पाँच दलीय गठबन्धन नभए कम्युनिष्टहरु एक हुने र संविधान नै धरापमा पर्ने खतरा छ : उपसभापति खड्का

Read Time = 4 mins

-डम्मर बुढा मगर
बागलुङ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानको रक्षाका लागि कम्युनिष्टहरुसँग गठबन्धन गर्नु परेको बताउनु भएको छ ।

नेपाली कांग्रेस बागलुङले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले प्रतिगमनविरुद्ध र कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा हुन नदिन अहिलेको गठबन्धन गरिएको बताउनुभयो ।

कम्युनिष्ट पार्टीसँग गठबन्धन नगरे उनीहरू एक हुँदा एमाले हाबी हुने र संविधान नै धरापमा पर्ने भएकाले माओवादी, जसपा, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग सहकार्य गरिएको खड्काले बताउनुभयो । कम्युनिस्टहरू बीच द्वन्द्व बढ्दा कांग्रेसलाई नै फाइदा पुग्ने भन्दै उहाँले स्थानीय तह निर्वाचनको परिणाम अनुकलुनै आएको बताउनुभयो ।

‘कम्युनिष्ट मिले भने कांग्रेसलाई सकाउने खेल खेल्छन्, उनीहरूबीच द्वन्द्व भएर कांग्रेसलाई फाइदा भएको छ, हेर्नुस् त स्थानीय तहको निर्वाचनले नै देखायो नि,’ खड्काले भन्नुभयो, ‘भर्खर सम्पन्न निर्वाचनमा गठबन्धन ग¥यौँ, हामीलाई नै फाइदा भयो, कहिल्यै नजित्ने वडा र पालिकामा पनि अहिले कांग्रेसका जनप्रतिनिधि छन्, यो फाइदा त कांग्रेसले लियो नि होइन ?, गठबन्धनको मर्म सबै नेता–कार्यकर्ताले बुझनुपर्छ ।’

गठबन्धन गरेकै कारण कांग्रेस अहिले ०४९ सालपछि पहिलो पटक स्थानीय तहमा पहिलो भएको खड्काले बताउनुभयो । उहाँले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले शान्ति प्रक्रिया खलबल्याउने, संविधान ध्वस्त पार्ने, प्रतिगमन निम्त्याउने गतिविधि गरेका कारण पनि पाँचदलीय गठबन्धन गर्न सघाउ पुगेको जिकिर गर्नुभयो ।

पूर्व गृहमन्त्री समेत रहनु भएका खड्काले आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादी लगायतका दलहरूसँग गठबन्धन कायम रहने दाबी गर्दै पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले बाचा गरेको संविधान संशोधनको प्रस्तावलाई बहुमतले पारित गरिने बताउनुभयो ।

‘गठबन्धनको बाध्यता लोकतन्त्र विरोधी अहंताको प्रवृत्ति अन्त्यका लागि हो, हिजो कांग्रेस लगायत केही दलले संविधान संशोधनको प्रस्ताव ल्याएका थिए, नेकपा एमालेले यसलाई दिएन,’ खड्काले भन्नुभयो, ‘पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले देखेको सपना आम नेपाली जनताको सपना हो, त्यो पूरा गर्नका निम्ति पनि गठबन्धनलाई कायम गरी बहुमतमा संविधान संशोधन गरी कांग्रेसले जिम्मेवारी पूरा गर्नु पर्नेछ, संशोधनका माध्यमबाट सबैको साझा संविधान निर्माण हुनेछ ।’

संविधानमा प्रत्यक्ष निर्वाचन प्रणाली नभएसम्म कुनै पनि दलको एकल बहुमत नआउने उहाँले जिकिर गर्नुभयो । स्थानीय तह निर्वाचनमा घातलाई पार्टीले कारवाही गरेको र आउँदा दिनमा पनि गर्ने भन्दैै खड्काले नेता–कार्यकर्तालाई विधि–विधान र अनुशासनमा बस्न आग्रह समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?