गण्डकीका विद्युत् आयोजनामा सहजीकरण गरिदिन आग्रह

Read Time = 4 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गण्डकी प्रदेशअन्तर्गतका ११ वटा जिल्लामा सञ्चालित विद्युत् प्रसारण र वितरणतर्फका आयोजना निर्माणमा सहजीकरण गरिदिन आग्रह गरेको छ । प्राधिकरणले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य र प्रमुख सचिव रविलाल पन्थसँग शनिबार पोखरामा छलफल गरी यस्तो आग्रह गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गण्डकी प्रदेशमा निर्माणाधीन प्रसारण र वितरणतर्फका आयोजना, आयोजना निर्माणमा देखिएका समस्या, विभिन्न ठाउँमा भइरहेका अवरोध, प्रदेशको पूर्ण विद्युतीकरणको प्रगतिलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

मुख्यमन्त्री नेपालीले जलविद्युत् उत्पादनको ठूलो सम्भावना बोकेको गण्डकी प्रदेशमा विद्युत् प्रसारण र वितरण, सञ्चालन, विस्तार गर्न निर्माणाधीन र प्रस्तावित आयोजनाको कामलाई द्रुतगतिमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस प्रदेशका केही जिल्लामा अझै पनि पूर्ण विद्युतीकरण भएको छैन, विद्युत् आपूर्तिमा भोल्टेजको समस्या छ, यसलाई सुधार गरी पर्याप्त तथा भरपर्दो विद्युत् आपूर्तिका लागि काम अघि बढाउनुहोस्, यसमा आवश्यक सहयोग र सहजीकरण गर्न सधैँ तयार छौं ।’

ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री आचार्यले विद्युत्का आयोजनाले स्थानीयरूपमा बेहोरिरहेका समस्या समाधान गर्न फिल्डमै खटिएर निरन्तर पहल गरिएको बताउनुभयो । गण्डकी प्रदेशमा पर्ने विभिन्न जिल्लामा निर्माणाधीन कालीगण्डकी करिडोर २२० केभी, भरतपुर-बर्दघाट २२० केभी, मस्र्याङ्दी करिडोर २२० केभी, नयाँ मोदी–लेखनाथ १३२ केभी प्रसारण लाइनलगायतका आयोजनामा स्थानीयको अवरोध छ ।

पोखराको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा प्रस्तावित सबस्टेसनको काममा स्थानीयले तीन/चार वर्षदेखि अवरोध गरिरहेका छन् । १३२/११ केभी सबस्टेसनको निर्माण तत्काल अघि बढाउन नसकिए अहिलेको क्षमताले नधानेर पोखरामा बाध्यात्मक लोडसेडिङ गर्नुपर्ने अवस्था आउने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

घिसिङले गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री आचार्य र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई सबस्टेसनमा स्थानीयको अवरोध हटाउन आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?