यो कांग्रेसको एकलौटी सरकार होइन, धेरै माग नगर्नुस् : प्रधानमन्त्री देउवा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले यो कांग्रेसको एकलौटी सरकार नभएकाले धेरै माग गर्न नमिल्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसको आइतबार काठमाडौंमा सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले श्रमिकहरूको हक, अधिकारको सुरक्षा र उनीहरूको लागि आवश्यक सुविधा उपलब्ध गराउन भने सरकारको दृढ संकल्प रहेको बताउनुभयो । ‘एउटा कुरा के बुझ्नुपर्‍यो भने तपाईंहरूले, यो कांग्रेसको एकलौटी सरकार होइन । यो नबुझीकन तपाईंहरूले यो धेरै माग दाबी गर्ने कुरा छैन,’ उहाँले भन्नुभयोे, ‘कतिपय बजेटमा आएका छन् । छैनन् भने पनि हामीहरू त्यसलाई पूरा गर्नेछौँ । कोभिड-१९ महामारीका कारण विगत दुई वर्षयता मुलुकको औद्योगिक, व्यावसायिक क्षेत्रमा आएको संकुचनले श्रम बजारलाई प्रभावित पारेको कुरा हामी सबैलाई थाहा नै छ ।’

प्रधानमन्त्री देउवाले सरकारले कोभिड-१९ नियन्त्रण, रोकथामका लागि चालेको खोप अभियानलगायत कार्यक्रमहरूले हाल कोभिड नियन्त्रणमा आए पनि रुस-युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र विभिन्न चुनौतीबाट गुज्रिएको बताउनुभयो । जसकारण श्रमिकहरूको रोजीरोटीको मुख्य आधार उद्योग व्यवसाय क्षेत्रलाई समेत प्रभाव पारेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले भन्नुभयोे, ‘यस चुनौतीपूर्ण अवस्थामा अर्थतन्त्रलाई पुनःस्थापना गर्दै श्रम बजारलाई चलायमान गराउन, श्रमजीविहरूलाई रोजीरोटीको व्यवस्था गर्न सबैको सहयोग जरुरी छ । नेपालको संविधानले श्रमिकको हकलाई मौलिक हकको रूपमा स्थापित गर्दै प्रत्येक मजदुरलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको प्रत्याभूति गरेको छ । यसैगरी प्रत्येक श्रमिकलाई कानुनबमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने र सामूहिक सौदावाजी गर्ने हकको सुनिश्चितता गरेको छ ।’

ट्रेड युनियन कांग्रेसलगायत मुलुक अन्य ट्रेड युनियनहरूले श्रमिकको सुरक्षा र सुविधामा उठाउँदै आएको मागप्रति सरकार संवेदनशील रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । ती विषयलाई सम्बन्धित सबै पक्षसँग छलफल गरी क्रमिक रूपमा सम्बोधन गर्दै जानेमा उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाअघि बोलेका ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले कांग्रेसकै नेतृत्वमा सरकार हुँदा आम श्रमिकलाई स्थापित गर्ने गरी कानुन आए पनि त्यो कार्यान्वन नभएको बताउनुभएको थियो । ‘तर दुर्भाग्यका साथ भन्नुपर्छ- यो कानुनलाई लागू गर्ने दिशामा कांग्रेस नेतृत्व र कांग्रेसकै सरकार उदासीन छ । म सभापतिलाई आग्रह गर्छु– श्रमिकलाई भोटको मात्र माध्यम नबनाउन आग्रह गर्छु ।’

गृह प्रशासन मजदुरको पक्षमा : गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सदैव मजदुरको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबारबाट काठमाडौंमा सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा उहाँले गृह प्रशासन सदैव मजदुरको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
कुनै पनि मजदुरलाई कसैले दुःख दिन नपाउने उल्लेख गर्दै गृहमन्त्री खाँणले उनीहरूको पक्षमा सरकार जहिले पनि उभिने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मजदुरको सुरक्षाका लागि, मजदुरको हकका लागि आवश्यक प¥यो भने तपाईंहरूको पक्षमा जहिले पनि गृह प्रशासन रहन्छ । उद्योगी, व्यवसायीलाई पनि प्रोत्साहित गर्दै उनीहरूको व्यवसायको पनि संरक्षण र प्रवद्र्धन गर्दै मजदुरको अधिकारलाई प्राथमिकता दिनेछौँ । कुनै पनि मजदुरलाई कसैले पनि ह्यारेस गर्न पाउँदैन । कुनै पनि श्रमिकलाई कसैले पनि दुःख दिन पाउँदैन । यदि, मजदुरलाई दुःख दियो भने सरकार, सुरक्षा निकाय, गृह प्रशासन मजदुरको पक्षमा उभिने विश्वास दिलाउन चाहन्छु ।’ गृहमन्त्री खाँणले मजदुरको हितकै लागि सरकारले उद्योग, व्यवसायको संरक्षण र प्रवद्र्धनमा पनि उत्तिकै जोड दिने स्पष्ट पार्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?