-डम्मर बुढा मगर
बागलुङ । गाउँको चारै तिर ठूला–ठूला ज्यानै झस्काउने पहिरो । पहिरोको बीचमा बस्ती, खेतियोग्य जमिन र विद्यालय । त्यहीँ गाउँमा सयौँ नागरिकहरू वर्षौँदेखि ज्यानै जोखिममा राखेर बस्दै आएका छन् जुन गाउँ हो, निसीखोला गाउँपालिका–१ मा पर्ने हुल्दी गाउँ । हुल्दी गाउँ वर्षौदेखि बाढी पहिरोको चपेटामा छ ।
जब वर्षायाम सुरु हुन्छ तब उनीहरूमा मरिन्छ की बाँचिन्छ भन्ने चिन्ताले पिरोली रहन्छ । हिउँदको समय बस्तीमा त्रास कम भए पनि ठूलो वर्षा हुन साथ उनीहरूमा एक किसिमको भयले मनग्रस्त हुन्छ । गाउँमा सामान्य वर्षा हुँदा पनि सानो तिनो पहिरो त झरिनै रहन्छ तर वर्षातको समयमा भने ठूलो पहिरो झर्ने र क्षति पुर्याउँदै आएको छ ।
गाउँलेलाई जब ठूलो पानी पर्छ, तब पहिरोले पुरिन्छौँ की भन्ने पिरले सताउँछ । वर्षातको समय यहाँका अधिकांश मानिसहरू जाग्राम बस्ने गर्छन् । गाउँ चारै तिरबाट पहिरोले घेरिएको हुदाँ कतै सुरक्षित भएर बस्न सक्ने अवस्था पनि छैन । लगातार ठूलो वर्षा हुन थाल्यो भने यहाँका अधिकांश मानिस आफ्ना पशुचौपाया लिएर गाउँ भन्दा माथिको जंगल दह भन्ने स्थानमा पाल टाँगेर बस्ने गर्छन् । हरेक वर्षातको समय उनीहरूले दैनिकी जंगलमै बिताउने गर्छन् ।
यहाँका स्थानीयलाई हरेक वर्षातको समयमा जनधनको सुरक्षा गर्न निकै चूनौति हुन्छ । गाउँ छाडेर अन्तै जाने थातथलो पनि छैन । जसोतसो गाउँमै बस्नु सिवाय अरु विकल्प नभएको स्थानीय बताउँछन् । हुल्दी गाउँमा साना ठूलो करिब १०० स्थानमा पहिरो गएको छ । जमिन पहिरोले चिरा चिरा परेको छ, र पनि स्थानीय ज्यानलाई हत्केलामा राखेर गाउँमै बस्न विवश छन् ।
गाउँमा हरेक वर्ष पहिरोले घर, खेतबारी बगाउने गरेको छ । सिंगो गाउँनै पहिरोको उच्च जोखिममा परेपछि भूगर्भविदले यसको अध्ययन गरेर बस्न नमिल्ने निचोड निकालेका थिए । तर भूगर्भविदले गाउँमा बस्न जोखिम भएको बताए पनि स्थानीयहरुको अन्य कुनै ठाउँमा बसाइँ सराइ गर्ने ठाउँ नहुँदा ज्यान धरापमै राखेर गाउँमै बस्दै आएका छन् ।
हुल्दी गाउँसँगै देविस्थानको खारा बजार, खाडु बजार, काँडा कटेनी र बाहुन गाउँको हालत पनि उस्तै छ । स्थानीयले गाउँ छोड्न सकेका छैनन् । निसीखोला गाउँपालिका जिल्लाकै सबैभन्दा बढी बाढी पहिरो प्रभावित पालिका हो । यस पालिकामा २८२ घर परिवार पहिरोले विस्थापित बनेका छन् । जसमध्ये २६० घर स्थानान्तरण गर्नु पर्ने अवस्थामा रहेको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतम बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच