एकलौटी सरकार नभएकाले चाहे अनुसार धेरै काम गर्नसक्ने अवस्था छैन: प्रधानमन्त्री देउवा

Read Time = 5 mins

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्नसक्ने अवस्था नरहेको बताउनु भएको छ ।

प्रधानमन्त्री देउवाले काँग्रेसको एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन काँग्रेसले धेरै माग दावी गर्न नमिल्ने पनि बताउनु भयो ।
नेपाल ट्रेड युनियन काँग्रेसको आईतबारबाट काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले नेपालको संविधान र कानुनले श्रमिकहरुको हक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

पछिल्लो समय रुस-युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भईरहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले विपन्न र अनौंपचारिक क्षेत्रमा कार्यरत मजदुरहरुको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा कुरा के बुझ्नु पर्यो भने तपाईहरुले यो काँग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईहरुले यो धेरै क्लेम गर्ने कुरा छैन । अरु कतिपय तपाईहरुले अति महत्वपूर्ण कुराहरु उठाउनु भएको छ । कतिपय बजेटमा आएका छन । छैनन भने पनि हामीहरु त्यसलाई पूरा गर्नेछौं ।’

प्रधानमन्त्री देउवाले थप्नुभयो, ‘कोभिड १९ महाकारीका कारण विगत दुई वर्षयता मुलुकको औद्योगिक, व्यवसायिक क्षेत्रमा भएको आएको संकुचनले श्रम बजारलाई प्रभावित पारेको कुरा हामी सबैलाई थाहा नै छ । सरकारले कोभिड १९ नियन्त्रण, रोकथामका लागि चालेको खोप अभियान लगायतका कार्यक्रमहरुले हाल कोभिड नियन्त्रणमा आएपनि रुस युक्रेन द्धन्द्धका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतिबाट गज्रिरहेको छ । यसले श्रमिकहरुको रोजीरोटीको मुख्य आधार उद्योग व्यवसाय क्षेत्रलाई समेत केही प्रभाव पार्ने देखिएको छ । यस चुनौतिपूर्ण अवस्थामा अर्थतन्त्रलाई पुनस्थापना गर्दै श्रम बजारलाई चलायमान गराउन श्रमजीविहरुलाई रोजीरोटीको व्यवस्था गर्न सबैको सहयोगको जरुरी छ ।’

नेपालको संविधानले श्रमिकको हकलाई मौलिक हकको रुपमा स्थापित गर्दै प्रत्येक मजदुरलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको प्रत्याभूति गरेको बताउँदै उहाँले भन्नुभयो, ‘प्रत्येक श्रमिकलाई कानुन बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने र सामूहिक सौदावाजी गर्ने हकको सुनिश्चितता गरेको छ । संविधान तथा प्रचलित कानुनमा श्रमिकको हकलाई पूर्ण रुपमा कार्यान्वयन गराउने कुरामा सरकार प्रतिवद्ध छ । वर्तमान सरकार श्रमको सम्मान गर्दै सबै श्रमिकलाई सुरक्षित र मर्यादित रोजगारी उपलब्ध गराउन दृढ संकल्पित छ । तपाईहरुलाई विविधै छ । मुलुकको सम्पूर्ण श्रमजीविहरु आर्थिक रुपले विपन्न र सामाजिक रुपले सुरक्षाको छाताभन्दा बाहिर रहेका श्रमिकहरुलाई लक्षित गरेर सरकारले योगदानमा आधारित सुरक्षा ऐन २०७४ लाई लागू गरेको छ ।’

प्रधानमन्त्री देउवाले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । उहाँले सरकारले सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढि श्रमिकहरुलाई नै लाभान्वित हुने विश्वास लिएको पनि बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?