काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुई त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ । अमेरिकाको मुसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै १/१ अंक बाँडेका छन् । नेपालले दिएको २७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७४ रनको योगफल बनाएपछि खेल बराबरीमा सकिएको हो ।
अमेरिकाका लागि स्टेभेन टेलरले ११४ रनको शतकीय इनिङ खेल्नुभयो । यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन बनाउनुभयो । सुशान्त मोदानी १७ तथा राहुल जरिवालाले १० रन जोड्नुभयो । नेपालका आदिल अन्सारीले दुई विकेट लिनुभयो भने कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिनुभयो ।
अमेरिकालाई जितका लागि अन्तिम छ बलमा छ रन चाहिएको थियो तर नेपालका आदिल अन्सारीले पाँच रन खर्चिदै खेललाई बराबरीमा ल्याउनुभयो । निकै रोमाञ्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि १ रन आवश्यक थियो ।
पाँचौँ बलमा आदिलले आरोन जोन्सलाई पेभेलिएन फर्काउनुभयो । अन्तिम बलमा राहुल जरिवाला रन आउट भएपछि खेल बराबरीमा सकियो । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४९ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै २७४ रन जोडेको थियो । नेपालका लागि उपकप्तान रोहित पौडेलले ६२ रनको अर्धशतकीय इनिङ खेल्नुभयो ।
त्यस्तै आसिफ शेखले ६१ रन जोड्दा देव खनालले ५४ रन बनाउनुभयो । आदिलले ३६ रन जोड्दा कुशल भुर्तेल १९ रनमा आउट हुनुभयो । कप्तान सन्दीपले १० रन बनाउनुभयो । आरिफ शेख ८, दीपेन्द्र सिंह ऐरी १, सोमपाल कामी १ र सुशन भारीले १ रन बनाउनुभयो ।
अमेरिकाका रुष्टि थिरनले ४ विकेट लिनुभयो भने अलि खान र सौरभ नेत्रभाल्करले २/२ विकेट लिनुभयो । खेलमा आदिल प्लेयर अफ द म्याच घोषित हुनुभयो । उक्त सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।
खेलपछि अन्तिम ओभरमा ६ रन नदिई नेपाललाई बराबरी गराउनुभएका युवा अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा दबाबका बाबजुद कप्तानको सहयोगले राम्रो गर्न सकेको प्रतिक्रिया दिनुभयो । अन्तिम ६ बलमा जितका लागि ६ रन चाहिएको अवस्थामा आदिल अन्सारीले पाँच रन खर्चिदै नेपाललाई हारबाट बचाउनुभएको थियो ।
‘अन्तिम ओभरमा दबाब त थियो । दाइले (सन्दीप) मलाई धेरै सहयोग र हौसला बढाउनुभयो । मलाई धेरै विश्वास गर्नुभयो । मैले पनि जति सक्यो राम्रो गर्न खोजेँ अनि राम्रो भयो,’ आदिलले भन्नुभयो, ‘नो बल हुँदा म नर्भस भएँ । तर, सन्दीप दाइले धेरै सहयोग गर्नुभयो । मैले अर्को बलमा ध्यान दिएर ठ्याक्कै राम्रो भयो ।’
नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहनुभएको छ ।
यस सिरिजपछि ओमानको आइसिसी विश्वकप लिग-२ मा ३६ खेल पूरा हुनेछ । नेपालले हाल १२ खेल खेलेको छ । ओमान ३२ खेलमा १९ मा जित र ११ मा हारका साथ शीर्षस्थानमा छ । नेपालको यो विश्वकप लिग-२ मा चौथो त्रिकोणात्मक सिरिज हो । सात टोली सहभागी विश्वकप लिग-२ मा शीर्ष तीन टोलीले आगामी वर्ष हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट सिधै खेल्न पाउनेछन् । बाँकी चार टोलीले प्ले अफ खेल्नुपर्ने हुन्छ ।
विश्वकप लिग-२ को पूरा खेल नसकिने सम्भावना उच्च हुँदा विजयी प्रतिशतका आधारमा शीर्ष तीन टोली निर्धारण हुनेछ । नेपालको यो विश्वकप लिग-२ मा चौथो त्रिकोणात्मक सिरिज हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच