जनकपुरका हाटबजारमा देख्दै ‘मुखै रसाउने आँप’, आकर्षक र पोटिलो बनाउन विषादीको प्रयोग

Read Time = 4 mins

-पुरन साह
जनकपुरधाम । आँपको भण्डारका रुपमा परिचित मधेश प्रदेशका शहरहरुमा अहिले जता हेर्यो उतै आँप देखिन्छ । सडकपेटी छेउछाउका फुटपाते व्यवसायीदेखि होलसेल फलफुल मन्डीमा पनि अहिले व्यापक आँपकै व्यापार छ ।

तर बोटमा पाक्ने सिजन भन्दा अगाडि नै विक्रि हुने यसप्रकारका आँप खान लायक छन् त ?

मधेशको राजधानी जनकपुरधाम मात्र होइन यहाँका मुख्य शहर बजार देखि ग्रामिण चौक र हाटबजारमा समेत अहिले व्यापक आँपको बिक्रि भइरहेको छ । तर यी आँप अपूर्ण स्वादिष्ट मात्र होइन स्वास्थ्यकै लागि हानिकारक पनि छ ।

वरिष्ठ फिजिसियन डा. रमण मिश्रका अनुसार समय अगावै कार्वाइड सहितका विभिन्न विषादीहरु छरेर तयार गरिने यसप्रकारका आँपहरु शरीरमा अल्पकालिन मात्र होइन दीर्घकालीन रुपमै असर गर्ने गर्दछ । तत्काल बान्ता हुने, टाउको दुख्ने लगायतका समस्या देखिन सक्ने र नभएपनि यस्ता आँपको प्रयोगले स्नायु, मानसिक सहितका समस्याहरु निम्त्याउने चिकित्सकको भनाई छ । विषादी प्रयोग भएका आँप हानिकारक रहेको थाहा हुँदाहुँदै पनि सर्वसाधारणले सहजै आँप किनेर खाने गरेका छन् ।

वास्तवमा रुखमा प्राकृतीक रुपमै आँप पाक्ने समय जेठको अन्तिम सप्ताह र असारमा मात्र हो तर व्यापारको बयग्रता र प्रतिस्पर्धी बजारको माग अनुसार आँप बैशाख सुरु हुने वितिकै बजारमा आइपुग्छ । यस अघि कार्वाइड हालेर चारपाँच दिनमा पकाउने आपलाई अहिले किपोन नामक विषादी स्प्रे गरी एक दुई दिनमै पकाइन्छ । यस स्प्रेले आँप मात्र पकाउँदैन आँपको साइज पोटिलो र खाइलाग्दो रंग पनि दिने हुनाले स्प्रे गरी बजारमा पठाउने गरिएको आँपको थोक विक्रेता विश्वेश्वर यादव बताउनु हुन्छ ।

सडक छेउ छाउमा खुद्रा व्यापार गर्ने फुटपाते व्यवसायीहरु एक महिना अगाडिदेखि व्यापार सुरु भएको भन्दै दैनिक करिव डेढ सय किलो आँप बेच्ने गरेको र अव बल्ल फाटफुट रुपमा प्राकृतिक रुपमै पाकेको आँप पनि आउन थालेको बताउँछन् । यही प्रकारको आँप भारतबाट समेत आयात हुन थालेको व्यवसायीहरु बताउँछन् ।

तराई मधेशमा नास्ता, खाना सहित व्यापक रुपमा प्रयोग हुने आँप विषादीयुक्त हुनु स्वास्थ्यमै चरम लापरवाही हो । खुल्लेआम यस्ता आँप विक्रि वितरण भएपनि कुनै पनि रोकटोक र अनुगमन नहुनुले राज्य नागरिकको स्वास्थ्य प्रति कति गम्भीर छ भन्ने प्रष्ट हुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?