बर्खा लागिसकेको छ । गत वर्षको यही समय हो देशभरि कहाली लाग्दो क्षति भएको । कहाली लाग्दो भौतिक क्षतिका साथै ठूलो मानवीय क्षतिसमेत भएको थियो । असार लाग्नासाथको उक्त कहाली अहिले पनि तीन-चार दिन बाँकी हुँदा हामीले सम्झनामा राख्नुपर्छ, विगत इतिहास हो । इतिहासको अध्ययनबाट मूल रूपमा दुईवटा पाटाको उजागर हुन्छ । पहिलो विगतमा भएका नराम्रा घटना पुनः नदोहोरिउन् भन्नेमा केन्द्रित हुनुपर्छ भने दोस्रो बितेको समयमा भएका राम्रा घटना वा कार्यले निरन्तरता पाउन् भन्ने हो । राजामहाराजा तथा केही भारदारहरूका इतिहास दोहोरिने हो र तिनकै अध्ययन इतिहास हो भन्ने गरिएको छ ।
तर, इतिहास प्रकृतिको पनि हुने गर्छ, साहित्य, कला, संस्कृति, समाज सबै कुराको इतिहास हुनेगर्छ । हामीले तिनलाई बिर्सनु हुँदैन, सधैं संस्मरणमा राख्नुपर्छ । विपद्लाई पनि यसैगरी सम्झिनुपर्छ । हिउँदमा हिउँदकै स्वभाव र स्वरूपका प्रकोपहरू हुन्छन् । सुख्खा पहिरो, आगलागी, डढेलो जस्ता प्रकोप हिउँदमा हुने गर्छन् भने बर्खामा बाढी, पहिरो, डुवान आदि प्रमुख रहने गरेका छन् । जहाँ भिरालो बाटो छ त्यहाँ पहिरोको जोखिम हुन्छ भने खोला किनाराका बस्तीमा कटानसँगै बाढीको डर हुन्छ । नेपालीहरूले यस्ता जोखिमको सधैं सामना गर्नु परेको छ । दक्षिणी भागमा डुवानको जोखिम त्यत्तिकै रहन्छ । नेपालको राजधानी काठमाडौं उपत्यका भित्रिने नाकाहरू त अरू पनि धेरै छन् तर मुख्य नाकाका रूपमा नागढुंगा नाका एकमात्र प्रमुख नाका हो ।
यहाँ प्रयोग हुने सारा उपभोग्य सामग्री यही बाटो भएर उपत्यका भित्रिने गर्दछन् । यो विकट पहाडी बाटो भएका कारण बर्खामा बाढी र पहिराको जोखिम रहने गरेको छ । भीरको खोचबाट बनेको यो बाटो नदी किनाराबाट अघि बढ्छ जसले गर्दा पानी पर्नासाथ पहिरो जाने र राजमार्गमा क्षति पुग्ने गर्छ भने पहिरोमा परेर धेरै सवारीसाधन नदीमा खस्ने गरेका छन् । एक-दुई दिनमात्र राजमार्ग अवरुद्ध भयो भने उपत्यकामा नाकाबन्दी नै हुने गरेको छ । खाद्यन्न, तरकारीलगायत उपभोग्य वस्तुहरूको यहाँ हाहाकार भइहाल्छ । त्यसैले समयमै यस बारेमा सोच्नुपर्ने हुन्छ । सोच्नु कसले पर्ने हो ? भन्ने प्रश्न उठ्न सक्छ । समस्याका बारे सोच्नु सबैको दायित्वमा पर्छ ।
सरकारले सरकारकै दृष्टिकोणले सोच्नुपर्छ भने नागरिकले नागरिककै तह र स्तरबाट सोच्नुपर्छ । राजनीतिक दल र नेताहरूले पनि यसबारेमा बेलैदेखि सोच्नुपथ्र्यो । विगतका समस्या देखेर पनि सोहीबमोजिमका योजना बनाउनु पथ्र्यो तर हाम्रोमा जतिबेला पर्छ त्यही बेला त्यसबारे सोच्ने गरेको पाइएको छ । पछिका लागि पहिले नै तयारी गर्ने गरिएको छैन । राजमार्ग भत्किरहेका छन् । मालसामान बोकेर आएका ट्रक र यात्रीहरू बोकेर आएका बस राजमार्गमै अलपत्र परेका छन् । त्यस्ता ठाउँमा थुनिएर रहेकाहरूले खानेकुरा समेत पाउँदैनन् । दुईतिरको पहिरोको बीचमा परे भने जीवनसमेत जोखिममा पर्नजान्छ ।
विपद् व्यवस्थापनका लागि सरकारका निकाय छन् तर तिनले यस्ता विपषयमा पूर्वतयारी राम्ररी गरेका हुँदैनन् । जसले गर्दा जतिबेला पानी पर्छ छाता पनि त्यही बेला नै ओढ्ने हो भने जसरी बस्नाले गतवर्षको मेलम्चीकै जस्तो दुर्दशा नदोहोरिएला भन्ने छैन । यस्तै मौका पारेर व्यापारीले मूल्य बढाउँछन् भने सबै क्षेत्रका व्यवसायीहरूले यस्तै बेलामा मौका छोप्ने गर्छन् । सकेसम्म कम जोखिम होस् भनेर सरकार तथा नागरिकसमेत सतर्क हुनु जरुरी छ । यसका साथै आवश्यक खाद्यन्न तथा अन्य उपभोग्य सामग्रीको पर्याप्त व्यवस्था तथा मौजातसमेत रहनुपर्ने आवश्यकता छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच