खोलेर नाङ्गेझार बनाइ निर्घात कुटपिट गरिएको दाबी छ ।

कालीदेवीको नाम लिइरहेकी सोमारीले दुलहरिया देवीलाई पनि तुरुन्त ल्याउन निर्देशन दिइन् ।

भुलनसहित उनका परिवार दुलहरियालाई खोज्दै जाँदा खेतमा फेला पारे । पीडित पक्षका दुलहरियाको चुल्ठोमा समातेर लडाइयो र कपडा खोलेर नजिकै रहेको पोखरीमा डुबाइयो ।

अहिले दुलरिया देवीको गाउँमा नै घरेलु उपचार भइइरहेको छ ।

५२ र ५३ वर्षीया दुवै महिलालाई मलमुत्र खुवाउने प्रयाससमेत भएको पीडित पक्षको भनाइ छ ।

पीडित कालीदेववीका छोरा अमित महतो र दुलहरीदेवीका नाती रामजीवनले प्रहरीमा किटानी जाहेरी दिनुभएको छ ।

२७ जेठमा नै प्रहरीले कुटपिट गरी ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरिसकेको छ । घटनामा संलग्न भएको आरोप लागेका रामभुलन र सोमारीदेवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनामा संलग्न अन्य फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

फरारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज राइले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई म्याद थप्ने प्रक्रिया अगाडि बढाएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?