संसदबाट सरकारलाई एमालेको प्रश्नको वर्षा: देउवा पाँच पटक प्रधानमन्त्री हुँदा राष्ट्रघात र प्रतिगमन भयो, सातौंपटक भए नेपाल के हुन्छ ?

Read Time = 5 mins

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आजको संसद बैठकमा सरकारलाई प्रश्नै प्रश्न तेर्साएको छ ।

आईतबार प्रतिनिधिसभा बैठकमा एमाले सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग गर्नु भएको छ ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहनु भएका सांसद अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिशन लिएको कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथार्थ जानकारी गराउन सरकारसँग माग गर्नु भएको हो ।

आईतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो खोपबारे आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको समेत ध्यानाकर्षण गराएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

आफू स्वास्थ्यमन्त्री भएकै बेला एचआईभी एड्सदेखि क्यान्सरसम्मका १३९ वटा औंषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको उल्लेख गर्दै सांसद अधिकारीले त्यसबारे अरु थप भ्रम नछर्न पनि सरकारलाई चेतावनी दिनु भयो ।

सांसद अधिकारीले गत वर्षको भन्दा स्वास्थ्य क्षेत्रमा सरकारले २२ प्रतिशत भन्दाबढि बजेट घटाएको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गर्नुभएको छ ।
सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दलले समेत प्रश्न उठाइरहेको उल्लेख गर्दै यस सम्बन्धमा संसदमा जानकारी गराउन माग गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्रीको भ्रमण राजकीय, सद्भावना अथवा व्यापारिक कुन प्रकारको हो सो विषय संसदमा जानकारी गराउनुपर्ने बताउनुभयो ।
सांसद ज्ञवालीले भ्रमणका क्रममा कुनै समझदारी हुने, नहुने विषयमा पनि बेखबर रहेकाले सो विषयमा स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारले गम्भिर विषयहरुमा पनि प्रमुख प्रतिपक्ष दलसँग परामर्श तथा सुझाव नलिने र राष्ट्रिय समझदारी नबनाउने गरेको पनि बताउनुभयो ।

उहाँले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुन लागेको हो कि रक्षा मन्त्रीको हैसियतमा हुन लागेको हो भन्नेपनि स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले प्रधानमन्त्री देउवाले मुलुकको स्वतन्त्रता र स्वाधीनतालाई समाप्त पार्न लागेको भन्दै संसदमा केही गम्भीर प्रश्न उठाउनु भयो।

मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै एमाले नेता रावलले नेपाललाई तुरुन्त शान्ति क्षेत्र घोषणा गर्न समेत माग गर्नुभयो ।

उहाँले देउवा पाँचपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन र राष्ट्रघातमात्र भएको भन्दै सातौं पटक प्रधानन्त्री बन्ने हो भने देशको अवस्था के होला भन्दै प्रश्न गर्नुभयो ।

रावलले भन्नुभयाे, ‘उहाँ २०५२ सालमा प्रधानमन्त्री हुँदा देश हिंसात्मक द्वन्द्वमा गयो । राष्ट्रिय हितविपरीत महाकाली सन्धी भयो । अर्को पटक प्रधानमन्त्री बन्दा देश प्रतिगमनमा गयो । पाँचपटक प्रधानमन्त्री हुँदा त यस्तो भयो भने सातपटक प्रधानमन्त्री हुन्छु भन्दै हुनुहुन्छ, त्यसो भयो भने त नेपाल नै के हुन्छ भन्ने आशंका गर्नुपर्ने भयो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?