काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कार्यालयको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरूको पूर्णता लगायतका विषयमा छलफल भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा सोमबार बस्न लागेको सचिवालयको बैठकमा प्रस्तुत हुने एजेण्डाका बारेमा छलफल भएको हो ।
महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले मुख्य चार एजेण्डा निश्चित गरेको हो । एमाले सचिव पद्मा अर्यालका अनुसार सोमबार बस्ने सचिवालय बैठकका लागि एजेण्डामाथि छलफल भएको छ । बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावको कार्ययोजना, पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि प्रशिक्षण र विभाग गठनसहितका एजेण्डा तय गरेको अर्यालले बताउनुभयो । ‘सोमबार सचिवालय बैठकका लागि एजेण्डा तय गर्न केन्द्रीय कार्यालयको बैठक बसेको हो । चुनावी समीक्षा र विभागको पूर्णता लगायतका विषयमा छलफल भएको छ,’ अर्यालले भन्नुभयो ।
स्थानीय तह निर्वाचनको मत परिणामका बारेमा यसअघि एमालेभित्र पार्टी कमिटीको बैठकहरूमा औपचारिक रूपमा छलफल भएको थिएन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनभन्दा पनि एमालेको अन्तरघातका कारण निर्वाचनमा पराजित भएको बताउने गर्नुभएको छ । यद्यपि, एमालेका नेताहरूले एमाले लोकप्रिय मतमा पराजित नभएको दाबी गर्दै आउनुभएको छ । २०७४ सालको स्थानीय तहमा २९४ ठाउँमा प्रमुख पदमा जितेको एमालेले यसपटकको स्थानीय तह निर्वाचनमा २०५ ठाउँमा मात्रै चुनाव जितेको छ । एमालेले पोखरा महानगर लगायतका ठाउँमा पार्टी अन्तरघातका कारण हारेको प्रारम्भिक चुनावी समीक्षा गरेको थियो ।
एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गरेको थियो । अनुशासन आयोगका अध्यक्ष केशव बडालले केन्द्रीय कमिटीलाई भुसालले अनुशासन उल्लंघन भएको भन्दै कारबाहीका लागि सिफारिस गरेको बताउनुभएको थियो । अध्यक्ष ओली र पार्टीको नीतिको सार्वजनिक रूपमा भुसालले आलोचना गरेको भन्दै कारबाहीको लागि सिफारिस गरिएको उहाँले बताउनुभएको थियो ।
सोमबारको बैठकमा भने उक्त सिफारिसबारे कुनै चर्चा भएन । सचिव अर्यालले केन्द्रीय कार्यालयको बैठकमा कारबाहीको विषयमा छलफल नभएको जानकारी दिनुभयो । ‘कारबाहीको विषयमा त्यस्तो केही भएन,’ अर्यालले भन्नुभयो । भुसाललाई कारबाही गर्न सिफारिस गरेपछि एमालेभित्रै पनि केही नेताहरूले उक्त सिफारिसको आलोचना गरिरहेका छन् । पार्टीलाई एकताबद्ध बनाएर लैजान र कारबाहीका लागि कदम नचाल्न अध्यक्ष ओलीलाई केही नेताहरूले दबाब दिइरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच