कुवेतसँग नेपाल पराजित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । ‘एएफसी एसियन कप २०२३’ को छनोटअन्तर्गत तेस्रो चरणको खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा शनिबार राती भएको तेस्रो चरणको समूह ‘ए’ को खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ गोलअन्तरले पराजित भएको हो । कुवेतको जितमा युसेफ अलसुलिमानले दुई गोल गर्नुभयो भने फाहद अल्रेसिदी र मोबारक अल्फानिनीले १-१ गोल गर्नुभयो ।

खेलमा नेपालका दर्शन गुरुङले एक गोल फर्काउनुभयो । खेलको २८औँ मिनेटमा फाहदले हेडमार्फत् गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । त्यस्तै खेलको ४८औँ मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाउनुभयो । खेलको ७०औँ मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाउनुभयो ।

यसैगरी खेलको ७३औँ मिनेटमा अल्फानिनीले गोल गर्दा घरेलु टोली ४-० ले अघि रहृयो । त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले एक गोल गरे पनि नेपाल ४-१ ले पराजित हुन पुग्यो । यस हारसँगै नेपालको यो दोस्रो हार हो । नेपाल पहिलो खेलमा जोर्डनसँग २-० ले पराजित भएको थियो ।

यता कुवेतको भने यो पहिलो जित हो । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो । उक्त प्रतियोगिताअन्तर्गत नेपालले अब आफ्नो अन्तिम खेलमा इन्डोनेसियासँग यही जेठ ३१ गते खेल्नेछ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको मनमुटावपछि नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङसहित सिनियर ११ खेलाडीहरू नेपाली टोलीमा हुनुहुन्न ।

युवा खेलाडीहरूको बाहुल्यता रहेको टोलीको कप्तानी नवयुग श्रेष्ठले गर्दै हुनुहुन्छ । नेपाली टोलीको गोलरक्षकमा दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा, डिफेन्डरमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल, मिडफिल्डरमा आकाश बुढा मगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल र सुरजज्यू ठकुरी र फरवार्ड आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ हुनुहुन्छ ।

मुख्य प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छोड्नुभएको थियो । उक्त विरोध गर्ने रोहित चन्दसँगै बन्द प्रशिक्षणमा अनुपस्थित सिनियर खेलाडीहरू सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुमन लामालाई टोलीबाट हटाइएको थियो । तत्कालीन कप्तान किरण चेम्जोङले पनि असन्तुष्टि जनाएपछि उहाँलाई पनि टोलीबाट बाहिर राखिएको छ ।

छनोटको अर्को खेलमा भारतले लगातार दोस्रो जित निकालेको छ । भारतले अफगानिस्तानमाथि २-१ को रोमाञ्चक जित निकालेको हो । कोलकातास्थित विवेकानन्द युवा भारती क्रिरनगानमा शनिबार राती भएको खेलमा भारतको जितमा कप्तान सुनिल क्षेत्री र साहल समादले गोल गर्नुभयो । अफगानिस्तानका जुवायर एमिरीले एक गोल फर्काउनुभयो ।

८६औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीको गोलबाट भारतले सुरुवाती अग्रता लिएको थियो । ८८औँ मिनेटमा जुवायर एमिरीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो । इन्जुरी समयमा साहल समादले गोल गर्दै भारतलाई रोमाञ्चक जित दिलाउनुभयो ।

यो जितसँगै समूह ‘डी’ मा भारत दुई खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान ६ अंक नै रहे पनि हङकङ गोलअन्तरमा शीर्षस्थानमा रहेको छ । अफगानिस्तान र कम्बोडियाले अंकको खाता खोल्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?